शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उम्मेदवार बन्ने रहर : प्रदेश १ मा मात्रै १२७ जना भन्दा बढीले १०० मत कटाएनन् (सूचीसहित)

मङ्गलबार, १३ मङ्सिर २०७९, ११ : ४८
मङ्गलबार, १३ मङ्सिर २०७९

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रदेश नम्बर १ मा दल र स्वतन्त्र गरी १२७ जना भन्दा बढी उम्मेदवारले १०० मत पनि कटाउन नसकेको तथ्यांकले देखाएको छ । हालसम्म नतिजा सार्वजनिक भइसकेको निर्वाचन क्षेत्रका ११७ उम्मेदवारले १०० मत कटाउन नसकेको पुष्टि भइसकेका छ भने मतगणना अन्तिमतिर पुगेको सुनसरी ३ मा १२ जनाले १०० मत नकटाउने निश्चित जस्तै छ । यस्तै मतगणना भइरहेको उदयपुर र सुनसरी ४ मा पनि केही उम्मेदवारले १०० मत नकटाउने देखिएकाले १२७ भन्दा बढी उम्मेदवारले ३ अंकको मत नपाउने देखिएको हो ।

प्रदेश नम्बर १ मा १४ जिल्ला रहेका छन् । १४ जिल्लाका एकाध निर्वाचन क्षेत्रबाहेक सबैजसोमा तीन अंकको मत नपाउने उम्मेदवार रहेका हुन् ।  निर्वाचन आयोगका अनुसार ताप्लेजुङमा ३ जना, पाँचथरमा ४ जना, इलाम २ मा ६ जना, झापा १ मा ४ जना, २ मा ४ जना,  ३ मा ७ जना, ४ मा ६ जना  र  ५ मा १२ जना उम्मेदवारले १०० मत कटाउन सकेनन् ।

यस्तै संखुवासभामा २ जना, तेह्रथुममा ५ जना, भोजपुर मा १ जना, धनकुटामा १ जना, मोरङ १ मा ६ जना, २ मा ३ जना, ३ मा २१ जना, ४ मा ५ जना,  ५ र ६ मा ५–५ जना रहेका छन् । यस्तै सुनसरी १ मा २ जना, २ मा १० जना, ३ मा १२ (जारी मतगणना अन्तिम चरणमा), सोलुखुम्बुमा १ र ओखलढुंगामा २ जनाले १०० मत कटाउन सकेनन् ।

आयोगका अनुसार कांग्रेस नेता रामहरि खतिवडा विजयी भएको ओखलढुंगामा २ उम्मेदवारको १०० मत कटेन । नेमकिपाका कुमार तामाङले ८८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ङिमा लमु शेर्पाले १४ मत पाएका हुन् ।

यस्तै उदयपुरमा कांग्रेसका उम्मेदवार नारायण खड्काले अग्रता बनाउँदै मतगणना जारी हुँदा सो स्थानमा पनि केही उम्मेदवारले १०० मत नकटाउने सम्भावना रहेको छ । एमालेका मानवीर राई विजयी भएको सोलुखुम्बुमा एक उम्मेदवारले १०० मत कटाउन सकेनन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी लामु शर्माले २६ मत पाएकी हुन् ।

यसैगरी सुनसरी १ मा २ उम्मेदवारले १०० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरू जीवन कला राई र बासु उपाध्यायले क्रमशः ७६ र ५७ मत पाएका हुन् । यस्तै सुनसरी २ मा बबिना नुन्दीसहित १० उम्मेदवारले १०० मत कटाउन नसक्दा ३ मा भने मतगणना जारी छ । जारी अवस्थामा एक दर्जन उम्मेदवारले १०० मत कटाउन नसक्ने देखिएको हो । हालसम्म अम्बरबहादुर राउत (कांग्रेस बीपी)सहितका १२ जनाले १०० मत कटाउन नसकेका हुन् । जहाँ एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदारलाई हराउँदै निर्वाचित हुने बाटोमा छिन् ।

यस्तै सुनसरी ४ मा मतगणना अवरुद्ध छ । जहाँ कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदीश प्रसाद कुसियैतबीच प्रतिस्पर्धा छ । यो क्षेत्रमा पनि साना पार्टी र स्वतन्त्र उम्मेदवार एक दर्जन हाराहारीको १०० मत नकट्ने सम्भावना देखिएको छ ।

६ निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६ उम्मेदवारले १०० मत कटाउन सकेनन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धमाया लिम्बुले ६२ तथा नेमकिपाका लक्ष्मी प्रसाद कवांले ४६ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवारहरु निलु लिम्बुले २७, तिलक बहादुर मगरले २१, मनिसा सुवेदीले २१ तथा फूलकुमारी पण्डित राईले ६ मत पाए ।

क्षेत्र नम्बर २ तीन उम्मेदवारले १०० मत कटाउन सकेनन् । जसमा नेमकिपाका सुरेश कवाँले ३८, नेश्नलिष्ट पिपल्स पार्टीका मिना कटुवालले २७ र स्वतन्त्र उम्मेदवारहरु सुनिल कुमार साहले २२ मत पाए । क्षेत्र नम्बर ३ मा २१ उम्मेदवारले १०० मत कटाउन सकेका छैनन् भने ९ उम्मेदवारले त १० मत पनि कटाउन सकेका छैनन् । जसमा स्वतन्त्र उम्मेदवारहरु चन्द्रकला खत्री र प्रकाश भट्टराईले १–१ मतमात्रै पाए

क्षेत्र नम्बर ४ मा ५ उम्मेदवारले १०० मत कटाउन सकेनन् । जसमा कांग्रेस बीपीका अशोक पौडेलले ६९, नेमकिपाका श्याम शहादुर दर्जीले ६३, संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चका गुल्टेन रिषिलेवले ५१ तथा स्वतन्त्र उम्मेदवारहरु कुवेद मियाँ र राजेन्द्र कुमार खवासले २७–२७ मत पाए ।

क्षेत्र नम्बर ५ मा पनि ५ उम्मेदवारले १०० मत कटाउन सकेनन् । जसमा नेपाल लोकतान्त्रिक पार्टीका मजबुल रहमान मियाँ मुस्लिमले ८८ मत पाए भने स्वतन्त्र उम्मेदवारहरु विधा भूषण प्रसाद, गुयानन्द मण्डल केवरत, सञ्जु शर्मा र मनोज कुमार मण्डलले क्रमशः ९६, ४६, ४५ र ३० मत पाए ।

यस्तै क्षेत्र नम्बर ६ मा पनि ५ उम्मेदवारले १०० मत कटाउन सकेनन् । जसमा जनता प्रगतीशील पार्टीका प्रशान्त ठाकुरले ५९, मंगोल नेश्नल अर्गनाइजेशनका मोहन बहादुर राईले ४२, नेमकिपाका चिरञ्जीवी खतिवडाले ३९, बहुजन शक्ति पार्टीका नारायण पासवानले २८ तथा स्वतन्त्र उम्मेदवार सुशील खडले ३६ मत पाए ।

धनकुटामा एमालेका राजेन्द्र कुमार राई विजयी हुँदा उनले ३० हजार १०१ मत पाए । तर, एकीकृत शक्ति नेपालका उम्मेदवार रमेश राईले मात्र ९५ मत पाए । भोजपुरमा माओवादी केन्द्रका सुदन किराती २८ हजार ५९१ मतका साथ विजयी हुँदा एक उम्मेदवारले भने १०० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवार महेश योञ्जनले २६ मतमात्रै पाएका हुन् ।

संखुवासभामा २ उम्मेदवारले १०० मत कटाउन सकेनन् । राष्ट्रिय जनमुक्ति पार्टीका कृष्ण कुमार राईले ४६ तथा नेश्नलिष्ट पिपल्स पार्टीका विनोद घिमिरेले २६ मत पाएका हुन् । जहाँ कांग्रेसका दीपक खड्का ३२ हजार १६१ मतका साथ विजयी भएका थिए ।

यस्तै तेह्रथुममा कांग्रेसकी सीता गुरुङ १९ हजार ७०७ मतसहित विजयी हुँदा ५ जनाले १०० मत कटाउन सकेनन् । राप्रपा नेपालका गौरी प्रसाद कन्दङ्वाले ८३, मंगोल अर्गनाइजेशनका गंगा बहादुर चोङवाङले ८२ तथा स्वतन्त्र उम्मेदवार सुसन चोङवाङ लिम्बुले ५७, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र कुमार लिम्बुले ५४ तथा नेकपा मार्क्सवादी –पुष्पलाल)का टंकप्रसाद भटटराईले २९ मत पाए । 

यसैगरी झापा १ मा कांग्रेसका महामन्त्री समेत रहेका विश्व प्रकाश शर्मा विजयी भए । उनले ३९ हजार ६२४ मतका साथ विजय हासिल गर्दा ४ उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका चित्रहाङ गजेबुले ४८ मत, जनसमाजवादी पार्टी नेपालका रमेश बास्तोलाले ४६ नेपाल जनता पार्टीका राम कुमार काफ्लेले  २७ मत पाउँदा स्वतन्त्र उम्मेदवार केन्द्रकुमारी दाहालले १४ मत पाइन् ।

झापा २ मा एमालेका देवराज घिमिरेले २८ हजार ७१६ मतका साथ विजय हासिल गर्दा जनसमाजवादी पार्टी नेपालका कृष्ण प्रसाद गौतमले ९९, नेमकिपाका मेहन्द्र खायमलीले २० मत १४ मत पाउँदा स्वतन्त्र उम्मेदवारहरु चेतकुमार खनालले ८० तथा खेमराज दाहालले २० मत पाए ।

झापा ३ मा कांग्रेसका कृष्ण सिटौलालाई हराउँदै राप्रपाका राजेन्द्र लिङ्देन ४० हजार ६६२ मतसहित विजयी हुँदा ७ उम्मेदवारले १०० मत कटाउन सकेनन् । जसमा स्वतन्त्र उम्मेदवार मनोरथ राजवंशीले ८२, लोसपाका देवेन्द्र किशोर ढुंगानाले ७०, राष्ट्रिय जनमुक्ति पार्टीका गजेन्द्र लिम्बुले ६१, कांग्रेस बीपीका भक्ति प्रसाद पनेरुले ५९, नेमकिपाका कृष्ण गोपाल छुस्यावागले ३५, राप्रपा नेपालका देवी रमण भट्टराईले २६ मत पाए ।

यस्तै झापा ४ मा एमालेका लाल प्रसाद साँवा लिम्बु २९ हजार ३१५ मतका साथ विजयी हुँदा ६ जना उम्मेदवारले १०० मत कटाउन सकेनन् । जसमा ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारहरु लक्ष्मीनारायण खनालले १०, किरण श्रेष्ठले १८, पूर्ण कुमार लिम्बुले ६७ तथा कमल बहादुर पौड्यालले ९० मत पाए ।

यस्तै सोही क्षेत्रबाट नेपाली कांग्रेस बीपीका दुर्गा प्रसाद घिमिरेले २६ र नेमकिपाका विक्रम कासिछ्वाले १३ मत पाए । झापा ५ एमाले अध्यक्ष केपी ओली निर्वाचित भएको क्षेत्र हो । जहाँ ओलीले ५२ हजार ३१९ मत ल्याएर विजय हासिल गर्दा १२ जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् ।

नेश्नलिष्ट पिपल्स पार्टीका राजन चुडालले ८८, स्वतन्त्र उम्मेदवार रोहित प्रसाद पौड्यालले ८१, तुलसी राम काफ्ले, सिताराम पोख्रेलले १३, रामचन्द्र बानियाले ५७, रेवती रमण खनालले ६३, कांग्रेस बीपीका सेखरनाथ सेडाईले ५१, स्वतन्त्रका इन्द्रमणि दाहालले ५०, तिर्थेश्वर चौधरीले २०, शान्ता अधिकारीले १३, भेषराज भट्टराई ४१ तथा सचेत नेपाली पार्टी (एकल चुनाव चिन्ह) का राम प्रसाद पाठकले ४९ मत पाए ।

यसैगरी ताप्लेजुङमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका विक्रम लिम्बुले ६१, जसमाजवादी पार्टीका कृष्ण बहादुर लिम्बुले ५६ तथा स्वतन्त्र उम्मेदवार हरि प्रसाद बरालले २९ मत पाए । जहाँ एमालेका योगेश भट्टराई २१ हजार ९४३ मतका साथ विजयी भएका थिए ।

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी भएपनि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिएको छैन । समानुपातिकतर्फको बाकसमा प्रत्यक्षका केही मत देखिएको भन्दै आयोगले गणनाको प्रक्रिया जारी रहेको जनाएको छ । आयोगका अनुसार नेम्वाङले ३२ हजार ११० मत पाउँदा भीष्मराज आङ्देबेले ३२ हजार ६३ मत पाएका छन् । जहाँ स्वतन्त्र उम्मेदवार लाख बहादुर पालूङ्वाले ८६ मत पाएका छन् भने भीमबहादुर तामाङले ३९ मत पाए । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण काफ्लेले १७ मत पाए भने विष्टन लावतीले ३५ मत पाएका छन् ।

सुवास नेम्वाङ ३० हजार २० मत पाएर इलाम २ मा विजयी हुँदा ६ उम्मेदवारले १०० मत कटाउन सकेनन् । जसमा स्वतन्त्र उम्मेदवारहरू दीपेश बोहोरा र जुनु माखिमले क्रमशः ९१ र १९ मत पाए । यस्तै लोसपाका निरमणि माङमु लिम्बुले ८९, कांग्रेस बीपीका डाक प्रसाद गौतमले ५४, नेकपाका याक बहादुर लिम्बुले ४८ तथा सामाजिक लोकतन्त्र पार्टीका तिलक बहादुर मगरले ४५ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप