बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नियमित सेवामा फर्किए डा. अधिकारी

मङ्गलबार, १३ मङ्सिर २०७९, ०८ : ४६
मङ्गलबार, १३ मङ्सिर २०७९

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छन् । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए ।
 
भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए । 
 
उनले भने, “अब म नियमित काममा फर्किएको छु ।” स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उनको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने उनले जानकारी दिए। 

गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना डा अधिकारीको छ । उनले भने, “विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु ।” यसैगरी मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने उनले बताए ।
 
उनले भने, “क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा हुन्छ ।” पिउने पानी, स्वच्छ वातावरणलगायतका बारेमा जनचेतना जगाउँदै धुमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उनले बताए। अपाङ्गता कार्ड नभएकालाई कार्ड बनाएर उपचारमा सहयोग गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप