शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका ९ जना मन्त्रीमध्ये ४ जना ‘आउट’

संघको एक जना, प्रदेशका ४ जना मन्त्रीको पुनः ‘इन्ट्री’
सोमबार, १२ मङ्सिर २०७९, १८ : ०६
सोमबार, १२ मङ्सिर २०७९

लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका थिए । ती मध्ये ५ जनालाई मात्र जनताले पत्याएका छन् । ४ जना संसदबाट ‘आउट’ भएका छन् । संघका तीन ३ जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए । त्यसमा संघमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र मतदाताले पत्याएका छन् ।

त्यस्तै, प्रदेशमा शिक्षा मन्त्री  बसीउद्दिन खाँन, सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाई मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।

नपत्याइएका मन्त्रीहरू

संघका युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज बाँके क्षेत्र नम्बर १ बाट एमालेका सूर्यप्रसाद ढकालसँग पराजित गरेका छन् । गहतराज २०७४ सालमा बाम गठबन्धनवाट चुनाव जितेका थिए । गहतराजले १९,६३२ मत पाउँदा एमालेका ढकालले २५,०२६ मत ल्याउँदै विजयी भए । गहतराज अहिले सत्ता गठबन्धनको बलमा सोही क्षेत्रबाट मैदानमा गए पनि जनताले पत्याएनन् ।

२०७४ सालमा समानुपातिक सांसद रहेका गृहमन्त्री बालकृष्ण खाँण अहिले रुपन्देही क्षेत्र नम्बर ३ बाट मैदानमा थिए । त्यहाँ उनलाई राप्रपाका दीपक बोहोराले पराजित गरे । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका खाँणले ३४,०३६ मत ल्याउँदा एमालेको साथ पाएका बोहराले ३६,७१७ मत पाएर गृहमन्त्री खाँणलाई पराजित गरेका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल नेपाली काँग्रेसबाट बाँके–२(ख) मा प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेका थिए । तर उनले जनताको मन जित्न सकेनन् । उनी तेस्रो स्थानमा रहे ।

जसपाका आदेशकुमार अग्रवालले ८,२४६ मत ल्याई हमाललाई पराजित गरे । हमालले जम्मा ६,२४७ मत ल्याउन सके । सो क्षेत्रमा दोस्रा स्थानमा रहेका एमालेका निरक गुरुङले ६,७०९ मत पाए । त्यस्तै, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवलाई पनि जनताले पत्याएनन् । उम्मेदवारी दिने बेलामा जसपा छाडेर उनी नेपाली काँग्रेस पार्टी प्रवेश गरी कपिलवस्तु क्षेत्र १(ख) भएका थिए ।

त्यहाँ यादवलाई एमालेका मधुसुदनशरण चौधरी कुर्मीले ११,७४८  मत ल्याई पराजित गरे । यादवले ९,०६६ मत मात्रै पाउन सके ।

जसलाई फेरि जनताले पत्याए

लुम्बिनी प्रदेशबाट संघबाट तीन मन्त्री भए पनिसहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र जनताले फेरी पत्याएका छन् । दाङ क्षेत्र नम्बर १ बाट एमालेकी शान्ता चौधरीलाई पराजित गर्दे मेटमणि फेरि संसद्मा जाने बाटो खोलेका छन् । मेटमणिले २६,५६३ मत ल्याउँदा एमालेकी शान्ताले २१,४७९ मत ल्याएकी छन् ।

यस्तै लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्मा ६ जनामध्ये ४ जनाले चुनाव जितेका छन् । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रजित थारु दाङ क्षेत्र नम्बर १ को (क)तर्फ प्रदेशसभा सदस्य पदमा जितेका छन् । उनी २०७४ सालमा पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए ।

उता नेपाली काँग्रेसका तर्फबाट पर्यटन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री डिल्ली चौधरी दाङ–३ (क) बाट विजयी भएका छन् । उनी पनि २०७४ सालमा सोही क्षेत्रबाट चुनाव जितेका थिए । त्यसबेला राप्ती क्षेत्रबाट उनी आफ्नो पार्टीबाट एक्लै प्रदेश सभामा उपस्थिति जनाएका थिए ।

शिक्षा मन्त्री बसीउद्दिन खाँनलाई रुपन्देही–४(ख) मा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले पाल्पा–२(क) का जनताले फेरि पत्याएर लुम्बिनी प्रदेश सभा जाने बाटो खोलिदिएका छन् । २०७४ सालमा वीर बहादुर राना समानुपातिक सांसद बनेका  थिए भने खान सोही क्षेत्रबाट जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप