शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुवास नेम्वाङ भन्छन्–निषेधको राजनीति पराजित भएको छ

‘निर्वाचनको नतिजाले कुनै अस्थिरता निम्त्याउँदैन’
सोमबार, १२ मङ्सिर २०७९, १६ : २५
सोमबार, १२ मङ्सिर २०७९

मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनको मिश्रित नतिजाले मुलुकमा पुन अस्थिरता बढ्ने हो कि भन्ने धेरैको आशङ्का छ । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुने क्रमसँगै कतिपय जिम्मेवार दलका शीर्ष नेताहरूले नै मुलुक अस्थिरतामा जान सक्ने खतरा रहेको बताउन थालेका छन् । तर नेकपा एमालेका उपाध्यक्ष समेत रहेका इलाम २ बाट भर्खरै निर्वाचित सांसद सुवास नेम्वाङ जनादेश अनुसार अघि बढे मुलुकमा अस्थिरता नआउने दाबी गर्छन् ।

‘संविधानले मिश्रित निर्वाचन पद्धतिको व्यवस्था गरेको छ यो हामीहरूले जानी बुझी नै गरेको हो । मिश्रित निर्वाचन प्रणालीको परिणाम यस्तै हुनसक्छ भन्ने हामी सबैलाई थाहा छ’, नेम्वाङ भन्छन्, ‘त्यस कारण हामी सबै तयार हुनुपर्छ र यसले कुनै अस्थिरता निम्त्याउँदैन ।’

साथै नेम्वाङले नेकपा एमाले सरकारमा जान नहतारिएको पनि बताए । नेम्वाङको कुटनीतिक जवाफ छ–जनताको जनादेशअनुसार अगाडि बढ्दा जसले देश सञ्चालन गर्नुपर्ने हो त्यसले देश सञ्चालन गर्छ, जो प्रतिपक्षमा बस्नुपर्ने हो त्यो प्रतिपक्षमा बस्छ ।’

प्रस्तुत छ नेम्वाङसँग गरिएको छोटो कुराकानी :

धेरै नेताहरू पराजित भएको बेला तपाईंले इलामबाट यसपटक पनि निर्वाचन जित्नुभयो,यो निर्वाचनलाई तपाईंले कसरी लिनुभएको छ ?

सदाझैँ यसपटक पनि लोकतन्त्रको सुन्दर अभ्यासका लागि हामी निर्वाचनका क्रममा थियौँ । जनताका अगाडि धेरै विषय थिए, धेरै प्रश्नहरू थिए । अन्ततः जनताले आफ्नो निष्कर्ष सुनाएका छन् । लगभग जनताको निष्कर्ष आइपुग्न लागेको छ त्यो निष्कर्षबाट अहिले लोकतन्त्रको र जनताको विजय भएको छ । जनता नै सबैभन्दा माथिल्लो शक्ति हो भन्ने कुरा स्थापित भएको छ ।

धेरैवटा विषयमा विवादहरू थिए । तर जनताले ती सबै कुराहरूलाई टुङ्गोमा पुर्‍याएका छन् । र, अव निषेधको होइन, लोकतन्त्रको सुन्दर र स्वस्थ प्रतिस्पर्धाको राजनीति अघि बढ्छ भन्ने मलाई विश्वास छ ।

यो निर्वाचनको नतिजाले दिएको विशेष सन्देश के होला ?

केही साथीहरू नेकपा एमालेलाई एक्लो बनाएर र घेराबन्दी गरेर अगाडि जाने तयारीमा हुनुहुन्थ्यो । तर हामी भनिरहेका थियौ–यो ठिक भएन । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, निषेध होइन । त्यसैले निषेधको राजनीति नगरौँ र सबै मिलेर देश र जनताको हितमा काम गरौँ हामीले भनिरहेका थियौँ । हामीले भनेको यो कुरा ठिक हो कि साथीहरूले गरेको काम ठिक हो ? भनेर भन्दा जनताले अहिले जे निर्णय र निष्कर्ष दिएका छन् त्यसबाट निषेधको राजनीति पराजित भएको छ । निर्वाचनबाट दलहरू मिलेर अघि बढ, देश र जनताको हितमा काम गर भन्ने जनताको प्रस्ट सन्देश आएको छ । अव त्यसैअनुरूप अगाडि बढ्नुपर्छ ।

अहिलेसम्मको निर्वाचन नतिजाले मुलुकको राजनीति कतातिर उन्मुख हुने देख्नुहुन्छ ?

जनताको जनादेश आइसकेपछि लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरू जनादेश बमोजिम चल्छन्, चल्नुपर्छ र हामी त्यसरी नै चल्छौ । मलाई विश्वास छ यो आधारमा अगाडि बढ्दा देश ठीक दिशातर्फ अघि बढ्छ ।

यो नतिजाले संविधानको कार्यान्वयन र लोकतन्त्रलाई सही दिशा दिन सहयोग गर्ला ?

जनताले जनताकै लागि संविधान बनाएको हो । संविधान कुनै शासकको आदेशबाट बनेको नभएर जनताका प्रतिनिधिले बनाएको हो । संयोग र सौभाग्यले मेरो नेतृत्व र पहलमा संविधान सभाले यो संविधान बनाएको हो । त्यो संविधान कार्यान्वयन गर्ने सिलसिलामा हामी दोस्रो प्रतिनिधि सभा निर्वाचनका क्रममा छौ । यो निर्वाचनले संविधान कार्यान्वयनलाई राम्रो कार्यान्वयनको दिशामा अघि लैजान्छ । त्यसैले जनताले दिएको सन्देशअनुसार राजनीतिक दलहरू अघि बढ्नुपर्छ र संविधानको कार्यान्वयन गर्दै देश र जनताको पक्षमा काम गर्नुपर्छ ।

यो निर्वाचनपछि नयाँ सरकार गठनमा एमालेको भूमिका के रहन्छ ? सरकार गठन गर्न कति आतुर हुनुहुन्छ ?

हामी कहिल्यै पनि आतुर छैनौँ । हामीलाई जब जनताको जनादेश विपरीत सर्वोच्च अदालतको परमादेशबाट हटाइयो, त्यतिबेला पनि हामीले भनेका थियौ, हामी संविधान मान्छौ भनेका थियौँ । हामी अदालतको आदेश मान्छौ, जबकि अदालतको आदेशमा त्रुटि छ भन्ने हाम्रो भनाइ छ । तर आदेशलाई मान्यौ र संसद्मा हाम्रा कुराहरू उठाइरह्यौँ । र, हामीले भन्यौ यो सबै कुराको छिनोफानो जनताले गर्छन् । त्यसैअनुसार मङ्सिर ४ को निर्वाचनमा जनताले एउटा आदेश दिएका छन् । त्यो आदेशअनुसार चलौँ, हामीलाई सरकारमा जान हतारो छैन । जनताको जे आदेश छ त्यसको आधारमा टुङ्गोमा पुगौँ । जनताको जनादेशअनुसार अगाडि बढ्दा जसले देश सञ्चालन गर्नुपर्ने हो त्यसले देश सञ्चालन गर्न, जो प्रतिपक्षमा बस्नुपर्ने हो त्यो प्रतिपक्षमा बस्छ ।

जनताले सवैसँग छलफल गर, सबै मिलेर अघि बढ भनेका छन् । यही निर्देशनबमोजिम हामी अघि बढ्छौ । जनताको जनादेश बमोजिम जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौ ।

यो नतिजाले मुलुकमा स्थिरता ल्याउँछ कि भन्ने एक थरीको भनाई छ । जस्तो नयाँ पार्टीहरू पनि उदाएका छन् यसले कुनै फरक पार्दैन ?

संविधान प्रस्ट छ । संविधानले मिश्रित निर्वाचन पद्धतिको व्यवस्था गरेको छ त्यो सबै हामीहरूले जानी बुझी नै गरेको हो । मिश्रित निर्वाचन प्रणालीको परिणाम यस्तै हुनसक्छ भन्ने हामी सबैलाई थाहा छ । त्यस कारण हामी सबै तयार हुनुपर्छ र यसले कुनै अस्थिरता निम्त्याउँदैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप