शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘फ्लोर क्रस’ गर्नेदेखि दल बदलेकाहरूलाई जनताले पत्याएनन्

यी हुन् कर्णालीमा दोस्रो पटक संसद् यात्रामा ‘ब्रेक’ लागेका अभागी नेताहरू
सोमबार, १२ मङ्सिर २०७९, १५ : १७
सोमबार, १२ मङ्सिर २०७९

सुर्खेत 

कर्णालीमा ०७४ मा  एउटा पार्टीबाट चुनाव जितेका र अहिले फरक दलबाट दोस्रो पटक सोही पदका लागि मैदानमा उत्रिएका कर्णालीका चार जनता नेताहरूको संसद्को दोस्रो यात्रामा ‘ब्रेक’ लागेको छ । आम निर्वाचनमा फरक पार्टी र फरक पोजिसनसहित चुनावमा होमिएका उनीहरू पराजित भएका हुन् ।  पराजित हुनेमा दैलेखका धर्मराज रेग्मी, सुर्खेतका ठम्मर विष्ट, कालिकोटका कूर्मराज शाही, जुम्लाका पदम रोकाय छन् । प्रदेश सरकारका देखिएको सत्ता संघर्षको समयमा उनीहरूले दल अदलबदल गर्नेदेखि ‘फ्लोर क्रस’ जस्तो संसदीय इतिहासमा नै नभएका क्रियाकलाप सरिक भएका थिए । 

०७४ मा नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका दैलेखका धर्मराज रेग्मी आम चुनावका लागि दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा सिफारिस भएका थिए ।  यद्यपि उनले प्रतिनिधि सभामा टिकेट पाउन सकेनन्, सांसद हुँदा हुँदै एमालेको कित्तामा उभिएकाले उनलाई एमालेले सुरक्षित गर्नुपर्ने बाध्यता थियो ।  अन्तमा १ (क) बाट पुनः प्रदेश सभा सदस्यमा टिकेट पाए । यद्यपि उनले दोस्रो पटकको संसद् यात्रा सफल हुन् सकेन । 

रातोपाटीसँगको कुराकानीमा उनले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका थिए । तर उनी कांग्रेसबाट उम्मेदवार बनेका पूर्णबहादुर खत्रीसँग १ हजार ३९२ मतान्तरले पराजित भए ।  गठबन्धनका उम्मेदवार खत्रीको पक्षमा ९ हजार ४६४ मत आउँदा रेग्मीको पक्षमा जम्मा ८ हजार ७२ मत आयो।  

रेग्मी तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा आफ्नो दलका नेता महेन्द्रबहादुर शाहीलाई छाडेर एमालेको कित्तामा उभिने मध्येका एक थिए । २३ फागुन ०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि रेग्मी एमालेमै बसे । त्यसपछि माओवादी केन्द्र संसदीय दलले उनको सांसद पद खोसिदिएको थियो । ०७४ मा सोही क्षेत्रबाट १० हजार ३६१ मत ल्याएर निर्वाचित भएका उनलाई यो पटक जनताले पत्याएनन् र पराजित भए ।  

रेग्मी एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय कानुन विभागका उपप्रमुख छन् र अधिवक्ता समेत हुन् । एमालेको बलियो जनाधार रहँदा रहँदै पनि उनी पराजित भएका हुन् ।  

०७४ मा माओवादीबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) बाट १५ हजार ३५२ मतसहित निर्वाचित भएका ठम्मर विष्टको दोस्रो पटकको संसद् यात्रामा पनि ‘ब्रेक’ लागेको छ । सरकारमा माओवादीका सांसदहरू मन्त्री बन्दा आफूलाई दलले मन्त्री नबनाएको झोकमा सांसद पद त्यागेर एमालेमा प्रवेश गरेका थिए । 

गत चैत्रमा मात्र उनी एमाले प्रवेश गरेका हुन् । त्यसपछि माओवादीले उनको सांसद पद खोसिदिएको थियो । विष्टले माओवादीका नेताहरूले प्रदेशमा भ्रष्टाचार गरेको, आफ्नो नीति, विधि विपरीत कार्य गरेको आरोप लगाउँदै एमाले प्रवेश गरेका हुन् । एमालेमा आफूलाई सुरक्षित ठानेका उनलाई जनताले भने पत्याएनन् । 

एमालेबाट पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेका विष्ट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेलसँग ३ हजार ७५ मतान्तरले पराजित हुन् । पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टलाई जम्मा १५ हजार १८८ मत आयो ।

लामो समय माओवादी राजनीतिमा सङ्घर्ष गरेका उनी ०५७ सालमा माओवादीले थालेको जनयुद्धमा सहभागी भएका फौजी कमान्डर समेत हुन् । जनमुक्ति सेनाको कम्पनी कमिसार र कमान्डरको भूमिका निर्वाह गरेका उनले पार्टीको शिक्षा विभागको इन्चार्ज, संयुक्त राष्ट्रसंघ (अनमीन) अन्तर्गत हतियार तथा सेना व्यवस्थापन संयुक्त अनुगमन टिमको सेक्टर कमान्डरको जिम्मेवार समेत सम्हालेका थिए । ०७० सालको संविधान सभाको निर्वाचनमा समेत उनी पराजित भएका थिए । 

यस्तै ३ वैशाख ०७८ मा तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको निर्णय विपरीत ‘फ्लोर क्रस’ गरेका चार जनामध्येका एक कूर्मराज शाही पनि पराजित भएका छन् । शाहीको पार्टी निर्णय विपरीत गएपछि एमालेले बर्खास्ती गरेपछि सांसद पद गुमेको थियो । तर पनि ६ महिना गैरसांसद भूमि, व्यवस्था, कृषि तथा सहरकारी मन्त्री बनेका थिए ।

एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा लागेर कालिकोटको इन्चार्ज समेत भएका उनले मनोनयन दर्ता गराउने दिनमा भने पुनः एमालेबाट गराए । एमालेले पनि उनको क्षेत्रमा आफ्नो प्रभाव बढाउनका लागि आफैले कारबाही गरेका व्यक्तिलाई टिकेट थमाएर मैदानमा उतार्‍यो ।  

धुमिल राजनीतिक गतिविधिका कारण विवादित छवि बनाएका उनी दोस्रो पटकको संसद् यात्रामा असफल भए । माओवादीका दुर्गबहादुर रावतले शाहीलाई १ हजार ५९ मतान्तरले पराजित गरे । 

शाही उम्मेदवारी दर्ता गर्नुभन्दा अघिसम्म समाजवादीको प्रचार–प्रसार अभियानमा व्यस्त थिए । यद्यपि गठबन्धनको भागबन्डा अनुसार कालिकोटमा समाजवादीलाई भाग नपरेपछि एमालेले रातारात टिकेट थमाएको थियो । मन्त्री हुँदा  बलात्कारको आरोप लागेका शाहीको छवि विवादास्पद छ ।  

उसो त उनले एमालेभित्र लामो राजनीतिक सङ्घर्ष गरेका व्यक्ति हुन् । मन्त्री बन्नकै लागि पार्टीको निर्णय विपरीत कदम चालेका र जनमतको बे–वास्ता गरेका उनको संसद् यात्रामा यो पटक ‘ब्रेक’ लाग्यो ।

यस्तै सत्ताकै लोभमा एमाले त्यागेर समाजवादी रोजेका जुम्लाका पदमबहादुर रोकाय पनि पराजित भएका छन् । बहालवाला प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री समेत रहेका रोकाय ०७४ मा (जुम्ला (ख)) एमालेबाट १० हजार ४५८ मतसहित निर्वाचित भएका थिए । यो पटक कांग्रेस, माओवादीको साथ पाउँदा पनि उनी १ हजार ७१५ मतान्तरले एमालेका टेकराज पछाइसँग पराजित भए । पछाइको पक्षमा ७ हजार ८२७ आउँदा रोकायाको पक्षमा ६ हजार ७१५ मत आयो। रोकाया मन्त्री बन्ने अपेक्षासहित एमाले विभाजनपछि समाजवादीको कित्तामा उभिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप