सोमालियाको एक होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशङ्का
सोमालियाको एक होटलमा यहाँका आतङ्ककारीहरुले हमला गरेको बताइएको छ । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ ।
सो होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतङ्ककारी समूहले आक्रमण गरेको यहाँका सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।
ती अधिकारीहरूका अनुसार आइतबार राति सो होटलमा उनीहरूले हमला गरेका छन् र त्यस होटलमा रहेका कर्मचारी तथा पाहुनाको अवस्था अज्ञात रहेको छ । स्थानीय प्रहरी र नागरिकहरूले सो होटलमा उनीहरूले शक्तिशाली विस्फोटक पदार्थहरू पनि विस्फोट गराएको बताइएको छ । प्रहरीले सोमबार बिहानसम्म सो हमलाको बारेमा पूर्ण जानकारी नआएको र प्रहरीले सो होटललाई घेरा हालेर अनुसन्धान जारी गरेको बताएको छ ।
सो होटलमा रहेका पाहुना र कर्मचारी हताहत भएको आशङ्का गरिएको समाचारमा जनाइएको छ । शक्तिशाली हतियार र विस्फोटक पदार्थको प्रयोग गरेर हमला भएकाले मानवीय क्षतिको आशङ्का गरिएको यहाँका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
आतङ्ककारीहरूले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु भएको बताइएको छ । सोमालियाका अल सेबाब आतङ्ककारीहरुले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरूमा पनि आक्रमण गर्ने गरेका छन् ।