बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी रहन्छ’

सोमबार, १२ मङ्सिर २०७९, १२ : २७
सोमबार, १२ मङ्सिर २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । समानुपातिकतर्फको मत परिणाम पनि अन्तिम चरणमा पुगिसकेको छ । अहिलेसम्मको निर्वाचन मत परिणाम हेर्ने हो भने कुनै एक पार्टीको मात्रै बहुमत पुग्ने स्थिति देखिँदैन । यस्तो अवस्थामा बाम गठबन्धन भएर कम्युनिष्ठहरुको सरकार बन्छ कि अहिलेकै गठबन्धनले नयाँ सरकारको नेतृत्व गर्छ ? भन्ने प्रश्न प्रखर बनेको छ । निर्वाचन नतिजालाई लिएर माओवादीले कस्तो विश्लेषण गरेको छ ? प्रस्तुत छ यिनै विषयमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव डिलाराम आचार्यसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानी -

निर्वाचनको मत परिणामलाई नेकपा (माओवादी केन्द्र) कसरी लिएको छ ?

सामान्य रुपमा हेर्दा अस्वाभाविक छ किनभने गठबन्धन गरेर गइसकेपछि हामीले उठाएको ४८ सिटमध्ये ४० सिटजति आउनपर्दथ्यो भन्ने हो । तर माओवादीको भोट गठबन्धनका अन्य दल काँग्रेसमा,समाजवादीमा सबैतिर सजिलोगरी प-यो । काँग्रेसको भोट त्यति सजिलैगरी हामीतिर सिफ्ट भएन कि, आएन कि भन्नेकुरा निर्वाचनको परिणामले देखाउँछ । यसको गहिरो विश्लेषण त पछि होला । तर फेरि कांँग्रेसको एउटा पक्षले काहीँ न काहीँ हामीलाई भोट नहाल्ने भनेको कुरा काठमाडौं आएपछि मैले जानकारी पाएँ । एउटा पक्षले माओवादीलाई भोट नहाल्नु भनेर गर्ने, अर्कोतिर हाम्रो भोट जति सक्दो पूरै लिने । एक खालको असामाञ्जस्यता जस्तो, आशंकाजस्तो उत्पन्न हुने वातावरण चुनाव पछि बनेको छ ।

आशंका बाहेक तोकेरै भन्न सक्नुहुन्छ काँग्रेसले भोट हालेन भनेर ?

परिणामले त्यो देखाउँछ । किनभने मत हिसाब गर्दा हाम्रो आठ वटा सिट फुत्किएपनि ४० जति सिटमा जित्नुपथ्र्यो । हामीले व्यवहारमै विश्लेषण गरेर ४० को हाराहारीमा हामी प्रत्यक्षमा आउँछौ भनेका थियौँ । समानुपातिकमा हाम्रो भोट कति आउँछ त्यो हिसावले हेर्नुपर्छ । तर अहिले प्रत्यक्षमा झण्डै आधि भन्दा बढीको फरक प¥यो । त्यो फरक मत कम भएको कारणले होइन कि मत सहज रुपले हामीतिर सिफ्ट भएन भन्ने देखिन्छ ।

किन तपाईहरुलाई भोट ट्रन्सफर भएन त ?

माथिबाट केही न केही निर्देशन गयो । शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ । अहिले ठ्याक्कै प्रमाण त छैन तर घटनाहरुले त्यस्तो देखाउँछ । काँग्रेसको संस्थापन पक्षले मुलतः इमान्दारी साथ भोट हाल्ने कोशिस गरेको देखिन्छ । तर फेरि अर्को समस्या के रहेछ भने काँग्रेस हाम्रो जस्तो क्याडरबेस पार्टी भएन । मासबेस पार्टी हो ।

संसदमा नयाँ पार्टीहरुको उदय हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नयाँ पार्टीहरु आउनु नराम्रो होइन । प्रजातन्त्र फूलबारी हो । फूलबारीमा सबै किसिमका फूलहरु फुल्न पाउँछन् । तर जनताले विश्वास गर्दा ति नयाँ पार्टीहरुको सिद्धान्त के हो ? राजनीति के हो ? कार्यदिशा के हो ? भोलि कहाँ लैजाने हुन् ? भन्ने कुरा हिसाब नगरीकन भोट हाल्ने जुन ट्रेण्ड देखिएको छ नेपालमा यो खतरनाक छ । किनभने हामीले उनीहरुलाई भोट हाल्ने भनेको त उनीहरुका नीति, कार्यक्रम माथि आधारित भएर हो ।

लिखित प्रतिवद्धता, सिद्धान्त, राजनीति, कार्यनीति, अर्थनीति, परराष्ट्र नीति, नेपालको विकास सम्बन्धी उनीहरुको अवधारणालाई विश्लेषण गरेर भोट हाल्नुको सट्टा नेपाली जनमानसमा सतही र फेसबुके विश्लेषणका आधारमा बहकिने गरेको देखियो, यो राम्रो छैन । दश वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन देशमा आमुल परिवर्तनपछि जनताको चेतना ह्वात्तै माथि बढेको छ, भन्ने विश्लेषण गरिन्थ्यो तर अहिले के देखियो भने त्यो होइन रहेछ । हामी फेसबुकको वरिपरी नाचिरहेका छौँ । फेसबुकका राम्रा कुराका वरिपरि पनि नाचिरहेका छौँ । नराम्रा र भ्रमपूर्ण कुराहरुको वरिपरि पनि हामी नाचिरहेका छौँ । विषयको जरोसम्म पुगेर त्यो के हो भनेर पत्ता लगाएर आफ्नो अभिमत दिने भन्दापनि तत्कालिक क्षणिक आवेग, उत्तेजनामा निर्णय गर्ने कुराहरु केही मात्रामा हाबी भएको देखिन्छ । यो राम्रो कुरा होइन । जुन जनमत उनीहरुले पाएका छन् त्यो जनमत पाउनुमा हाम्रो जनमत बहकिने खालको छ, उत्तेजक नाराहरुमा केन्द्रित हुने खालको छ । र गाली गलौजलाई मन पराउने खालको छ । घण्टी भन्नुस् वा सिके राउत भन्नुस् उहाँहरुले मतदाताहरुलाई जे विषय दिइराख्नुभएको छ त्यो पुराना पार्टी र उनीहरुका केही कमी, कमजोरीहरुको उजागर गर्ने र एकोहोरो गाली गर्ने बाहेक उहाँहरुको आफ्नो के हो ? उहाँहरु के चाहानुहुन्छ ? भन्नेकुरा उहाँहरुले भन्न सक्नुभएको छैन । यस्तो अवस्थामा जनताले उहाँहरुलाई तिरस्कार गर्नुपथ्र्यो । तिम्रो आफ्नो नीति लिएर आउ । कार्यक्रम लिएर आउ । घोषणा लिएर आउ । सिद्धान्त लिएर आउ । तिमी के हौ ? तिमी दाहिने, देब्रे, दरबारिया, कम्युनिष्ट, काँग्रेस के हौ भन्ने कुरा प्रश्न गर्नुपथ्र्यो ।

अव सत्ता गठबन्धन कायम रहन्छ रहँदैन ? गठबन्धनको सरकार बन्छ कि बन्दैन ? सरकारको नेतृत्व कसको हुन्छ ? सरकारको नेतृत्वमा दाबी छ कि छैन ?

गठबन्धन तलमाथि पार्ने बारेमा हाम्रो बीचमा कुनै छलफल भएको छैन । गठबन्धन यथावत नै रहला भन्ने हामी अनुमान गर्नसक्छौँ । एक दुई दिनमा सवै परिणाम आइसकेपछि हाम्रो बैठक बस्ला । त्यसपछि गम्भिरतापूर्वक छलफल पनि होला । तर गठबन्धन तलमाथि हुन्छ भन्ने देखिदैन । सरकारको नेतृत्वको प्रश्नमा खुलेरै छलफल गर्नुपर्ने हुन्छ । किनभने मतदाताहरुको अहिले कुरा के हो भने तिमी राजनीतिक नेताहरुको जीवन सुखमय हुने । आम जनताको जिवन नबदलिने किन भयो भन्ने एउटा प्रश्न पनि हो । नयाँ पार्टीमा मत जानुको कारण के पनि हो भने जीवन बदलिएन जनताको भन्ने कुरा पनि हो । यसको निम्ति हामीले शेरबहादुरलाई प्रयोग गरेर हे¥यौँ । शेरबहादुरले नयाँ किसिमले नेतृत्व गर्नुहुन्छ भन्ने पनि देखिदैन । काँग्रेस भित्र पनि प्रधानमन्त्रीमा आधा दर्जनको दाबी छ । हामीले हामी नेतृत्व गर्छौं भन्ने ठाउँमा पनि हाम्रो असाध्यै थोर छ । यद्यपी हामी निर्णयात्मक छौँ ।

तपाईहरु प्रचण्डको नेतृत्वमा सरकारमा जाने हो ?

हाम्रो दाबी रहन्छ । तर हाम्रो दाबी यो हदसम्म हुन्न कि हामीले नेतृत्व पाए हुन्छ नत्र हुन्न भन्ने तहसम्म जाँदैनौ । किनभने नेपालजस्तो गरिव देशले तुरुन्तै अर्को मध्यावधि चुनाव घोषणा गर्न सम्भव छैन । त्यसैले अहिले आएको परिणामलाई जोगाएर हामी सरकार सञ्चालनमा, सरकार निर्माणमा त केन्द्रित हुनुपर्छ । तर यो कुरा सत्य हो, यो कुरा हामीले जनतालाई पनि भन्नुपर्छ कि माओवादीले कमसेकम १०÷१५ वर्ष नेतृत्व गर्न पायो र उसले देशको, जनताको जीवनको परिवर्तन गरेन भने बल्ल तपाईहरु माओवादीलाई डस्टबिनमा फाल्नुहोस् । हामी त्यो सजाय भोग्न तयार छौँ । तर माओवादीको राम्रोगरी प्रयोग नै भएको छैन सत्ताको सन्दर्भमा ।

संसदीय अंक गणितमा नेपाली काँग्रेस बाहेकको सरकार हुने भयो भने तपाईहरु नेकपा (एमाले) सँग सत्ता सहकार्य गर्न तयार हुने  कि नहुने ?

अहिले नै हामीले त्यसबारेमा कुनै निर्णय गरेका छैनौँ । आज देशमा जुन अवस्था आएको छ, नयाँ शक्तिहरु सल्बलाएका छन् । परिवर्तन बिरोधी शक्तिहरु, गणतन्त्र मन नपराउनेहरु, संघीयता मन नपराउनेहरु सल्बलाइरहेका छन् । जुन नेपाली समाजमा आशंकाहरु उत्पन्न भएका छन् त्यसको पछाडीको कारक तत्व त फेरि केपी ओली हो । त्यसकारण अहिलेको सन्दर्भमा फेरि उहाँसँग सहकार्य गरेर जान्छौँ कि जादैनौ भन्ने बारेमा पार्टी भित्र छलफल, बहस र प्रस्तावको विषय हुनसक्छ ।

संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो शक्ति, निर्णायक शक्तिको रुपमा आएको देखिन्छ, यसलाई कसरी बुझ्ने ?

राप्रपा आउनुको पछाडी ओलीजी  जोडिनुहुन्छ । ओलीजीले राप्रपालाई काँधमा बोकेर जसरी हिँड्नुभयो त्यसमध्येका केही मान्छेहरु छचल्किएर आएका हुन् । आफ्नो तागत, आफ्नो बलबुताबाट आएका होइनन् । ओलीजिले यसको जिम्मा लिनुपर्छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षताले जुन खालको डेलिभरी जनतालाई दिनुपथ्र्यो, जनताको जीवनमा परिवर्तन हुनुप¥यो भन्ने जनताको माग जायज छ ।

सुदूरपश्चिम प्रदेशमा (माओवादी केन्द्र) क्लिन स्वीप भयो, मधेस प्रदेशमा एक सिट मात्रै आयो, माओवादी किन यति कमजोर भयो ?

नढाँटीकन भन्दा यो कुरा बाहिर मिडियामा पनि आएको छ । मधेसमा विभिन्न गुटहरुको पार्टी भित्रमै खुट्टा तानातानले त्यहाँ पु¥याएको भन्ने एउटा तर्क छ । माओवादीलाई भोट नहाल भन्ने काँग्रेसभित्रको एउटा पाटोले पनि त्यहाँ काम ग-यो भन्ने देखिन्छ । त्यहाँ हाम्रो पार्टी सुव्यवस्थित रुपमा नचलेकै हो । किनभने सबभन्दा धेरै उत्पीडन भएको ठाउँ मधेस हो । गरिव र धनीको धेरै ठूलो खाडल भएको ठाउँ पनि मधेस हो । त्यसो हुँदा सबभन्दा बलियो कम्युनिष्ट पार्टी निर्माण हुनसक्ने ठाउँ मधेस हो । तर त्यहाँ आपसी मनमुटाव र काँग्रेसको एउटा पाटोले भोट नहाल्न दिएको सन्देशको प्रभाव परेको हो भन्ने मेरो बुझाई हो ।

सुदूरपश्चिममा, हाम्रो पार्टीले पाँच वर्ष सरकार सञ्चालन गर्दा कति राम्रो कति नराम्रो ग¥यो मसिनो गरी मैले बुझेको छैन । तर जनअपेक्षा अनुसार त्यहाँ काम हुन सकेन । परम्परागत रुपले नियमअनुसार त काम भयो तर जनअपेक्षा अनुसारका केही कामहरु हामीले शुरुवात गरिदिनुपथ्र्यो । त्यो काम गर्न नसक्नुको परिणाम सुदूरपश्चिमको हो ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संख्याका कारण संसदमा अस्थिरता आउने हो कि भन्ने आशंकाहरु उब्जिएका छन् । तपाईँको विश्लेषण के छ ?

पुरानो पाँच दलीय गठबन्धनले निरन्तरता पायो र सरकार निर्माणमा गयो भने यो पाँच वर्ष जान्छ । पाँच वर्ष जाने भनेको एकै जनाको नेतृत्वमा नभएर दलहरुको बीचमा केही समय नेतृत्व परिवर्तन गरेर भएपनि पाँचै वर्ष जान्छ र जानुपर्छ । नेपालजस्तो देशले हरेक वर्ष मध्यावधि चुनाव गरेर खर्बौं रुपैयाँको व्ययभार व्यहोर्न सक्दैन । त्यसकारण पनि यसलाई पाँच वर्ष लैजानुपर्छ । धेरै पार्टीको उपस्थितिले राम्रै पनि गर्नसक्ला । सबैको उपस्थितिले सकारात्मक विषयहरु, जनताका विषयहरु सदनभित्र उठ्छन् । जनताको संसदप्रतिको आशा बढेर जानपनि सक्ला । त्यो लडाईंमा हामीले आफूलाई सही साबित गर्ने चुनौती त छँदैछ । तर गठबन्धन राम्रोगरी नहुने, दलहरु भित्र आपसी खिचातानि तिब्र हुने, दलहरु अझ थप विभाजित हुँदै जाने र देश अझ अन्यौलता, अस्थिरतातिर जाने पनि हुनसक्छ । त्यसो हुन नदिनका लागि हाम्रो पार्टी निश्चित रुपले प्रतिवद्ध छ । हामीले हाम्रो पार्टीको हीतको कारणले सदनलाई तलमाथि हुन दिने र तुरुन्तै मध्यावधिमा देशलाई धकेल्ने दिशामा जाँदैनौँ । त्यसप्रति हामी प्रतिवद्ध छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप