बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सीताराम विवाह पञ्चमी महामहोत्सव : मटकोर विधि सम्पन्न

आइतबार, ११ मङ्सिर २०७९, २१ : ४१
आइतबार, ११ मङ्सिर २०७९

जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ । जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको ब्यान्ड र अन्य बाजागाजासहित सुरक्षाकर्मीको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गङ्गासागरमा माटो खन्ने गरिन्छ । जसलाई मटकोर विधि भनिन्छ ।  

गङ्गासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुन जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षुभिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो । मटकोर विधिका क्रममा आज ‘सेभ हिस्टोरिकल जनकपुरधाम’ले गङ्गा आरतीको आयोजना गरेको थियो । 

सो अवसरमा महिलाले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू गाएका थिए । मटकोर विधि हेर्न गङ्गासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता थियो । मटकोर विधिबाट उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि सोमबार दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाह हुनेछ । सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत यही मङ्सिर १३ गते रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरियातीहरूलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको र सोही दिन जन्तीलाई बिदाइ गर्ने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप