शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा हात्तीपाइले रोगको नमूना सर्वेक्षण

आइतबार, ११ मङ्सिर २०७९, २० : ३६
आइतबार, ११ मङ्सिर २०७९

झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । झापाको भद्रपुरमा आज कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले ‘हात्तीपाइले रोग निवारणसम्बन्धी रि–प्रि टेष्ट सर्भे’ सम्बन्धी अभिमूखीकरण कार्यक्रमको आयोजना गरी सर्वेक्षणबारे जानकारी दिएको हो ।

तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिनुभयो । झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उनले बताए । विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा (रिपोर्ट) आउने उनले बताए । यही मङ्सिर १२ गते कचनवल र १३ गते कुमरखोदमा सेम्पल सर्भे हुनेछ ।

सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन÷तीन सय स्थानीयबासीको रगत परीक्षण गरिनेछ । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे÷नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताए ।

परीक्षणमा पाँच प्रतिशतभन्दा कम मानिसमा हात्तीपाइले रोगको जीवाणु पाइएमा जिल्लामा हात्तीपाइले रोग निवारण भएको मानिनेछ भने सोभन्दा बढी आएमा झापा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुनेछ । असफल भएमा यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा एउटा औषधि थप भई तीन वटा औषधि सेवन गर्नुपर्ने फोकल पर्सन श्रेष्ठले बताए ।

छ वर्षमा झापामा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहे पनि ११ वर्षसम्म पनि सफलता मिलेको छैन । अघिल्लो पटक झापाको दमक र झापा गाउँपालिकामा सन् २०२० मा सेम्पल सर्वेक्षण गरिएको थियो । मापदण्ड भन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान सफल घोषणा भएको थियो । 

सर्वेक्षणमा नतिजा सकारात्मक आए अभियान सफल हुने छ र माघ अन्तिममा १२ औँ पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निर्मूल भएको जिल्ला घोषणा गरिनेछ । गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए । 

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, स्वास्थ्य कार्यालय झापाका प्रमुख जागेश्वप्रसाद यादवलगायतले हात्तीपाइले रोग निवारणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप