शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागी उम्मेदवारीले गुम्यो सत्ता गठबन्धनको ७ सिट

आइतबार, ११ मङ्सिर २०७९, १९ : ३२
आइतबार, ११ मङ्सिर २०७९

सत्ता गठबन्धनले बागी व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभाका ७ सिट गुमाएको छ । बागी उम्मेदवार फिर्ता र निष्क्रिय बनाउने प्रयास असफल हुँदा ७ निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार पराजित भएको देखिन्छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले बागी उम्मेदवारी फिर्ता गराउन नसक्दा गठबन्धनमा क्षति भएको हो । त्यसमा पनि माओवादी केन्द्रलाई बढी क्षति भएको छ । बागीका कारण माओवादीले बैतडी, बारा – २ र चितवन – ३ मा गुमाएको छ ।

गठबन्धनका बागीले धनकुटा, सर्लाही– ४ र रौतहट – २ मा कांग्रेस उम्मेदवार पराजित भएको अवस्था छ । यस्तै एकीकृत समाजवादीले पनि उदयपुर – २ मा बागी उम्मेदवारका कारण हारेको छ ।

जो बागी उम्मेदवारका कारण हारे

बैतडीमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नरेन्द्र कुँवर एमालेका दामोदर भण्डारीसँग १५ सय ३१ मतले पराजित भए । भण्डारी ३३ हजार ६११ मत पाउँदा कुँवरको ३२ हजार ८० मत आएको थियो । कांग्रेसमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्दले १७ सय २८ मत पाए ।

उनी पूर्व सहायक मन्त्री तथा बैतडीको पाटन नगरपालिकाको पूर्व मेयर बनेका थिए । कांग्रेसबाट २०५३ सालको उपनिर्वाचनमा प्रतिनिधिसभा निर्वाचित चन्दका कारण माओवादीका कुँवरको संसद् प्रवेशमा ब्रेक लागेको देखिन्छ ।

उदयपुर – २ मा पनि गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका जगनाथ खतिवडाको हारमा बागी उम्मेदवारी कारक बनेको देखिन्छ । एमालेका अम्बरबहादुर रायमाझीसँग खतिवडा २३५८ मतान्तरले पराजित भए ।

रायमाझीले १५ हजार २५१ मत ल्याउँदा खतिवडाको पक्षमा १२ हजार ८९३ मत आएको छ । उदयपुर २ का कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईले १० हजार ३७९ मत पाए । राईको विद्रोहले एकीकृत समाजवादीका उपमहासचिव खतिवडा पराजित भएको देखिन्छ ।

सत्ता गठबन्धनले बागीको व्यवस्थापन गर्न नसक्दा धनकुटा पनि गुमाउन पुगेको छ । एमालेका राजेन्द्र राईसँग कांग्रेसका नेता सुनिलबहादुर थापा झिनो मतान्तरले पराजित भए । राईले ३० हजार १०१ मत पाउँदा थापाको पक्षमा २८ हजार ७०४ मत आएको छ । तर माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सांसद हेमराज भण्डारीको विद्रोहले थापा पराजित हुन पुगे । थापा १ हजार ३९७ मतले हार्दा भण्डारीले ५ हजार ९२६ मत पाएका छन् ।

सर्लाही– ४ मा कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार राय सत्ता गठबन्धनकै दुई जना बागीसँग भिडन्तमा पराजित भए । कांग्रेसका निवर्तमान सांसद अमरेशकुमार सिंह र माओवादीका मधुमालाकुमारी यादवको सामना गर्नु पर्‍यो । कांग्रेसमा विद्रोह गरेका सिंहसँग गठबन्धनका साझा उम्मेदवार राय पराजित भए ।

सिंहले २० हजार १७ मत पाउँदा कांग्रेसका राय १८ हजार २५३ मत पाए । यस्तै माओवादी केन्द्रका नेता  माओवादीका नेता शिवपुजन राय यादवकी छोरी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत पाइन् ।

रौतहट – २ मा पनि स्वतन्त्र उम्मेदवारले सत्ता गठबन्धनका साझा उम्मेदवार फिर्दोष आलमलाई पराजित गरे । सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरे पनि उनीबाट गठबन्धनको उम्मेदवारलाई सहयोग भएन ।

स्वतन्त्र उम्मेदवार किरणकुमार साह ३२ हजार ८४२ मत ल्याएर जित्दा कांग्रेसका आलमको २८ हजार २४८ मत मात्र आयो ।

बारा – २ मा कांग्रेसका बागी उम्मेदवारका कारण माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । उनी एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार जसपाका रामसहायप्रसाद यादवसँग झिनो मतले पराजित भए । यादवले १३ हजार ८२२ मत पाउँदा कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे । कांग्रेसका महाधिवेशन प्रतिनिधि रवीन्द्रप्रसाद यादवले १० हजार ७५० मत ल्याए । माओवादीका उम्मेदवार कुशवाहा  ३५४ मतले हर्दा कांग्रेसका बागी मुख्य तगारो बनेको देखिन्छ ।

चितवन – ३ मा पनि कांग्रेसका बागी उम्मेदवार सत्ता गठबन्धन साझा उम्मेदवारको जितमा बाधक बनेको देखिन्छ । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भोजराज अधिकारीविरुद्ध कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको विद्रोह गरे ।

एमालेले समर्थन गर्दा कोइरालाले १२ हजार २७५ मत पाए भने राप्रपाका विक्रम पाण्डेसँग अधिकारी ९ हजार २३३ मतान्तरले पराजित भए । एमालेले मैदान खाली गर्दा र कांग्रेसबाट बागी उम्मेदवार मैदानमा आउँदा पाण्डेले बाजी मारेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप