शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा खुम्चियो एमाले, गठबन्धनले कांग्रेसलाई फाइदा

आइतबार, ११ मङ्सिर २०७९, १६ : ३९
आइतबार, ११ मङ्सिर २०७९

२०७४ को निर्वाचनमा मोरङका ६ वटा प्रतिनिधिसभामध्ये ३ वटा र १२ वटा प्रदेशसभामध्ये ५ वटा सिट जितेको एमाले यस पटक भने प्रतिनिधिसभामा १ र प्रदेशसभामा ५ वटामा जित निकालेको छ । यता, ०७४ सालमा प्रतिनिधिसभामा १ वटा र प्रदेशमा ४ वटामा जितेको काँग्रेसले यो पटक भने प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ५ वटामा जित निकालेको छ । यता, ०७४ सालमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा २ वटा सिट जितेको माओवादी केन्द्रले यो पटक भने प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटै कायम गरेको छ ।

जनता समाजवादीले भने अघिल्लो पटक जितेको एउटा प्रदेशसभा सदस्य पनि यस पटक गुमाएको छ । उता एमाले विभाजन पछि बनेको नेकपा एसले आफूले फुट्दा सँगै लिएर गएको एउटा प्रदेशसभाको सिट पनि सुरक्षित गर्न सकेन । 

काँग्रेसले यो पटक प्रतिनिधिसभामा १, ३ र ६ नम्बर क्षेत्रमा जितेको छ । यस्तै प्रदेशसभामा ३ (१), ४ (२), ५ (१), ५ (२) र ६ (२)मा जित हात पारेको छ । एमालेले भने प्रतिनिधिसभामा क्षेत्र नम्बर २ मा जित निकालेको छ । प्रदेशसभामा भने एमालेले १ (१), १ (२), २ (२), ३ (२) र ४ (१) जितेको छ । 

प्रदेशतर्फ एमाले र माओवादीले २०७४ निर्वाचनमा जितेको सिट संख्या सुरक्षित गरेको छ । काँग्रेसको एक सिट बढाउँदा जनता समाजवादी पार्टी (जसपा) ले विगतमा जितेको एक सिट पनि गुमाएको छ । एमालेबाट विभाजन भएर गएको एकीकृत समाजवादी पार्टीले यस चुनावमा मोरङबाट खाता खोल्न सकेन । मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा  एमालेले ५, काँग्रेसले ५ र माओवादीले २ सिट हात पारेका छन् । 

मोरङ क्षेत्र नम्बर १ बाट काँग्रेसका डिकबहादुर लिम्बू विजयी भएका छन् । उनले यसअघिका प्रतिस्पर्धी घनश्याम खतिवडालाई पराजित गरेका हुन् । लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउँदा एमालेका खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याए । अन्तिम समयमा लिम्बूले अग्रता लिएर विजय भएका हुन् । 

मोरङ क्षेत्र नं. २ बाट एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा विजयी भएका छन् । उनले ३३ हजार १४८ मत ल्याए । उनका प्रतिस्पर्धी काँग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४० मत पाइन् । 

पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतान्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत मतान्तरले पछि पार्दै शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका छन् । तेस्रो भएकी रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् ।  

मोरङ ४ मा माओवादीले दोहो¥याउन सफल भएको छ । यस क्षेत्रबाट माओवादी केन्द्रका अमनलाल नेकपा एमालेका नेता विनोद ढकाललाई पराजित गरेका हुन् । मोदीले ३० हजार ६१२ मत ल्याए विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ढकालले २४ हजार ४६३ मत पाए । 

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएका योगेन्द्र मण्डल जोगीले मोरङ क्षेत्र नंं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाका उम्मेदवार राजकुमार यादवलाई पछि पार्दै जोगी विजयी भएका हुन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी माओवादीका मण्डलले १७ हजार ४८६ र तेस्रो भएका जसपाका यादवले १७ हजार ३९० मत पाए । 

मोरङ ६ बाट काँग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । उनले फराकिलो मतान्तरले एमालेका नेता लालबाबु पण्डितलाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । कोइरालाले ३५ हजार २२४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पण्डितले २२ हजार ९४६ मत पाए । मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ५, काँग्रेसले ५ र माओवादीले २ सिट हात पारेको छ । 

मोरङ क्षेत्र नं. १(१)मा एमालेका उमाकान्त गौतम प्रदेशसभामा विजयी भएका छन् । उनले १३ हजार ५३१ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी २०७४ मा विजयी भएका माओवादी केन्द्रका कुलबहादुर साम्बाले १० हजार ४ मत पाए ।

सोही निर्वाचन क्षत्रेको १(२) मा एमालेकै खड्ग बहादुर बस्नेत विजयी भए । बस्नेतले प्रदेश १ का यातायत तथा संचारमन्त्री तथा एकीकृत समाजवादीका नेता उपेन्द्र घिमिरेलाई पराजित गरेका हुन् । जिल्ला समन्वय समितिको पूर्व सभापति रहेका बस्नेतले १४ हजार ५३९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १३ हजार ८६३ मत पाए । 

मोरङ क्षेत्र नं. २(१) मा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती सुशिल प्रदेशसभामा विजयी भएका छन् । उनले १४ हजार ९३३ मत पाए । उनका प्रतिस्पर्धी एमालेका दानबहादुर कार्कीले १४ हजार ६७८ मत ल्याए ।

सोही निर्वाचन क्षेत्रको २ (२) मा एमालेका लिलाबल्लभ अधिकारीले १७ हजार ७५२ मत ल्याएर प्रदेशसभामा विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका विनोद कार्कीले १४ हजार ९५२ मत ल्याए ।  मोरङ क्षेत्र नं. ३(१) मा काँग्रेसका मान बहादुर लिम्बू १९ हजार ७४९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिलीप कुमार राईले १४ हजार ८१७ मत पाए । सोही निर्वाचन क्षेत्रको ३ (२) मा एमालेका ज्ञानेन्द्र सुवेदीले १७ हजार ४२८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका लक्ष्मी कुमार श्रेष्ठले १५ हजार ३५८ मत ल्याए । 

मोरङ क्षेत्र नं. ४ (१) मा एमालेका जयप्रकाश चौधरीले १५ हजार ४६५ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका गुरुराज घिमिरले १५ हजार ५१ मत पाए । सोही निर्वाचन क्षेत्रको ४(२) मा विराटनगर महानगरपालिका पूर्व मेयर तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली विजयी भएका छन् । पराजुलीले १५ हजार ४६५ मत ल्याएर प्रदेश सभामा विजयी हुँदा उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६९९ मत पाए । 

मोरङ क्षेत्र नं. ५(१) मा काँग्रेसका गयानन्द मण्डलले १४ हजार ८४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सन्तोष साहले ९ हजार ४०२ मत ल्याएका छन् । 

सोही निर्वाचन क्षेत्रको ५(२) मा काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले १६ हजार १ सय २ मत ल्याएर विजयी भएका छन् । उनले प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई पराजित गरेका हुन् । यादवले १० हजार ८२४ मत पाए । २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट यादव विजयी भएका थिए । 

मोरङ क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जीवन आचार्यले १९ हजार ४५४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी रीता न्यौपानेले १७ हजार ५७१ मत ल्याएका छन् । सोही निर्वाचन क्षेत्रको ६(२) बाट प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री  केदार कार्की विजयी भएका छन् । उनले १० हजार ४३१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण बस्नेत (पर्शुराम बस्नेत)ले ९ हजार २५५ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप