शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित २४ सांसद

आइतबार, ११ मङ्सिर २०७९, ११ : ५३
आइतबार, ११ मङ्सिर २०७९

कर्णाली प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ २४ वटै निर्वाचित क्षेत्रको मतगणना परिणाम अनुसार एमालेले ५ सिटमा उपस्थिति जनाउँदा एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले भने अस्तित्व रक्षा गर्न सकेन । प्रतिनिधिसभातर्फ एमालेले सोही नियति भोगिरहेको छ ।

०७४ को निर्वाचनमा कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ जम्मा १ सिट जितेर सरकारको नेतृत्वमा पुग्न सफल कांग्रेसलाई यो पटक गठबन्धनको सहयोगले फाइदा मिलेको छ । तथापि आन्तरिक कारणले सुर्खेत २ (क) र जुम्ला (क) मा कांग्रेसले पराजय भोग्नुप¥यो । जुम्लामा त कांग्रेसकै बागीले चुनाव जिते ।

अघिल्लो निर्वाचनमा १४ सिट जितेको एमाले अहिले पाँच सिटमा खुम्चिएको छ । उसले जितेका पाँच सिटमध्ये दुई सिटमा कांग्रेस, दुई सिटमा नेकपा एकीकृत समाजवादी र एक सिटमा माओवादी केन्द्रलाई पराजित गरेको हो । यी पाँचै सिटमा सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार उम्मेदवारी दिइएको थियो ।

यता ०७४ को निर्वाचनमा ९ सिट जितेको माओवादीलाई गठबन्धनले न घाटा, न त फाइदा नै भयो । माओवादी केन्द्रले अहिले पनि ९ सिटमै जित हासिल गरेको छ ।

यी हुन् प्रदेशसभा सदस्य पदमा विजयी भएकाहरु

जुम्लामा नयाँको उदय, पुराना विस्थापित

प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रदेश (क) बाट स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गर्ने उनी कांग्रेसको संस्थापन इतर पक्षधर नेता हुन् । उनी ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादीका गजेन्द्र महतसँग पराजित भएका थिए । देवेन्द्र जुम्लामा कांग्रेसभित्र पुराना र अनुभवी नेताका रुपमा चिनिन्छन् ।

जुम्ला (ख) मा प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता पदमबहादुर रोकायलाई पराजित गर्दै एमालेका युवा नेता टेकराज पछाई विजयी भए । पछाई युवाबीच लोकप्रिय छन् । ०७४ मा यही क्षेत्रबाट चुनाव जितेका रोकाय एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेर मन्त्री बनेका थिए ।

सल्यानमा माओवादीका भीमप्रकाश र कांग्रेसका सुरेश

सल्यान (क) बाट प्रदेशसभा चुनाव जितेका माओवादी नेता भिमप्रकाश शर्मा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएर निर्वाचित भएका हुन् । २२ हजार २४३ मतसहित विजयी भएका उनले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे । शर्मा यसअघि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा रहेर काम गरेका थिए ।

प्रदेश निर्वाचन क्षेत्र (ख) बाट कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए । उनी यसअघि पाँच वर्ष पालिका प्रमुख भएर काम गरिसकेका नेता हुन् । एमालेबाट मुख्यमन्त्रीका दाबेदार मानिएका गुलाबजंग शाहलाई पराजित गर्दै अधिकारीले संसदको यात्रा तय गरे । अधिकारीले २० हजार ४०८ मत पाउँदा एमालेका प्रदेश सह–इञ्चार्ज शाहले १६ हजार ६२८ मत पाए । ०७४ मा प्रदेश (क) बाट चुनाव जितेका शाह अहिले (ख) बाट उम्मेदवार बनेका थिए । तथापि उनी पराजित हुन पुगे ।

जाजरकोटका दुवै क्षेत्रमा कांग्रेस

जाजरकोट माओवादीको राम्रै जनाधार भएको जिल्ला हो तर सत्ता गठबन्धनबीचको भागबण्डामा प्रतिनिधिसभातर्फ माओवादीले उम्मेदवारी पाउँदा प्रदेशतर्फ दुवै क्षेत्र कांग्रेसले लियो ।

प्रदेशसभा क्षेत्र (क) बाट कांग्रेसका जिल्ला सभापति बेदराज सिंह १८ हजार ५४३ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गरे । यहाँ सत्ता गठबन्धनभित्रकै दल नेकपा एकीकृत समाजवादीले स्वतन्त्र उम्मेदवारी दिएको थियो । स्वतन्त्रका उम्मेदवार कमानबहादुर खड्काले ४ हजार ४४६ मत प्राप्त गर्दा राप्रपा चौथो स्थानमा छ । प्रदेशसभा सदस्यमा निर्वाचित भएका सिंहको यो पहिलो संसदीय यात्रा हो । यहाँ ०७४ मा माओवादीबाट गणेश सिंहले जितेका थिए । अहिले सिंहकै सहयोगमा बेदराज निर्वाचित भएका हुन् ।

प्रदेश (ख) मा कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार राजीवबिक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका खिमबहादुर शाहले १० हजार ५३० मत प्राप्त गरे । शाह प्रतिनिधिसभातर्फ उम्मेदवार बन्न चाहेका भए पनि मुख्यमन्त्री बन्ने अपेक्षाले प्रदेशमा झरेका हुन् ।

दैलेखमा जोगायो एमालेले बिउ
प्रदेशसभातर्फ दैलेखका चारमध्ये तीन सिटमा कांग्रेस र एक सिटमा एमालेले जितेको छ । १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्रीले पूर्व माओवादीसमेत रहेका एमाले उम्मेदवार धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गरे । खत्रीे ९ हजार ४६४ मतसहित निर्वाचित हुँदा रेग्मीले ८ हजार ७२ मत पाए । रेग्मीले ०७४ मा सोही क्षेत्रबाट चुनाव जितेका थिए तर त्यतिबेला उनी माओवादी केन्द्रमा थिए । १ (ख) मा कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण विसी दोस्रो प्रयासमा चुनाव जित्न सफल भए । ०७४ मा पराजित उनी यो पटक गठबन्धनको बलमा १० हजार ५४५ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले ९ हजार ४७१ मत पाउँदा राप्रपा तेस्रो स्थानमा छ ।

यस्तै, २ (क) मा कांग्रेसका युवा नेता घनश्याम भण्डारी विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका तिलकप्रसाद रिजाललाई १ हजार ३०५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । भण्डारीले १० हजार ८०० मत प्राप्त गर्दा रिजालले ९ हजार ४९५ मत पाए । २ (ख) मा भने गठबन्धनतर्फबाट उम्मेदवार बनेका माओवादीका योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गर्दै एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाह निर्वाचित भए । ९ हजार ४६४ मतसहित शाह निर्वाचित हुँदा माओवादीका शाही ९ हजार ३८१ मतमा सीमित रहे ।

सुर्खेतमा एमालेलाई केही क्षति, माओवादी यथास्थितिमा

सुर्खेतमा ०७४ मा माओवादी र एमालेले २÷२ सिट जितेका थिए । तर यो पटक माओवादी दुई सिटमै सीमित हुँदा कांग्रेसले एउटा सिटमा जित हासिल ग¥यो । १ (क) मा कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरलेले एमालेबाट उम्मेदवार बनेका पूर्व माओवादी ठम्मरबहादुर विष्टलाई ३ हजार ७५ मतान्तरले पराजित गरे । उनको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गरे । विष्ट सोही निर्वाचन क्षेत्रबाट ०७४ मा माओवादीबाट चुनाव जितेका थिए । मन्त्री बन्न नपाएको झोकमा उनी गत चैतमा एमाले प्रवेश गरेका थिए ।

१ (ख) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भए । एमालेका डण्डीप्रसाद शर्मालाई उनले ४ हजार १९६ मतान्तरले पराजित गरे । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

क्षेत्र २ (क) मा एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले आफ्नो विरासत गुम्न दिएनन् । ०४८ साल यताका निर्वाचनमा यही क्षेत्रबाट चुनाव लड्दै आएका उनले गठबन्धनतर्फबाट कांग्रेसका कालिप्रसाद शाक्यलाई पराजित गरे । १८ हजार ५६१ मतसहित निर्वाचित भएका कँडेल ०७४ मा पनि यही क्षेत्रबाट विजयी भएका थिए । उनी एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन् । यहाँ गठबन्धनभित्र नेकपा एकीकृत समाजवादी इमानदार नभएको र कांग्रेसभित्रकै कलहका कारण कांग्रेस पराजित हुन परेको सो पार्टीका कार्यकर्ताको बुझाइ छ ।

२ (ख) मा भने पूर्व अर्थमन्त्री समेत रहेका माओवादीका युवा नेता विन्दमान विष्टले जिते । ०७४ मा माओवादीकै सपोर्टमा चुनाव जितेका उनले अहिले कांग्रेसको सपोर्टमा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरे । खसेको ३१ हजार ६८२ मतमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ भने एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्टविरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरे ।

कालिकोटमा गठबन्धनको साथमा कांग्रेसको पुनरागमन

शान्ति प्रक्रियापछि माओवादीको वर्चश्व रहेको कालिकोटमा यो पटक कांग्रेसले सांसद पाएको छ । कालिकोट (ख) मा कांग्रेसका हिक्मत विष्टले माओवादीको सहयोगमा जित हासिल गरेका हुन् । उनले ७ हजार ९४४ मतान्तरले एमालेका वीरेन्द्र बोगटीलाई पराजित गरे । विष्ट कालिकोट कांग्रेसमा पुराना नेता हुन् ।

नेमकिपाको राजनीतिबाट आएका विष्ट ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका भए पनि पराजित भएका थिए ।

(क) मा माओवादीका दुर्गबहादुर रावतले एमालेका कुर्मराज शाहीलाई १ हजार ५९ मतान्तरले पराजित गरे । कुर्मराज ०७४ मा सोही क्षेत्रमा एमालेबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

डोल्पामा कांग्रेसलाई एमालेको ‘च्यालेञ्ज’

हिमाली जिल्ला डोल्पा (क) मा एमालेका शेरबहादुर बुढाले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपेन्द्रबहादुर शाहीलाई पराजित गरे । ४ हजार ७ सय ४३ मतसहित बुढा निर्वाचित हुँदा कांग्रेसका शाहीले २ हजार ४६५ मत पाए ।  एमालेका युवा नेता बुढाको यो पहिलो संसद यात्रा हो ।

(ख) मा भने माओवादीले आफ्नो सिट यथावत राख्यो । प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः निर्वाचित भए । ५ हजार २९५ मतसहित दोस्रो पटक निर्वाचित भएका उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे ।

हुम्लामा एमाले आउट

हुम्लामा यो पटक एमाले शून्य भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । (क) मा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । यहाँ एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गरेका थिए । निर्वाचित रणसिंह कर्णालीमा प्रत्यक्षतर्फ निर्वाचित एकमात्र दलित सांसद बनेका छन् ।

(ख) मा भने मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन् । ४ हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका उनले ७ हजार ५६ मत पाए । शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लामाले २ हजार ९७९ मत प्राप्त गरे । ०७४ को निर्वाचनमा लामा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए ।

रुकुममा माओवादीको एकाधिकार

रुकुम पश्चिममा दुवै क्षेत्रमा पुनः माओवादीले वर्चश्व जमाएको छ । २९ हजार ५४३ मत खसेको (क) मा माओवादी केन्द्रका महेन्द्र केसी १९ हजार ३३ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका नारायणकुमार शाह १० हजार ९९५‌ मतान्तरले पराजित भए । शाहले ८ हजार ८१ मत पाए ।

यता (ख) मा माओवादीकै राजकुमार शर्मा १२ हजार ८२ मतान्तरले विजयी भए । शर्माले २० हजार १६० मत पाउँदा नेकपा एमालेका कर्ण बहादुर घर्ती मगरले ८ हजार ७८ मत पाए । निर्वाचित शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् ।

मुगुमा गठबन्धनका बाबजुद नेकपा एकीकृत समाजवादी पराजित

मुगु (क) मा गठबन्धनलाई पराजित गर्दै एमालेका जितबहादुर मल्लले जित निकाले । गठबन्धनबाट यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएको थियो । यहाँ समाजवादीले पूर्व सांसद गोपाल बहादुर बमलाई उम्मेदवार बनाएको थियो । तर १ हजार ७३ मतान्तरले उनी पराजित भए । मल्ल ६ हजार ६१८ मतसहित निर्वाचित हुँदा समाजवादीका बमको पक्षमा ५ हजार ४४५ मत  आयो ।

निर्वाचित मल्ल एमालेका मुगु जिल्ला अध्यक्ष हुन् भने पराजित बम यसअघि ०७४ मा एमालेबाट प्रतिनिधिसभा चुनाव जितेका थिए । मुगु प्रदेशसभा (ख) माओवादी केन्द्रका युवा नेता मंगलबहादुर शाही विजयी भए । ८ हजार ४२९ मत ल्याएर विजयी भएका उनले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् । शाही माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत हुन् । 

यी हुन् माओवादीबाट प्रदेशसभा सदस्यमा विजयी भएकाहरु

सुर्खेत १ (ख) कृष्ण जिसी

सुर्खेत २ (ख) विन्दमान विष्ट

सल्यान (क) भिमप्रकाश शर्मा

रुकुम (क) महेन्द्र केसी

रुकुम (ख) राजकुमार शर्मा

कालिकोट (क) दुर्गबहादुर रावत

हुम्ला (क) रणसिंह परियार

मुगु (ख) मंगल शाही

डोल्पा (ख) वीरहादुर शाही

कांग्रेसबाट प्रदेशसभा सदस्यमा विजयी भएकाहरु

सुर्खेत (क) खड्ग पोखरेल

जाजरकोट (क) वेदराज सिंह

जाजरकोट (ख) राजीवविक्रम शाह

सल्यान (ख) सुरेश अधिकारी

दैलेख १ (क) पुर्णबहादुर खत्री

दैलेख १ (ख) कृष्ण विसी

दैलेख २ (क) घनश्याम भण्डारी

हुम्ला (ख) जीवनबहादुर शाही

कालिकोट (ख) हिक्मत बहादुर विष्ट

एमालेबाट प्रदेशसभा सदस्यमा विजयीहरु

सुर्खेत २ (क) यामलाल कँडेल

दैलेख २ (ख) विनोद कुमार शाह

जुम्ला (ख) टेकराज पछाई

डोल्पा (क) शेरबहादुर बुढा

मुगु (क) जीतबहादुर मल्ल

स्वतन्त्र

१ जुम्ला (क) देवेन्द्र बहादुर शाही 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप