मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सत्ता गठबन्धन निरीह

आइतबार, ११ मङ्सिर २०७९, ०९ : ४९
आइतबार, ११ मङ्सिर २०७९

प्रतिनिधि सभातर्फ पाँच र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच दलीय सत्तारुढ गठबन्धन निरीह देखिएको छ । प्रतिनिधि सभातर्फ क्नि स्वीप भएको सत्ता गठबन्धनले प्रदेशसभातर्फ भने केही सिट जित्न सफल भयो ।

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. १, २ र ५ मा एमाले विजयी भएको छ भने क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । 

प्रतिनिधि सभा र प्रदेश सभा गरी १५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधि सभामा कोही पनि निर्वाचित हुन सकेनन् । क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित भए । क्षेत्र नं. ३ मा बिजयी हासिल गरेका बोहोरा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हुन् ।

१० वटा प्रदेशसभाका क्षेत्रमध्ये बहुमत क्षेत्र जितेर एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेले रुपन्देही क्षेत्र नं. १ (१), क्षेत्र नं. २ (१), २ (२), क्षेत्र नं. ३ (२) र क्षेत्र नं. ५ (१) मा गरी पाँच क्षेत्रमा जित हासिल गरेको छ ।

सत्ता गठबन्धबाट नेपाली काँग्रेसले क्षेत्र नं. १ (२), क्षेत्र नं. ३ (१) र ४ (२) गरी तीन क्षेत्रमा विजय हासिल गरेको छ । त्यस्तै लोसपाले क्षेत्र नं. ४ (१) र जनमत पार्टीले क्षेत्र नं. ५ (२) मा जित हात पारेका छन् ।

रुपन्देहीमा सत्ता गठबन्धन यसरी कमजोर बन्नुलाई विभिन्न कोणबाट बिश्लेषण गरिएको छ । मुख्यत उम्मेदवार छनौट गर्दा ध्यान नपुर्याइएको र गठबन्धनका दलले एकअर्कोलाई इमान्दारितापूर्वक मत नहालेर अन्य पार्टीमा मत ट्रान्सफर भएको विश्लेषण गरिएको छ । निकै महत्वका साथ हेरिएको रुपन्देही  क्षेत्र नं. २ मा एमालेका प्रतिनधि सभा सदस्य पदका उम्मेदवार बिष्णु पौडेलसंग प्रतिस्पर्धा गर्ने उम्मेदवार नहुँदा गठबन्धनको अवस्था नाजुक बनेको हो । 

गठबन्धनको तर्फबाट उम्मेदवार बनाइएका एकीकृत समाजबादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धन अप्ठेरोमा परेको हो । आफ्नै उम्मेदवार नभएपछि गठबन्धनका दलले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापा (सुर्यवंशी) लाई समर्थन गर्ने निर्णय लिएपनि गठबन्धनको भोट थापालाई गएन । गठबन्धन दलका धेरै भोट ट्रान्फर भएर स्वतन्त्र पार्टीको घन्टीलाई गएपछि गठबन्धनले समर्थन गरेका उम्मेदवार थापा तोस्रो स्थानमा पुग्न बाध्य भए ।

गुरुङको उम्मेदवारी खारेज भएपछि यस क्षेत्रको कांग्रेसले असन्तुष्टि जनाइरहेको थियो । बुटवलका एक कांग्रेस नेताले भने, ‘यदि कांग्रेसको उम्मेदवार भएको भए क्षेत्र नंं. २ मा यसपटक गठबन्धनको जीत निश्चत थियो तर उम्मेदवार छनौट गर्दा केन्द्रबाटै हस्तक्षेप गरियो, त्यो नै दुर्भाग्य भयो ।’ 

स्थानीय तहको निर्वाचनको मत अनुसार एमालेको भन्दा सत्ता गठबन्धनको मत झण्डै १० हजारले बढी थियो । तर उम्मेदवारनै नभएपछि सक्ता गठबन्धन निरिह बन्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप