बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भीम आचार्यको चौथो संसदीय यात्रा

शनिबार, १० मङ्सिर २०७९, २३ : २०
शनिबार, १० मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी भएका छन् । प्रदेश नं १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मत ल्याएर फराकिलो अन्तरले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याए ।

यस्तै प्रदेशसभा २ मा एमालेकै रामप्रसाद महतो १८ हजार एक सय ९१ मतसहित विजयी भएका छन् ।  कांग्रेसका राजीव कोइरालाले १७ हजार छ सय ३६ मतमात्रै पाए । प्रदेशसभा १ मा एमालेकै रेवती भण्डारी विजयी भएका छन् ।

भीम आचार्यको संसदीय यात्रा

विसं २०५१ यता एमालेबाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं २ को टिकट लिएका थिए । सुनसरीको इनरुवा–६ (साविक मधेसा गाविस–९) का स्थायी बासिन्दासमेत रहेका आचार्य विसं २०५१ र २०५६ मा सुनसरी–४ बाट संसदीय यात्रा गर्दा पराजय भोगेका थिए । 

वि.सं २०६४ र २०७० मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले विजय हासिल गरेका थिए । पहिलोपटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक भएर पार्टीमा बलियो भए । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भए ।

त्यसपछि प्रदेश नं १ को मुख्यमन्त्री बन्न चाहेका आचार्यले २०७४ सुनसरी–१ प्रदेशसभा २ बाट विजयी भए । तर संसदीय दलको नेताको निर्वाचनमा हार व्यहोरे । एमालेमा माधवकुमार नेपाल निकट मानिने आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसेर पार्टी संरक्षणमा लागे । त्यसलगत्तै उनलाई पार्टीले मुख्यमन्त्री बनाएको थियो । 

विसं २०१६ मा धनकुटामा जन्मिएका आचार्यले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय राजनीतिमा अब्बल आचार्य विभिन्न देशका विकासका मोडल अध्ययन र अवलोकन गरेका छन् । 

उनले विसं २०३२ देखि विद्यार्थी आन्दोलनमा  । विसं २०३९ मा अनेरास्ववियुको नेतृत्व तहमा पुगेर काम गरेका थिए । विसं २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल पनि परे । २०४६ को जनआन्दोलनमा उनी नेकपा (माले) को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भएपछि उनी पार्टी राजनीतिमा उदाएका थिए ।

विसं २०४७ मा एमाले गठन भएपछि उनी सुनसरी जिल्ला कमिटी सचिव भए । पार्टीमा सक्रिय उनी २०५४ मा पार्टीको केन्द्रीय सदस्य बन्न सफल भए । विसं २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ मा कोसी अञ्चल इन्चार्ज र प्रदेश स्थापना भएपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी पाए । नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप