बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् प्रवेशनिकट समलिङ्गी गोमा

शनिबार, १० मङ्सिर २०७९, १५ : ४४
शनिबार, १० मङ्सिर २०७९

सुनसरीको धरानलाई आफ्नो घर बनाएकी गोमा तामाङ आफूलाई सगौरव समलिङ्गी बताउँछिन् । सर्लाहीको मोतिहारमा २०३० मंसिर १ गते जन्मिएकी तामाङको पहिले श्रीमान् थिए, अहिले उनकी श्रीमती छन् । उनले तत्कालीन श्रीमान्सँग सम्बन्धविच्छेद गरेर अहिले धरानमा श्रीमतीको रूपमा देवी कार्कीसँग विवाह गरेकी हुन् । 

उनै गोमा तामाङ सुनसरीको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी छन् । मतगणनामा उनी अहिले शीर्ष स्थानमा छिन् । तामाङले १० हजार ७६४ मत ल्याउँदा दोस्रो स्थानमा रहेको जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राईले ९ हजार ५५६ मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धनका उम्मेदवार माओवादीका मुक्साहाङ मेन्याङ्वो ८ हजार १२६ मत ल्याएर तेस्रो स्थान बनाएका छन् । 

‘म चुनावमा जित्छु र सांसद बन्छु भन्ने त सोचेको पनि थिइनँ । तर अब हेर्दाहेर्दै प्रतिनिधिसभाको सदस्य पनि हुन लागियो (हाहा...),’ हाँस्दै धरानका प्रमुखमा यसअघि विजयी भएका हर्क साम्पाङकै लयमा उनले भनिन्, ‘मेरो भाग्यले जुराएको हो भन्छु म । धरानमा आएर राजनीति गर्छु भन्ने मनसाय नै थिएन । तर, विकृति विसङ्गतिको विरुद्धमा खरो बोल्थेँ । माटोको माग रहेछ भनेर बुझ्दछु ।’ 

इजरायलमा रहँदा पनि तामाङ वैदेशिक रोजगारीका क्रममा बेचिएका चेलीबेटी तथा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका मानिसहरूको उद्धारमा सहयोग गर्थिन् । 

उनलाई त्यतिबेलासम्म पनि राजनीतिक क्षेत्रमा आइपुग्छु भन्ने नै लागेको थिएन । उनी यसलाई ‘भाग्यले जुराएको राजनीतिक यात्रा’ भन्न रुचाउँछिन् । ‘नेताले १४ वर्ष जेल बसेको यति वर्ष जेल बसेको भनेर आफ्ना कुरा गर्छन् । तर, म चाहिँ १४ वर्ष इजरायल बसेर श्रम गरेँ, मजदुर भएर काम गरेँ । धेरै नेपालीलाई समस्यामा पर्दा बोल्ने काम गरेँ भन्छु,’ उनी भन्छिन् ।

उनको रवि लामिछानेसँगको सहकार्य पनि इजरायलमा हुँदादेखि नै भएको हो । प्रधानमन्त्रीसँग जनता भन्ने कार्यक्रम चलाउन सुरु गरेपछि नै लामिछानेसँग आफ्नो सहकार्य सुरु भएको उनी बताउँछिन् । ‘मेरो बानी हुलमुलमा दौडिहाल्ने आफ्नो स्वार्थ लिई हाल्ने खालको छैन । तर, पछिल्लो समय चुनावमा उठ्नुपर्छ भनेर साथी भाइले कुरा गरेपछि ट्राई गर्दा के होला र भन्ने लागेर चुनावमा उठेको हो,’ उनी भन्छिन् । 

२ वर्ष अगाडि नेपाल आएर कोभिड महामारीको बेलामा पनि गरिब र दिन दुःखीको सेवा गरेको उनी बताउँछिन् । अधिकांश सामाजिक सञ्जालमा आइरहने उनको पारिवारिक जीवन भने अलिक बेग्लै छ । केही समय अगाडि उनी उनको श्रीमान् पनि थिए । त्यता डिभोर्स दिएर बसेकी उनले अहिले समलिङ्गी विवाह गरेका छन् । ‘डिभोर्सपछि देवी कार्कीसँग विवाह गरेर बसेको छु । राज्यले मेरो विवाहलाई कानुनी मान्यता दिएको छैन । तर, समाजले एसेप्ट गरेको छ । मेरो बुढी छ,’ उनी भन्छिन् । 

उनको पहिलो श्रीमान् पट्टीको २९ वर्षको छोरा र २७ वर्षकी छोरी पनि छिन् । यता देवी कार्की पट्टीको पनि एउटा छोरी रहेको उनले सुनाइन् । ‘समग्रमा हाम्रो दुईवटा छोरी र एउटा छोरा छ,’ उनले भनिन् । ‘धरान मेरो घर हो । माइत अब छैन । ससुराली चाहिँ छ । (हाहा...)’ धरान–११ मा घर भएका उनले सुनाइन् । 

यसअघि ब्लुडाइमन्ड सोसाइटीबाट सुनिलबाबु पन्त नेपालको सभासद् बनेका थिए । गोमाले यसपटक चुनाव जितिन् भने नयाँ इतिहास बनाउने छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप