विराटनगरमा फुटपाथ खाली गर्ने र टहरा भत्काउने अभियान सुरु
विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रुपमा प्रस्तुत भएको छ ।
सो अभियान विराटनगरको मेनरोडबाट सुरु गरिएको छ । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । पसलको सटरभन्दा बाहिर सामग्री नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाइएको छ ।
अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ । “विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौँ”, प्रमुख नागेश कोइरालाले भने, “हामीले दुई–दुईपटक सार्वजनिकरुपमै सूचना प्रकाशित गरेका थियौँ । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीको पनि कर्तव्य हो । उहाँहरुलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।”
यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । व्यापारीले सामान हटाउनका लागि केही दिन समय दिन पनि महानगरसित आग्रह गरेका छन् । “महानगरको यो अभियान एकदमै राम्रो छ, तर कसैका सामान हटाउने र कसैका नहटाउने गर्नुहुँदैन । नियम सबैलाई समान हुनुपर्छ”, स्थानीय व्यापारी शङ्कर साहले भने, “सामान हटाउन केही समय पनि दिनुपर्छ ।”
नगर प्रहरी निरीक्षक पौडेलका अनुसार पहिलो पटकका लागि महानगर प्रहरी आफैँले सामानभित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ । महानगरले दुईपटक सार्वजनिकरुपमै सूचना प्रकाशित गरेको र माइकिङ गरेर हटाउन आग्रह गर्दा पनि अटेर गरेका कारण हटाउन सुरु गरिएको पौडेलले जानकारी दिए ।
नगर प्रहरीले नियन्त्रणमा लिएका सामान वीरेन्द्रसभा गृह छेउमा रहेको इको पार्कमा लगेर राख्ने गरेको छ । नियन्त्रणमा लिएका सामान व्यापारीले जरिवाना तिरेर लिएर जाने गरेका छन् । महानगरको अभियानमा साथ दिने खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमारसिंह मण्डलले बताए । उनले अभियान सही छ, यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा