आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

यी हुन् प्रदेश १ बाट संकटमा परेका चर्चित नेता

शुक्रबार, ०९ मङ्सिर २०७९, २० : २५
शुक्रबार, ०९ मङ्सिर २०७९

संघीय संसदको २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा कतिपय ठुला र राष्ट्रिय राजनीतिमा चर्चा कमाएका नेता पराजित भएका छन् । इलामबाट झलनाथ खनाल पराजित हुने सङ्केत होस् या कांग्रेसका चर्चित नेता कृष्णप्रसाद सिटौलाको हार होस् । अहिलेको निर्वाचनमा नयाँ र फ्रेस उम्मेदवारहरूले उनीहरूलाई पराजित गरेका छन् ।

पाँचथरबाट एमालेका वसन्तकुमार नेम्वाङ विजयी हुँदा कांग्रेसका नेता भीष्मराज आङ्देम्बे पराजित भए । नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङदेम्बेले ३२ हजार ०६३ मत पाएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम–१ बाट पराजय व्यहोर्ने निश्चितजस्तै बनेको छ । यो समाचार तयार पार्दासम्म उनी एमालेका महेश बस्नेतसँग २ हजार २१८ मतले पछाडि छन् । उनले १५ हजार १६३ मत ल्याउँदा खनालले १२ हजार ९४५ मत पाएका छन् ।

उता, झापा–१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी बन्दा एमालेका अग्नि खरेल पराजित भएका छन् । खरेल पनि राष्ट्रिय राजनीतिमा प्रभाकारी भूमिका खेल्न सक्ने व्यक्ति हुन् ।

यस्तै झापा–३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला भारी मतले पराजित भए । उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरे । ०६२÷०६३ सालको जनआन्दोलनको सूत्रधार तथा शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका सिटौलाले संसदीय राजनीतिको अन्तिम मौका पनि यस पटक गुमाएका छन् ।

यस्तै सङ्खुवासभाबाट नेपाली कांग्रेसका नेता दीपक खड्कासँग पराजित भएका एमाले नेता राजेन्द्र प्रसाद गौतम पनि राष्ट्रिय राजनीतिमा चिनिएको नाम हो । अघिल्लो पटक वाम गठबन्धनबाट निर्वाचन जितेका उनी सोही वाम घटकको असहयोगका कारण यस पटक पराजित भए । हैसियत भएर पनि मन्त्री बन्न नपाएका उनको संसदीय राजनीतिको यात्रा ५ वर्षका लागि टुंगिएको छ ।

यस्तै कुनै बेला सबैभन्दा कम उमेरमा संसद्मा छिर्ने नेताको रूपमा उदाएका एमाले नेता शेरधन राई पनि यस पटकको संसदीय निर्वाचनमा पराजित हुन पुगे । उनलाई नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पराजित गरे । निर्वाचनमा राष्ट्रिय नेताको छवि बनाएको र मन्त्री हुने हैसियत राख्ने नेतालाई जिताउनु पर्ने बताउने राईको विचारलाई भने त्यहाँका जनताले नै बेवास्ता गर्दै किराँतीलाई जिताएका छन् ।

उता, पटकपटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाका छोरा सुनिल थापाको चुनावी प्रतिस्पर्धालाई पनि धेरैले चासो राखेका थिए । थापाले चुनावी अभियानमा वीपी कोइरालाको फोटो राखेर आफ्नै बुबा सूर्यबहादुर थापाको योगदानको चर्चा गर्दथे । कांग्रेस र विपीको विचार मन पराएर भन्दा पनि धनकुटाबाट निर्वाचन जित्नकै लागि कांग्रेस प्रवेश गरेका उनका लागि एमाले नेता राजेन्द्रकुमार राई यस पटक पनि अवरोधक बने । एमाले नेता राई मात्रै होइन, माओवादीका नेता हेमराज भण्डारीले बागी उम्मेदवारी दिएकै कारण उनले हार व्यहोर्नु पर्‍यो । धनकुटाको मात्रै होइन देशकै राजनीतिको बागडोर समाल्ने सूर्य थापाको परिवार र उनको विरासतलाई थाम्न सुनिल थापाले यस पटक पनि सकेनन् । यो हारले अबको ५ वर्षपछि हुने निर्वाचनमा पनि उनै थापाले धनकुटामा पुनः प्रतिस्पर्धा गर्ने सम्भावना भन्दा उनको राजनीतिमा बिराम लाग्ने सम्भावना बढी देखिन्छ ।

निर्वाचनमा हार व्यहोर्न सक्ने अर्को राष्ट्रिय व्यक्तित्वको नाम हो सुजाता कोइराला । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाई एमाले नेता ऋषिकेश पोखरेलले पराजित गर्ने छाँट देखिएको छ । हालसम्म कोइरालाले ३० हजार २०२ मत ल्याउँदा पोखरेलले ३१ हजार ३६४ मत ल्याएका छन् ।

यता, मोरङको ३ नम्बर क्षेत्रबाट अघिल्लो पटकको हारको बदला लिँदै कांग्रेसबाट डाक्टर सुनिल शर्माले अत्यधिक मत ल्याउँदा एमाले नेता भानुभक्त ढकाल भने पराजित हुने निश्चित छ । अघिल्लो निर्वाचनमा करिब १९ सय मतले पराजित शर्माले यस पटक उनै ढकाललाई १९ हजारभन्दा बढी मतअन्तरले पराजित गर्ने देखिन्छ ।

केपी ओली नेतृत्वको सरकारको पालामा विभिन्न काण्डै काण्डमा मुछिएका ढकालको पराजयले मोरङको ३ नम्बर क्षेत्रका एमालेमा सन्नाटा छाएको छ । परम्परागत रूपमा एमालेको गढ भनेर चिनिएको सो निर्वाचन क्षेत्रमा कांग्रेसको जितले कांग्रेसीहरु भने हौसिएका छन् ।

राष्ट्रिय राजनीतिमा धेरै अगाडि नदेखिए पनि पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल पनि यस पटक पराजित भएका छन् । स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले माओवादी नेता मण्डललाई ४ हजार बढी मतले पराजित गरेका छन् । ०६२÷०६३ सालको अन्तरिम संसद् सदस्य बनेका मण्डल २०७० र २०७४ सालमा पनि सोही क्षेत्रबाट सांसद पदमा निर्वाचित भएका थिए । तर, सो क्षेत्रका मतदाताले यस पटक लामो समय सांसद भएका उनको विकल्प खोज्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डललाई रोज्दा मण्डलको संसद् र सरकारसम्मको यात्रालाई भने ५ वर्ष ब्रेक लागेको छ ।

मोरङ क्षेत्र नम्बर ६ बाट पराजित राष्ट्रिय नेता हुन् एमालेका लालबाबु पण्डित । उनलाई कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा पण्डितले कोइरालालाई ६ सय मतान्तरले पराजित गरेका थिए । त्यसको बदलामा शेखरले यस पटक पण्डितलाई १२ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन् ।

यता, सत्ता गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको सोलुखुम्बुमा शेखर कोइराला पक्षको दबाबपछि टिकट पाएका कांग्रेस नेता बलबहादुर केसी एमाले नेता मानबीर राईसँग पराजित भए । केसीलाई संघमा टिकट दिँदा माओवादी केन्द्रको भागमा दुवै प्रदेशसभा परेको थियो । तर, केसी माओवादीको मात्रै होइन, कांग्रेसकै अर्को पक्षको असहयोगको कारण पराजित बन्न पुगे । लामो राजनीतिक इतिहास बोकेका केसीको अन्तिम पटक संसद्मा जाने सम्भावना पनि अब सकिएको छ । यतिमात्रै होइन, उनको संसद् यात्रा अन्त्य भएसँगै अबको संसदीय राजनीति उनका लागि फलिफाप हुने देखिँदैन ।

यता, विगत ५ वर्षे संसदको गतिविधिमा सधैँ चर्चामा देखिएका एमाले नेता विशाल भट्टराईको संसद् यात्रा पनि ५ वर्षका लागि समाप्त भएको छ । भट्टराई विशेष गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि बढी चर्चामा आएका थिए । उनले संसद् विघटनको बचाउमा प्रवक्ता जस्तै भूमिका निर्वाह गरेका थिए । उनलाई माओवादीका नेता तथा प्रदेश १ का ऊर्जा तथा सिंचाईमन्त्री रामकुमार राईले पराजित गरे । केपी शर्मा ओलीको असली ढाल बनेर अगाडि आउने उनै भट्टराईलाई अबको ५ वर्ष भने जनताले संसद्मा देख्न पाउने छैनन् ।

यस्तै सधैँ संसदीय प्रतिस्पर्धामा टिकट नै नपाउने नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले यस पटक टिकट त पाए, तर जित्न भने सकेनन् । संविधानसभा सदस्यसमेत बनेका खतिवडाले ०७४ सालमै उदयपुर–२ बाट निर्वाचन लड्न चाहेका थिए । तर, वाम गठबन्धन हुनु र एमाले अध्यक्ष केपी ओलीको नजरमा नपरेका खतिवडाले त्यसबेला माओवादीका उम्मेदवार सुरेश राईलाई सघाउनु पर्ने अवस्थामा पुगे । नेकपा एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका खतिवडा यस पटक भने सोही निर्वाचन क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार बने । तर, उनलाई एमाले नेता अम्बरबहादुर रायमाझीले पराजित गरेका छन् । योसँगै खतिवडाको नयाँ बानेश्वरस्थित संसद् भवन छिर्ने सपना ५ वर्षका लागि अधुरै रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप