एमालेका १५ पदाधिकारी : ५ ले जित्दा ५ ले हारे, ५ को अवस्था के ?
नेकपा एमाले केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ जना प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । तर, ५ ले जित्दा ५ ले हारेका छन् भने ५ गणना बाँकी छ । अध्यक्ष ओली झापा–५ बाट निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट पराजित बने ।
त्यसैगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट पराजित भए भने उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेलको अन्तिम नतिजा आउन बाँकी नै छ । पौडेल रुपन्देही २ र नेम्वाङ इलाम २ बाट प्रतिस्पर्धामा छन् । जारी मत गणनामा पौडेल र नेम्वाङ दुवै झिनो मतलेमात्रै अग्रता बनाएका छन् ।
अध्यक्ष ओली पछि शक्तिशाली पद मानिने महासचिव शंकर पोखरेल पनि यो निर्वाचनमा पराजित बनेका छन् । दाङ २ बाट निर्वाचन लडेका लुम्बिनी पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेललाई माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पराजित गरिन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई गुल्मी २ बाट उम्मेदवार बनेका कांग्रेस नेता चन्द्र भण्डारीले हराउँदा अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ भने माओवादी केन्द्रका महासचिव देव गुरुङलाई हराउन सफल भएर लमजुङबाट निर्वाचित भएका छन् ।
एमालेका सात जना केन्द्रीय सचिव प्रत्यक्ष चुनावका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा टोपबहादुर रायमाझी अर्घाखाँची, गोकर्ण विष्ट गुल्मी २ र योगश भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् । अर्का सचिव लेखराज भट्ट कैलाली ४ बाट कांग्रसेका वीरबहादुर वलायरसँग पराजित बनेका छन् ।
बाँकी तीन जना सचिव छविलाल विश्वकर्मा रुपन्देही १, रघुवीर महासेठ धनुषा र पद्मा अर्याल स्याङजाबाट निर्वाचन लडेका छन् । त्याँहाको नतिजा आउन बाँकी नै रहेको छ । विश्वकर्मा घनश्याम भुसालसँग प्रतिस्पर्धा गरिरहेका छन् । जारी मत गणनामा उनले अग्रता बनाएका छन् तर महासेठले भने जित्ने सम्भावना टरिसकेको छ । अर्यालको क्षेत्रको मत गणना नै सुरु भएको छैन ।
अहिलेसम्मको अन्तिम नतिजाअनुसार पराजित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सचिव लेखराज भट्ट छन् । त्यस्तै जित निकाल्नेमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र टोपबहादुर रायमाझी छन् । ५ जना पदाधिकारी विष्णु पौडेल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, पद्मा अर्याल र रघुवीर महासेठको नतिजा आउन बाँकी छ ।