शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यी पूर्वस्वास्थ्यमन्त्री, जो पराजित भए

शुक्रबार, ०९ मङ्सिर २०७९, १७ : ३८
शुक्रबार, ०९ मङ्सिर २०७९

आइतबार सम्पन्न आमनिर्वाचनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका १० जना पूर्व मन्त्री चुनावी मैदानमा थिए, तीमध्ये केही निर्वाचित भएका छन् भने अधिकांश पराजित भए ।​

चुनावी मैदानमा पूर्व स्वास्थ्यमन्त्रीहरु विरोध खतिवडा, हृदयेश त्रिपाठी, भानुभक्त ढकाल, शेरबहादुर तामाङ, उपेन्द्र यादव, रामजनम चौधरी, राजेन्द्र महतो, गगन कुमार थापा, राज्यमन्त्री उमेश श्रेष्ठ र खगराज अधिकारी उम्मेदवार थिए ।​
पराजित पूर्वस्वास्थ्यमन्त्रीहरु

प्रतिनिधिसभातर्फ मकवानपुर–२ बाट नेकपा एकीकृत समाजवादी नेता तथा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका खतिवडा एमालेका महेशकुमार बर्तौलासँग पराजित भएका हुन् । खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्दा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरे ।

यस्तै, पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट जनता प्रगतिशील पार्टीका संयोजक तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी पराजित भए । त्रिपाठीलाई ७ हजार १८७ मतले पछि पार्दै नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका हुन् । चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरे ।

उता नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि चितवन क्षेत्र नम्बर २ बाट पराजित भएका छन् । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भए । श्रेष्ठ ३४ हजार १७० मतान्तरले पराजित भए । सो क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोख्रेल तेस्रो नम्बरमा छन् । उनले  १४ हजार ६४९ प्राप्त गरेका हुन् ।

यस्तै अर्का एमालेका नेता तथा पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ पनि आइतबार भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भए । सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएका पूर्व स्वास्थ्यमन्त्री तामाङलाई कांग्रेसका मोहन बस्नेत ११ हजार ८७४ मतले पछि पार्दै विजयी भएका हुन् । पूर्व स्वास्थ्यमन्त्री तामाङले २७ हजार ४९३ प्राप्त गर्दा कांग्रेसका बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गरे ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित भएका छन् । यादव सप्तरी क्षेत्र नम्बर २ बाट १८ हजार मतान्तरले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका हुन् । यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी यादवले १६ हजार ९६३ मत प्राप्त गरे ।

कैलाली क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्‍मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी पनि पराजित भए । पूर्व स्वास्थ्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसँग १२ हजार ३२३ मतान्तरले पराजित भए । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्दा चौधरीले १८ हजार ८ मत प्राप्त गरे । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत पाए ।

उता, मोरङ क्षेत्र नम्बर ३ मा एमाले नेता तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल कांग्रेसका उम्मेदवार सुनिल कुमार शर्माभन्दा पछि परेका छन् । ढकाल १९ हजार ५९८ मतले पछि छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा भने कांग्रेस नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा भने निर्वाचित भए । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे ।

यस्तै, एमाले संगठन विभाग प्रमुख तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी यस पटक कास्की (१)१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९९६ मतान्तरले हराउँदै अधिकारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ६२३ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६२७ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप