शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको बलमा कर्णालीमा कांग्रेसको ‘कमब्याक’, एमाले बढारियो

एकीकृत समाजवादीले तीन सिट जित्यो, गठबन्धनले माओवादीलाई घाटा
शुक्रबार, ०९ मङ्सिर २०७९, १६ : ५१
शुक्रबार, ०९ मङ्सिर २०७९

प्रतिनिधि सभा अन्तर्गत कर्णालीमा ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमा अहिलेसम्म नेपाली कांग्रेसले सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र र दैलेख क्षेत्र नम्बर २ गरी तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ ।

२०७४ मा कुनै पनि सिट जित्न नसकेको कांग्रेसले यो पटक गठबन्धनको बलमा ‘कमब्याक’ गरेको छ । ०७४ मा पाँच वटा क्षेत्र जितेको नेकपा (माओवादी केन्द्र) ले यो पटक रुकुम पश्चिम र जाजरकोटमा विजय हासिल गरेको छ केहीमा अग्रता छ ।

गठबन्धनभित्रको अर्को साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका दैलेख १, सल्यान र डोल्पामा विजयी हासिल गर्दा नेकपा एमाले भने शून्यमा झर्ने निश्चित छ । ०७४ मा ६ वटा सिटमा विजयी भएको एमालेले मंसिर ४ को निर्वाचनमा कमजोर नतिजा ल्याएको हो ।

यतिसम्मकी कर्णालीमा एमाले विभाजनपछि बनेको समाजवादीले नै आफ्नो बलियो उपस्थिति जनाउँदा एमाले ०७४ मा कांग्रेसकै अवस्थामा पुगेको हो ।  गठबन्धनमा भाग परेकामध्ये माओवादीलाई एक सीटमा घाटा लागेको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादीका उम्मेदवार गोमा कुँवरलाई पराजित गरे । अब बाँकी रहेका कालिकोट, हुम्ला र मुगुमा पनि गठबन्धनले विजय हासिल गर्ने देखिन्छ । त्यो भनेको कालिकोट र हुम्लामा माओवादी र मुगुमा कांग्रेसले विजयी हासिल गर्ने देखिन्छ ।

यतिमात्र होइन कर्णालीमा यो पटक दलहरुबीचको प्रतिस्पर्धामा फाटो आएको छ । यहाँ प्रतिस्पर्धा हुने भएको एमाले, माओवादी र कांग्रेसबीच हो । गठबन्धन बनेर जाँदा ०७४ मा बाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो भने यो पटक लोकतान्त्रिक–बाम गठबन्धनबीच प्रतिस्पर्धाका लागि दलहरू मैदानमा उत्रिएका थिए। तर स्वतन्त्र र साना दलहरुको दबदबाले कतिपय ठाउँमा गठबन्धनका उम्मेदवारको प्रतिस्पर्धा स्वतन्त्रसँग भएको देखिन्छ । 

कुन निर्वाचन क्षेत्रमा कसको जित ?

जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले विजयी हात पार्दा त्यहाँ माओवादीबाट उम्मेदवार बनेकी गोमा गौतम कुँवर पराजित बनिन् । गठबन्धनभित्र र स्वयम् माओवादी भित्रको आन्तरिक द्धन्द्धका कारण गोमा पराजित भएकी हुन् ।

गोमा १० हजार ८६० मतान्तरले शाहीबाट पराजित भएकी हुन् । उनी २२ हजार ८ सय १९ मतसहित विजयी हुँदा कुँवरले ११ हजार ९ सय ५९ मत पाइन् ।  खासमा माओवादीको प्रतिस्पर्धी मानिएको एमालेका रतन नाथ योगी ६ हजार ५२८, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९५५ मत पाएका छन् ।

सल्यानमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बहुमतसहित विजयी भए । यहाँ एमाले र समाजवादीबीच प्रतिस्पर्धा हुने आकलन गरिएपनि ज्वाला विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहसँग प्रतिस्पर्धा भयो ।

तर शाहलाई पनि ज्वालाले १५ हजार ९११ मतान्तरले पराजित गरे ।१ लाख ५७ हजार ७०१ मतदाता संख्या रहेको यस जिल्लामा ८४ हजार २२ मत खसेको थियो । ज्वालाको पक्षमा ३५ हजार ७०० मत आएको छ । स्वतन्त्र उम्मेदवार शाहको पक्षमा १९ हजार ७८९ मत छ । विशेष गरी ज्वालाको प्रमुख प्रतिस्पर्धी मानिएका एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरे ।

ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिएका छन् । जसमा ०५६, ०७९ र ०७४ मा सफल भए भने ०५१ सालमा असफल भएका थिए ।दैलेख क्षेत्र नम्बर १ मा समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले आफ्ना पुर्व सहकर्मी एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई पराजित गरे ।

थापा १८ हजार २५६ मतसहित विजयी भएका हुन्। एमालेका उम्मेदवार शर्माले १७ हजार ४०७ मत पाएका छन्। थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन्।

विजयी थापा यसअघि ०६४, ०७० र ०७४ को संसदीय निर्वाचन भाग लिइसकेका छन् । जसमा ०६४ मा पराजित भए भने दुई वटा संसदीय निर्वाचनमा उनी सफल भए । ०७४ मा उनी दैलेख १ (ख) बाट प्रदेश सभामा चुनाव जितेका थिए। थापालाई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को साथ थियो । जसका कारण निकै कमजोर सांगठनिक अवस्था रहेको दलका नेता थापा विजयी भए । क्षेत्र नम्बर २ मा गठबन्धनको बलमा कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही १५३ मतान्तरसहित विजयी भएका छन् ।

उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए। यो क्षेत्र एमालेको गढ हो ।

पोखरेल ०७० मा संविधान सभा सदस्य बनेका थिए । विजयी शाही ०७४ मा २ (ख) मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए । ०७४ मा प्रदेशमा पराजित शाहीले यो पटक गठबन्धनको बलमा चुनाव जिते ।

०७४ मा शुन्य भएको कांग्रेसले यो पटक गठबन्धनको बलमा पराजयको बदला लिएको छ । ०७४ मा नेकपा माओवादीको साथ पाएको एमालेले तीन वटै क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको थियो ।

०४८ सालमा कांग्रेसले जित्दा ०५१ को मध्यावधि चुनाव नेमकिपाले जितेको थियो । त्यो बेला एमालेको सांगठनिक अवस्था अहिलेका साना दलहरुकै अवस्थामा थियो । ०५१ मा नेमकिपाले जित्दा ०५६ मा पुनः कांग्रेसले चुनाव जितेको थियो । त्यस यता  कांग्रेसले चुनाव जितेको थिएन ।

सुर्खेतमा कांग्रेसले ०७४ मा एमालेसँगको पराजयको बदला लिएको छ । गठबन्धनको बलमा दुईवटै क्षेत्रमा कांग्रेसका उम्मेदवारले चुनाव जितेको छ । क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले ०७४ मा आफूलाई पराजित गरेका शाहीलाई नै पराजित गर्दै निर्वाचित भए । एमालेका धुर्व कुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले खड्काले पराजित गरेका हुन् । खड्का ४२ हजार ६०७  मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे।

०७४ मा ३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। पाँच वर्ष अघि ३ हजार ३८२ मतले पराजित भएका खड्काले यो पटक त्यसको बदला लिएका हुन् । त्यसअघि सोही क्षेत्रबाट २०४८, ०५१, २०५६ मा जितेर खड्काले ह्याट्रिक गरेका थिए । तर २०६४ सालको संविधानसभा निर्वाचनमा भने लालबहादुर घले संविधान सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए । तर घलेले त्यो बेला नेकपा एमालेकी कमला शर्मासँग पराजित भए। खड्का भने समानुपातिक सांसद बनेका हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा खड्काले कमब्याक गरे ।

खड्काले गृहमन्त्री, गृहमन्त्री, सूचना तथा सञ्चार मन्त्री गरी पटक–पटक गरी आधा दर्जन मन्त्रालयको  जिम्मेवारी सम्हालिसकेका छन् । उनले मन्त्री नबन्ने घोषणा समेत गरिसकेका छन् । त्यो भएकाले कांग्रेसभित्र उनलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा समेत हेरिएको छ ।

यता २ मा पनि कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे ।  विसीले २९ हजार ५५८ मत प्राप्त गरे। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जिते । ०७४ मा नेकपा एमालेसँगको हारको बदला यो यो पटक थानीले गठबन्धनको बलमा लिए । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।

रुकुम पश्चिममा भने माओवादीले पुनः आफ्नो वर्चश्व कायम गरेको छ । सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’   २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका छन् । सम्भवतः कर्णालीमा सबैभन्दा धेरै मतान्तरले चुनाव जित्नेमा शर्मा नै हुन् । यहाँ ६० हजार ५६२ मत खसेको थियो। शर्माको पक्षमा  ३९ हजार ५४९ मत आएको छ भनएमालेका देवकोटाको पक्षमा १२ हजार ९६१ मत छ ।  शर्मा विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ७९६ पाएका छन्। शर्माको यो चौथो जित हो । यसअघि ०६४, ०७०, ०७४ मा पनि भारी मतान्तरसहित निर्वाचित भएका थिए ।

हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका समाजवादीका नेता बुढाले आफ्ना प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ । यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट बहुमतले निर्वाचित भएका थिए भने ०७४ मै नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए ।

यता माओवादीका उपमहासचिव शक्ति बहादुर बस्नेले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरे । स्नेत ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए । बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप