बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा प्रदेश सभा निर्वाचन : १९ क्षेत्रको नतिजा आउँदा गठबन्धन हावी, यस्तो छ नतिजा

माओवादी–कांग्रेस ७-७ र एमालेले ४ क्षेत्रमा वर्चश्व जमाउँदा समाजवादीको अस्तित्व संकटमा
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : ४७
शुक्रबार, ०९ मङ्सिर २०७९

प्रदेश सभा अन्तर्गत कर्णालीका २४ वटा निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पार्दासम्म १९ वटा निर्वाचन क्षेत्रहरुको नतिजा आइसकेको छ । जसमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले ७÷७ वटा निर्वाचन क्षेत्रमा जितेको छ भने नेकपा एमालेले ४ वटामा चुनाव जितेको छ ।

यस्तै जुम्ला (क) मा भने कांग्रेसका बागी स्वतन्त्रले चुनाव जितेका छन् । यस्तै डोल्पा (ख) को अन्तिम नतिजा आउन बाँकी रहेको छ भने हुम्ला (ख) को मतगणना सुरु भएको छ । यस्तै मुगुका दुईवटै निर्वाचन क्षेत्रको पनि अन्तिम मतपरिणाम सार्वजनिक हुन सकिरहेको छैन ।

कुन क्षेत्रमा कसको जित ? 
सबैभन्दा पहिले मतगणना सम्पन्न भएको जुम्ला (क) मा गठबन्धनकै बागी स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर शाहीले वाम–लोकतान्त्रि गठबन्धनबाट उम्मेदवार कांग्रेसका प्रदेश सभापति ललतिजंग शाहीलाई पराजित गरे । 

उनले ९ हजार ६५४ मतसहित विजयी ललितजंगले ७ हजार ७५५ मत पाए । मुख्यमन्त्रीका दाबेदार मानिएका प्रदेश सभापति शाही पराजित भए पनि कांग्रेसलाई घाटा लागेको देखिन्छ । यहाँ एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४८० मत पाएका छन् भने चौथो नम्बरमा नेपाल मजदुर किसान पार्टी रहेको छ । 

जुम्ला (ख) मा गठबन्धनतर्फबाट एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई पराजित गर्दै एमालेका युवा नेता टेकराज पछाई निर्वाचित भए । ७ हजार ८२७ मतसहित पछाई विजयी हुँदा बहालवाला भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री रोकायाले ६ हजार ७१५ मत पाए ।

यहाँ गठबन्धनका बागी स्वतन्त्र धनबहादुर बस्नेतले ४ हजार १६५, नेमकिपाका बिर्षबहादुर रावतले १ हजार २०२ मत प्राप्त गरेका छन्। मन्त्री रोकायलाई बागीले गर्दा समस्या भएको हो ।

यता सल्यानका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भए । (क)मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा २२ हजार २४३ मतसहित विजय हुँदा प्रतिस्पर्धी एमालेका कुलबहादुर गिरी १४ हजार २२५ मतमा सीमित रहे ।

(ख) मा भने मुख्यमन्त्रीका दाबेदार एमालेका गुलाबजंग शाहलाई पराजित गर्दै गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए । अधिकारीले २० हजार ४०८ मत पाउँदा एमालेका प्रदेश सह–इञ्चार्ज शाहले १६ हजार ६२८ मत पाए । 
 
०७४ मा प्रदेश (क) बाट चुनाव जितेका उनी पराजित हुने डरले (ख) बाट चुनाव लडेका थिए । तथापि पनि पराजित हुन् पुगे ।

जाजरकोटमा दुबै क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसले चुनाव जितेको छ । (क) मा कांग्रेसका जिल्ला सभापति बेदराज सिंह १८ हजार ५४३ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गरे । यहाँ समाजवादीले स्वतन्त्र उम्मेदवारी दिएको थियो । स्वतन्त्रका उम्मेदवार कमानबहादुर खड्काले ४ हजार ४४६ मत प्राप्त गर्दा राप्रपा चौथो स्थानमा छ ।

(ख) मा कांग्रेसबाट प्रदेशको मुख्यमन्त्रीका दाबेदार राजीवबिक्रम शाह निर्वाचित भएका छन्। उनले १६ हजार ४० मतसहित निर्वाति हुँदा उनका प्रतिस्पर्धी एमालेका खिमबहादुर शाहले १० हजार ५३० मत प्राप्त गरे । यहाँ राप्रपा तेस्रो स्थानमा छ । 

दैलेखक चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा ३ वटामा कांग्रेस र एउटामा एमालेले विजयी भएको छ ।  १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्रीले पुर्व माओवादी समेत रहेकका एमाले उम्मेदवार धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गरेका छन् । खत्रीे ९ हजार ४६४ मतसहित निर्वाचित हुँदा रेग्मीले ८ हजार ७२ मत पाए । रेग्मीले ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेका थिए।

१ (ख) मा कांग्रेसका पुर्व जिल्ला सभापति कुष्ण विसी दोस्रो प्रयासमा चुनाव जित्न सफल भए । ०७४ मा पराजित उनी यो पटक गठबन्धनको बल १० हजार ५४५ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले ९ हजार ४७१ मत पाउँदा राप्रपा तेस्रो स्थानमा छ ।
 
२ (क) मा कांग्रेसका युवा नेता घनश्याम भण्डारी विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका तिलकप्रसाद रिजाललाई १ हजार ३०५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । भण्डारीले १० हजार ८०० मत प्राप्त गर्दा रिजालले ९ हजार ४९५ मत पाए । २ (ख) मा भने गठबन्धन तर्फबाट उम्मेदवार बनेका माओवादीका योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गर्दै एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह निर्वाचित भए । ९ हजार ४६४ मतसहित शाह निर्वाचित हुँदा माओवादीका शाही ९ हजार ३८१ मतमा सीमित रहे । 

यता सुर्खेतका चारवटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ३ वटामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १ (क) मा कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरलेले एमालेबाट उम्मेदवार बनेका पूर्व माओवादी ठम्मरबहादुर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् ।

उनको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गरे।  विष्ट सोही निर्वाचन क्षेत्रबाट ०७४ मा माओवादीबाट चुनाव जितेका थिए । मन्त्री बन्न नपाएको झोकामा सांसद हुँदै उनी गत चैत्रमा एमाले प्रवेश गरेका थिए । 

१ (ख) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गर्दै जिसी निर्वाचित भएका हुन् । जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शर्माले १६ हजार ३१६ मत प्राप्त गरे । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जिसी र शर्मा दुबैजना पहिलो पटक संसदीय निर्वाचनमा भाग लिनेमा पर्दछन् ।

क्षेत्र २ (क) मा भने गठबन्धनतर्फबाट कांग्रेसका कालिप्रसाद शाक्यलाई पराजित गर्दै एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल दोस्रो पटक निर्वाचित भए ।  १८ हजार ५ सय ६१ मतसहित निर्वाचित भएका उनी ०७४ मा पनि यही क्षेत्रबाट विजय भएका थिए । उनी एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन्। यहाँ कांग्रेसकका शाक्यले १८ हजार ४ सय मत प्राप्त गरे ।

२ (ख) मा भने पूर्व अर्थमन्त्री समेत रहेका माओवादीका युवा नेता विन्दमान विष्टले जिते । ०७४ मा माओवादीकै सपोर्टमा चुनाव जितेका उनले अहिले कांग्रेसको सपोर्टमा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरे । खसेको ३१ हजार ६८२ मतमध्य विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ भने एमालेका तौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरे। विजयी विष्ट माओवादीबाट मुख्यमन्त्रीका दाबेदार हुन्।
 
कालिकोटमा (क) को नतिजा सार्वजनिक हुँदा त्यहाँ माओवादीका दुर्गबहादुर रावतले एमालेबाट उम्मेदवार बनेका कुर्मराज शाहीलाई १ हजार ५९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । रावतले ९ हजार ११ मत शाहीको पक्षमा ७ हजार ९५२ आएको छ । कुर्मराज ०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेर प्रदेश सभामा ११ हजार ९३५ मतसहित विजयी  भएका थिए। नेपाल मजदुर किसान पार्टीका रबिन्द्रबहादुर शाहीले १ हजार १७२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले १ हजार ७१ मत पाएका छन्।

हिमाली जिल्ला डोल्पामा एमालेका शेरबहादुर बुढा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।  गठबन्धनबाट उम्मेदवार कांग्रेसका दीपेन्द्रबहादुर शाहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनले ४ हजार ७ सय ४३ मत प्राप्त गर्दा कांग्रेसका शाहीले २ हजार ४ सय ६५ मत पाए । 

हुम्ला (ख) मा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धीको रुपमा उनकै विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र  उम्मेदवार मंगलबहादुर शाही थिए । परियार ६ हजार ४८१ मतसहित विजयी हुँदा  शाहीले  ४ हजार ६३० मत प्राप्त गरे । यस्तै  नेकपा एमालेका उम्मेदवार दल फडेराले  २ हजार ९९ मत प्राप्त गरे ।  पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका परियार कर्णालीमा एक मात्र दलित सांसद बनेका छन् ।

यता रुकुम पश्चिममा दुबै क्षेत्रमा पुनः माओवादीले वर्चश्व जमाएको छ । २९ हजार ५४३ मत खसेको (क) मा  माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मतसहित निर्वाचित भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९९५ मतान्तरले पराजित गर्दै निर्वाचित भए । एमालेका शाहका पक्षमा ८ हजार ८१ मत आएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद कुमार शाहले १ हजार ११ मत पाए ।

यता (ख) मा माओवादीलकै राजकुमार शर्मा १२ हजार ८२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका छन्। यहाँ अर्को मत ३० हजार ४२९ हो । शर्माले २० हजार १६० मत पाउँदा नेकपा एमालेका कर्ण बहादुर घर्ती मगरले ८ हजार ७८ मत पाए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले  १ हजार १०७ मत पाए । निर्वाचित शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका मन्त्रीका प्रमुख दाबेदार हुन् ।

यी हुन् अहिलेसम्म प्रदशे सभामा निर्वाचित १९ सांसद 
यी हुन् माओवादीबाट प्रदेश सभा जितेकाहरु 
सुर्खेत १ (ख) कृष्ण जिसी 
सुर्खेत २ (ख) विन्दमान विष्ट
सल्यान (क) भिकप्रकाश शर्मा
रुकुम (क) महेन्द्र केसी 
रुकुम (ख) राजकुमार शर्मा 
कालिकोट (क) दुर्गबहादुर रावत 
हुम्ला (क) रणसिंह परियार 

कांग्रेस बाट प्रदेश सभा जितेकाहरु
सुर्खेत (क) खड्ग पोखरेल 
जाजरकोट (क) वेदराज सिंह
जाजरकोट (ख) राजिवविक्रम शाह 
सल्यान (ख) सुरेश अधिकारी 
दैलेख १ (क) पुर्णबहादुर खत्री 
दैलेख १ (ख) कृष्ण विसी 
दैलेख २ (क) घनश्याम भण्डारी 
एमालेबाट प्रदेश सभा जितेकाहरु
सुर्खेत २ (क) यामलाल कँडेल 
दैलेख २ (ख) विनोद कुमार शाह
जुम्ला (ख) टेकराज पछाई 
डोल्पा (क) शेरबहादुर बुढा
स्वतन्त्र 
जुम्ला (क) देवेन्द्र बहादुर शाही 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप