बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवाको गृहप्रदेशमा कांग्रेसको 'कमब्याक' : एमालेलाई धक्का, माओवादी 'नील'

नवगठित नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको कमाल
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : १०
शुक्रबार, ०९ मङ्सिर २०७९

नेपाली कांग्रेसले सुदूरपश्चिम (सुप) प्रदेशमा कमब्याक गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुपमा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा दुवैतर्फ ठूलो अन्तरले कांग्रेस पहिलो बनेको छ । ०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेको थियो ।

०७४ को निर्वाचनमा कांग्रेस सभापति देउवाले मात्रै यस प्रदेशबाट जितेका थिए । तर, यस पटकको निर्वाचनमा कांग्रेसले ७ सिटमा जित हासिल गरिसकेको छ  । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्र मध्ये १५ को मत परिणाम आउँदा कांग्रेस सबैभन्दा ठूलो दल भन्ने पक्का भएको छ ।

कांग्रेसबाट अछाम २ मा पुष्पबहादुर शाह, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, डडेल्धुरामा शेरबहादुर देउवा, कञ्चनपुर२ मा एनपी साउद, ३ मा रमेश लेखक, कैलाली–४ मा वीरबहादुर बलायर र ५ बाट डिल्लीराज पन्त निर्वाचित भएका छन् । यस प्रदेशमा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ तीन / तीन​ सीट​ जितेका छन् । 

एकीकृत समाजवमादीबाट अछाम १ मा शेरबहादुर कुँवर, डोटीमा प्रेम आले र बुझाङ्गमा भानुभक्त जोशी विजयी भएका छन् । एमालेले २ सिट जित्दा माओवादीले नील भएको छ । एमालेबाट बैतडीमा दामोदर भण्डारी र कञ्चनपुर १ मा तारा लामा विजयी भएका छन् । बाजुरामा मत गणना सुरु हुन सकेको छैन ।

बाजुरामा पनि गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार रहेकाले सुदूरपश्चिममा माओवादी शुन्य भएको छ । संघका साथै प्रदेशसभामा पनि कांग्रेस पहिलो शक्ति बन्ने निश्चित भएको छ । ०७४ मा कांग्रेसले प्रदेशसभातर्फ ४ सिट जितेको थियो ।

कांग्रेसले प्रदेशसभाका ३२ मध्ये ११ सिट जितेको छ । कांग्रेसले कैलाली २ (१ )बाट कमलबहादुर शाह, ४ को ‘२’बाट प्रकाशबहादुर बम, ५ ‘२’बाट प्रकाश देउवा, कञ्चनपुर १ को (१) बाट दीवानसिंह बिष्ट, २ ‘२’बाट बहादुरसिंह थापा र ३ ‘२’बाट बेलबहादुर राना मगर विजयी भएका छन् ।

यस्तै अछाम क्षेत्र १ (१) बाट मेघराज खड्का २ ‘२’बाट मानबहादुर रावल, बझाङ्ग (१)बाट पृथ्वीबहादुर सिंह, बैतडी (२)बाट शिवराज भट्ट र दार्चुला (१)बाट विक्रमसिंह धामी निर्वाचित भएका छन् । 

सुदूरपश्चिममा एमालेलाई धक्का, माओवादी 'नील'

०७४ को निर्वाचनमा संघ र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो दल बनेको एमाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा ठूलो धक्का लागेको छ  । ०७४ मा जितेको उसले  बझाङ, अछाम, डोटी, दार्चुला, कैलाली २ र ५ तथा कञ्चनपुर २ र ३ पनि गुमाएको छ ।  प्रदेशसभातर्फ पनि एमालेलाई ठूलो धक्का लागेको छ ।  

०ं७४ मा १८ सिट जितेको एमाले अहिले ३० क्षेत्रको नजिता आउँदा ३ सिटमा खुम्चिएको छ । एमालेले डोटी (१) बाट चक्रबहादुर मल्ल बैतडी (१) बाट सुरेन्द्रबहादुर पाल र कञ्चनपुर १ को (१) बाट वीरबहादुर थापा विजयी भएका छन् । 

०७४ मा एमालेसँग गठबन्धनमा सुदूरपश्मिचमा प्रतिनिधिसभातर्फ ३ सिट जितेका थियो । कांग्रेससँगको गठबन्धन भने माओवादीलाई अभिसाप भएको छ । सुदूरपश्मिका ४ सिटमा उम्मेदवारी दिएको माओवादीले सबै गुमाएको छ । संघतर्फ नील भएको माओवादी केन्द्रले प्रदेशतर्फ ७ सिटमा विजयी भइसकेका छन् ।

कैलाली ५ (१) बाट रमेश सिंह धामी कञ्चनपुर २ को (१)बाट ओम विक्रम भाट, डोटी (२) बाट शिवसिंह ओली,  बझाङ्गको (२) बाट भीमबहादुर भण्डारी, डडेल्धुरा (१) बाट खगराज भट्ट, अछाम (१)बाट अक्कलबहादुर रावल र दार्चिला (२) बाट मानबहादुर धामी विजयी भएका छन् ।

बाजुरामा मत गणना बाँकी रहेकाले माओवादीले प्रदेशतर्फ १ सिट थप्न सक्ने सम्भावना बाँकी छ । एमालेले प्रदेशभातर्फ ३ सिट जितेको छ । बाजुराका २ वटा प्रदेशसभामा जितेको अवस्थामा एमाले सुदूरपश्चिममा प्रदेशतर्फ माओवादीको बराबर सिट पुर्याउने छ ।

एकीकृत समाजवादीको शतप्रतिशत जित

संठनात्मक रुपमा कमजोर रहेको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनमा शतप्रतिशत जित निकालेको छ । सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित जित हासिल गरेको हो ।

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । एकीकृत समाजवादीले प्रदेशसभातर्फ १ स्थानमा जित हात पारेको छ ।

कैलाली–४ (२) बाट एकीकृत समाजदावी उम्मेदवार दीर्घ सोडारी निर्वाचित भएका छन् । कञ्चनपुर – ३ को (१) मा एकीकृत समाजवादीले एक्लै चुनाव लडेर पनि नतिजा हात पारेको छ । एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका बाजी मारे ।

 डडेल्धुराको (२)मा स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोशीले गठबन्धनमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले जोशीलाई कारबाही पनि गरेको छ ।

नवगठित उन्मुक्तिको उदय

एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा उदय भएको छ। नवगठित नागरिक उन्मुक्ति पार्टीले  प्रदेशसभातर्फ पनि ५ सिट जितेको छ । 

कैलालीबाट संघतर्फ तीन र प्रदेशतर्फ पनि ५ स्थानमा जित हासिल गरेको छ । नागरिक उन्मुक्तिबाट कैलाली १ मा रञ्जिता चौधरी, २ मा अरुण चौधरी र ३ मा गंगाराम चौधरी निर्वाचित भएका छन् । 

यस्तै प्रदेशसभातर्फ कैलाली १ को (१)बाट कैलाश चौधरी, २ बाट लक्ष्मण किशोर चौधरी, २ को (२) बाट रामेश्वर चौधरी, ३ को (१)बाट घनश्याम चौधरी र २ बाट खुशी राम डगौरा थारू निर्वाचित भएका छन् ।

०७२ को टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी भूमिगत अवस्थामै ७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट कैलाली  १ को प्रतिनिधिसभा निर्वाचित भएका थिए । यस्तै प्रदेश (१) राजपाका कृष्ण बहादुर चौधरी निर्वाचित भएका थिए । 

रेशमले डिल्लीबजार कारगारमा रहेका गत निर्वाचन अगाडि पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नाममा नागरिक उन्मुक्ति पार्टी खालेका थिए । स्थानीय निर्वाचनमा उक्त पार्टीले कैलालीको दक्षिण भेगमा अपत्यासित जित निकाल्यो ।

टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्तिले जितेको थियो । अहिले पनि प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ५ सिट जितेर कैलालीमा पहिलो पार्टी बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप