आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युरोपेली संसद्ले गर्‍यो रुसलाई ‘आतंकवाद प्रायोजन गर्ने राज्य’ घोषणा

बिहीबार, ०८ मङ्सिर २०७९, २३ : ०८
बिहीबार, ०८ मङ्सिर २०७९

युरोपेली संसद्ले रुसलाई ‘आतंकवादको प्रायोजक राज्य’ घोषणा गरेको छ । घोषणामा संसद्ले युक्रेनमा मस्कोको ‘जानाजान गरेको आक्रमण र अत्याचार’ मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको भनेको छ ।​ 

बुधवार युरोपेली संसद्मा पेस गरिएको यस सम्बन्धी प्रस्तावमा ४९४ विधायकले पक्षमा मतदान गरेका थिए भने ५८ले विपक्षमा मतदान गरे । ४४ जना मतदानमा अनुपस्थित भएका थिए । प्रस्तावमा भनिएको छ : ‘रुसी संघद्वारा युक्रेनविरुद्ध जानीजानी गरिएको आक्रमण र अत्याचार, नागरिक पूर्वाधारको विनाश र मानवअधिकार तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनहरू आतंककारी कार्य हुन् ।’

यद्यपि, युरोपेली संसद्ले उठाएको यो कदम धेरै हदसम्म प्रतीकात्मक छ । किनकि युरोपियन संघलाई यसलाई कार्यान्वयनमा ल्याउने कुनै कानुनी संरचना छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मतदानलाई स्वागत गर्दै रुसलाई सबै तहमा एक्ल्याउँदै जबाफदेही बनाउनुपर्ने बताए । जेलेन्स्कीले रुसले नागरिकलाई निशाना बनाइरहेको आरोप लगाउँदै अमेरिका र अन्य देशहरूलाई पनि युरोपेली संघको कदम पछ्याउन आग्रह गरेका छन् । 

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा रुसलाई आतकंवादी घोषणा गर्नुपर्ने प्रस्ताव अघि सारिए पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसलाई समर्थन गर्न अस्वीकार गर्दै आएका छन् । रुसले युक्रेनमा आक्रमण गरे लगतै पछि युरोपेली संघ, अमेरिका र बेलायतले रुसमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका छन् । त्यसभन्दा बढी कदम चाल्न अमेरिका अनिच्छुक देखिन्छ । 

अमेरिकाको विदेश मन्त्रालयले अहले क्युबा, उत्तर कोरिया, इरान र सिरियालाई ‘आतंकवाद प्रायोजित गर्ने राज्य’को रूपमा लिन्छ । जसको अर्थ ती मुलुकका रक्षा निर्यात र वित्तमा प्रतिबन्ध छ । युरोपेली संघका चार सदस्य– लिथुआनिया, लात्भिया, इस्टोनिया र पोल्याण्डले यसअघि नै रुसलाई ‘आतंकवाद प्रायोजित गर्ने राज्य’ घोषित गरिसकेका छन् ।-अल जजिराबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप