शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादीको जागिर सकियो, अब अस्ट्रेलियातिर...(भिडियो)

बिहीबार, ०८ मङ्सिर २०७९, २१ : ३२
बिहीबार, ०८ मङ्सिर २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचनको सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी)लाई बिहीबार सरकारले बिदाई गरेको छ । सरकारले उनीहरूलाई करिब डेढ महिना पछि बिदाई गरेको हो । 

नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । निर्वाचन सम्पन्न भएसँगै सरकारले म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाई गरेको हो । बिदाईसँगै म्यादी प्रहरीहरूले छोटो समयका लागि भए पनि राष्ट्रको सेवा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । 

बिदाईकै शीलशीलमा महानगरीय प्रहरी परिसर ललितपुरमा भेटिएका केही म्यादी प्रहरीहरूले रातोपाटीसँग आफ्नो अनुभव साटेका छन्। आफ्ना योजनाहरू साटेका छन् । छोटो समय नेपाल प्रहरीको संगठनमा रहेर काम गर्दा आफूमा हुनुपर्ने अनुशासन, ठुलालाई सम्मान र सानालाई गर्नुपर्ने मायाको ठुलो पाठ सिक्न पाएकोमा उनीहरू दङ्ग थिए ।

४० दिन मात्रै भए पनि देशको सेवा गर्न पाइने लोभले म्यादी प्रहरी बनेकाहरूमा आर्थिक उपार्जनसँगै अनुभवको प्रमाण–पत्रको लोभ पनि उत्तिकै देखिन्थ्यो । काभ्रे घर भएका दीपक परियार जो आर्थिक उपार्जनकै आशामा म्यादीमा आएका रहेछन् । ‘केहि आर्थिक अभाव थियो, विदेश जाने तयारी पनि छ । त्यसैले अनुभव र आर्थिक उपार्जनका लागि भए पनि म्यादीमा आएको थिएँ’, परियारले भने, ‘साथीहरूसँग काम गर्दा निकै खुसी लाग्यो देशका लागि काम गरेको अनुभव निकै राम्रो रह्यो।’

उता अछाम घर भई ललितपुर जिल्लामा म्यादी प्रहरीका रूपमा खटिएका नरेश सञ्जेल भने अष्ट्रेलिया जाने तयारीमा रहेछन् । उनले सुनाए, ‘अस्ट्रेलियाको भिजा लागिसकेको छ, केहि दिनमै म विदेश उड्दै छु तर, यो बीचको खाली समय सदुपयोग गर्न म्यादीमा आएको थिएँ,’ उनी थप्छन्, ‘अर्कातर्फ हरेक बुबा आमाको सपना हुन्छ कि, छोराछोरीले सरकारी जागिर खाउन्, त्यसैले अवसर पाएको बेला थोरै समय भए पनि नेपाल सरकारका लागि काम गरेको हुँ।’

जागिरको अवधि थोरै भएर के भो ! धेरैको आकर्षणको केन्द्र थियो म्यादी प्रहरीको जागिर । कोही रहरले त कोही कहरले म्यादीमा भर्ना भएका थिए । त्यस मध्येका एक हुन् रामेछापका कर्णसिंह थापा । जो उमेरले ५२ वर्ष पुगेर पनि जीवनमा एक न एक पटक देशको सेवा गर्नु पर्छ भन्ने भावले म्यादी प्रहरीमा भर्ना भएका थिए । यही अनुभव सुनाउँदै थापा भन्छन्, ‘राष्ट्रको लागि गरेको यो सेवाको अनुभव निकै नौलो र रोचक रह्यो, आजबाट घर फर्कने हो, यहाँका अनुभवहरू परिवारसँग साट्ने हो ।’

यस्तै रहर र बाध्यताका बीचमा म्यादी प्रहरीमा भर्ना भएकी थिइन कञ्जन्पुरकी ४० वर्षिया राधिका जोशी । उनले आफ्नो पारिवारिक पृष्ठभूमि सुनाउँदै भनिन्,‘ घरमा श्रीमान्, छोरा र छोरी छन् । छोरा कक्षा ११ मा र छोरी ९ मा पढ्छिन् ’, जोशीले खुसी हुँदै अनुभव पनि साटिन्, ‘घर फर्केर श्रीमानलाई काम गर्न मज्जा लागेको कुरा सुनाउँछु । छोरा छोरीलाई पनि प्रहरी पेसाका बारेमा भन्छु।’

उल्लेखित नामहरू प्रतिनिधि पात्र मात्र हुन् । निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादीका आफ्नै अनुभूति छन् आ–आफ्नै अनुभव र योजनाहरू छन् । कतिपयलाई म्यादी प्रहरीमा काम गरेको अनुभवको प्रमाण–पत्रमार्फत बिदेसिनु छ त कतिपयलाई नेपाल प्रहरी वा नेपाल आर्मीमा जागिरको मेसो मिलाउनु छ । 

यी र यस्तै पात्रहरूसँग म्यादी प्रहरी भएर सेवा गर्दाका अनुभव, अनुभूति र योजनाका बारेमा राटोपाटीका लागि तयार पारिएको यो भिडियो सामग्री :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप