शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ वर्षपछि खगराज भट्टको पहिलो जित

‘मुख्यमन्त्रीका लागि तयार छु’
बिहीबार, ०८ मङ्सिर २०७९, २० : १३
बिहीबार, ०८ मङ्सिर २०७९

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवारहरू धमाधम विजयी हुँदै थिए । जताततै माओवादीका उम्मेदवारहरू निर्वाचित भइरहँदा केही भने पराजित भए । पराजित हुने तिनै थोरैमध्येमा एक थिए खगराज भट्ट ।

डडेल्धुरामा शेरबहादुर देउवाविरुद्ध चुनाव लडेका माओवादीका खगराज भट्ट १ हजार ३६८ मतान्तरले पराजित हुन पुगे । पहिलो पराजयलाई उनले सहर्ष स्वीकार गरे । आफ्ना कमजोरी केलाउँदै उनी अर्को मौकाको पखाईमा बसे ।

२०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भयो । त्यसमा उनी पुनः देउवासँगै भिड्न पुने । तर, त्यो चुनावमा उनी दोब्बर मतान्तरले पराजित भए  । देउवाले २३ हजार ९२० मत ल्याउँदा भट्टले १२ हजार ४९३ मतमात्रै पाए । उनी २०७४ सालमा तेस्रो पटक चुनाव लड्न कस्सिए, त्यो पनि देउवासँगै । यस पटक पनि उनले जित हासिल गर्न सकेनन् । नेकपा एमालेको समेत साथ पाएर चुनाव लडेका भट्ट त्यतिबेला देउवासँग ६ हजार ९२९ मतान्तरले पराजित भए ।

भट्टको संसद् यात्रामा देउवा नै बाधक बने । तर अहिले देउवाकै सहयोगमा भट्ट पहिलो पटक संसदीय राजनीतिमा सफल भएका छन् । उनी डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यतिमात्र होइन, देउवाले नै उनलाई सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा अघि सारेका छन् ।

उनले जनताले दिएको विश्वास र भरोसा नतोड्ने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामी जनताको सेवक हौं, जनताको मालिक होइन भन्ने प्रमुख भावनाका साथ जनताको बीचमा जानेछौं । सुदूरपश्चिमलाई सुन्दरपश्चिम र सम्भावनै सम्भावनाको पश्चिम बनाउनका लागि मन बचन र कर्मले समर्पित भएर हाम्रो ल्यागतले भ्याएसम्म हामी लाग्नेछौं ।’

आफूले गरेको निष्ठाको राजनीतिका कारण जनताले अन्ततः आफूलाई विजयी गराएको उनको भनाइ छ ।

राष्ट्रको सुन्दर भविष्यको सपना बोकेर जुन बाटोमा आजसम्म हिँडियो, त्यसलाई राजनीतिक रूपमा, संवैधानिक रूपमा संस्थागत गरिसकेको तर, व्यवहारमा गर्न नसकिएको उनको भनाइ छ ।

‘व्यवहारमा जनतालाई अझै स्थिरता, सुशासन, समृद्धि विकास, सामाजिक न्याय र राष्ट्रको स्वाभिमान र जनताको आत्मसम्मानको जगेर्ना गर्ने दिसामा लैजान हामीले अझै सकेका छैनौं,’ उनले भने ।

निर्वाचित भएपछि आफ्नो पहिलो प्रयास संवैधानिक व्यवस्थाको रक्षा गर्ने र जनताको चाहना अनुसार काम गर्ने रहेको बताए । ‘संविधानले परिकल्पना गरेको दिशामा देशलाई लगेर जनताका चाहना र भावना अनुसारको जनदिसासहितको राज्य र सरकार चलाउने कुरातिर हाम्रो प्रमुख जोड हुनेछ,’ उनले भने ।

व्यवस्था परिवर्तन गरेर संस्थागत गरे पनि अवस्था परिवर्तन गर्नमा राजनीतिक दलहरू चुकेको उनको भनाइ छ । ‘हामीले व्यवस्था जसरी परिवर्तन ग¥यौं त्यसलाई संस्थागत ग¥यौं, व्यवस्था परिवर्तन गर्ने शक्तिहरू अवस्था परिवर्तन गर्नमा चुकेकै हौं । हामीले केही कमजोरी गरेकै छौं,’ उनले भने ।

उनी अबको पाँच वर्षका लागि को मुख्यमन्त्री हुने भन्ने कुरा शीर्ष नेताहरूले टुङ्ग्याउने बताउँछन् । उनले भने, ‘मसँग उहाँहरूले कुरा गर्दा अब तपाई नै अगाडि बढ्नुपर्छ भनेकै आधारमा म अगाडि बढ्या हो, जसलाई नेपाली कांग्रेसका सभापतिले सार्वजनिक रूपमै भन्नुभएकोछ । यो विषयमा मेरो पार्टीको अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ, त्यसो हुँदा उहाँहरूले त्यो जिम्मेवारी दिन आवश्यक ठान्नुभयो भने म त्यसका लागि तयार छु ।’

उनले यस विषयमा आफ्नो व्यक्तिगत ईच्छाको निर्णय नहुने पनि प्रस्ट पारे । २०७४ को निर्वाचनपछि नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टले पूरा कार्यकाल मुख्यमन्त्रीको जिम्मेवारी पाए । यसकै आधारमा प्रदेशस्तरका कांग्रेस नेताहरु अब प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने दाबी गरिरहेका छन् । यस विषयमा गठबन्धनका शीर्ष नेताहरूबीचको छलफलबाट जे जस्तो निर्णय हुन्छ, आफू त्यही अनुसार अगाडि बढ्ने भट्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप