मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लालबाबुसँग बदला लिँदै शेखर कोइराला, लालबाबुभन्दा ७ हजार मतले अगाडि

बिहीबार, ०८ मङ्सिर २०७९, १७ : ४९
बिहीबार, ०८ मङ्सिर २०७९

२०७४ सालको निर्वाचनमा तत्कालीन एमाले नेता लालबाबु पण्डितले बाम गठबन्धनको उत्साह, उनको लोकप्रियताको कारण काँग्रेस नेता डा.शेखर कोइरालालाई ६७५ मतले पराजित गरे । तर, त्यसको ५ वर्षपछि उनै कोइरालाले उनै पण्डितलाई केही सयले होइन भारी मतले पराजित गर्ने स्पष्ट संकेत मत गणनाले दिइरहेको छ । 

२०७४ सालमा पण्डितले ३३ हजार ९४१ मत ल्याउँदा कोइरालाले भने ३३ हजार २६६ मत मात्रै ल्याएका थिए ।  यसपटक हालसम्म गणना भएको ६१ हजार २५१ सदर मत मध्ये कोइरालाले २४ हजार १८९ मत पाएका छन् भने पण्डितले १६ हजार ८९४ मत पाएका छन् । जसको मत अन्तर ७ हजार २९५ छ । उक्त क्षेत्रमा ८५ हजार ८२७ मत खसेको छ । 

अब विराटनगरको वडा नम्बर ५, ६, ७, ९, ११ र १२ नम्बर वडाको मत गन्न बाँकी छ । सुन्दर हरैंचा र बुढीगंगा गाउँपालिकामा मत अन्तर कम भइरहेको बेला विराटनगरको गणना हुन थालेपछि भने कोइरालाले मत अन्तर तीब्र गतिमा बढाएका छन् । अब गन्न बाँकी क्षेत्र भनेको एमालेको भन्दा काँग्रेसको प्रभाव बढी भएको क्षेत्र हो । 

को हुन् कोइराला ?

विराटनगर–७, निवासी कोइराला ७२ वर्षका भए । उनी काँग्रेसमा स्थापित नेतृ नोना कोइरालाको छोरा हुन् । अल इण्डिया मेडिल साइन्स इन्ष्टिच्युट (एमस), भारतबाट एमडी गरेका उनले २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरे पनि पार्टीको सक्रिय राजनीतिमा भने काँग्रेसको ११ औं अधिवेशनबाट भएका हुन् ।

उनी त्यसबेला केन्द्रीय सदस्यमा निर्वाचित भए भने १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य रहिरहे । केही महिना अगाडि सम्पन्न १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका उनी संस्थापन इत्तर समूहका नेता मानिन्छन् ।

उनले २०६५ मा भएको संविधानसभाको उपनिर्वाचनमा मोरङ ६ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ ६ बाट पुनः निर्वाचित भएका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित बनेका थिए । 

कोइरालालाई १२ बुँदे विस्तृत शान्ति सम्झौताका सूत्रधारक मानिन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीको भूमिका निर्वाह गर्दै माओवादी अध्यक्ष प्रचण्डसँग वार्ता गरेका उनले अन्तरिम संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गरेका थिए ।

संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेसी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशीताको व्यवस्था राख्न कांग्रेसको ह्विप नमानी संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका उनले राज्यबाट संविधानसभा सदस्य पदक प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप