मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कहानी एउटा यस्तो कुर्सीको जसमा जो बसे मृत्यु पाए

बिहीबार, ०८ मङ्सिर २०७९, १३ : १२
बिहीबार, ०८ मङ्सिर २०७९

१८ औँ शताब्दिमा बेलायतका थर्स्कमा थोमस बज्बी नामका व्यक्ति बस्थे । उनका एक साथी थिए जसको नाम डेनियल औटी थियो । यी दुई नक्कली सिक्का बनाउने अवैध काम गर्दथे भन्ने गरिन्छ । डेनियल थोमसका राम्रा साथी मात्रै थिएनन्, उनले उनकी छोरी एलिजाबेथको थोमससँग विवाह पनि गराइदिएका थिए । त्यसपछि यी दुई ज्वाईं–ससुरा बनेका थिए ।

पछि यो दोस्ती थप गहिरो बन्यो । कामपछि यी दुई सधैँ सँगै थर्स्कस्थित आफूलाई मनपर्ने बारमा बस्थे र मज्जाले बियर पिउँथे । थोमस उक्त बारमा सधैँ एउटै कुर्सीमा बस्थे त्यसैले उक्त कुर्सीसँग उनको विशेष लगाव भएको थियो । अरु कोही उक्त कुर्सीमा बस्दा थोमस ती व्यक्तिसँग झगडा गर्ने गर्थे र बस्ने व्यक्तिलाई जबर्जस्ती हटाएर आफू त्यसमा बस्ने गर्दथे । तर यो कुर्सीले पछि गएर कतिजनाको ज्यान लिँदै थियो भन्नेबारे कसैलाई पनि थाहा थिएन ।

कहानीको सुरुवात हुन्ट सन् १७०२ बाट । एकदिन बारमा कुनै कुरामा थोमस र डेनियलबीच झगडा भयो । झगडा कुटपिटसम्म पुग्यो । त्यसपछि थोमसलाई रिस उठाउनका लागि डेनियल उनको कुर्सीमा बस्छन् । यो देखेपछि थोमस यति रिसाए कि उनले डेनियलको हत्या नै गरिदिए ।

प्रहरीले हत्याको आरोपमा थोमसलाई पक्राउ गर्यो त्यसपछि ससुराको हत्या गरेको आरोपमा थोमसलाई मृत्युदण्डको सजाय सुनाइयो । जुन दिन थोमसलाई मृत्युदण्ड दिँदै थियो । त्यस दिन उनलाई अन्तिम इच्छा सोधियो । मृत्युदण्ड अघि आफ्नो अन्तिम इच्छा व्यक्त गर्दै थोमसले आफू थिर्स्कस्थित बारमा राखिएको आफ्नो प्रिय कुर्सीमा बसेर अन्तिम पटक खाना खान चाहेको बताए । थोमसको यो इच्छा पूरा गर्नका लागि उनलाई त्यहि बारमा लगियो । खाना खाएपछि उठ्ने बेलामा उनले ‘जो यो कुर्सीमा बस्ने हिम्मत गर्छ, उसको मृत्यु निश्चित होस्’ भने । त्यति बेलादेखि नै यो कुर्सी साँच्चै नै ‘हन्टेड’ भएको बताइन्छ ।

कुर्सीमा बस्ने पाइलटको मृत्यु

मिडियम डट कमका अनुसार दोस्रो विश्वयुद्धका बेला रोयल एनफोर्सका दुई पाइलट उक्त पबमा आए र त्यो कुर्सीमा बसे । त्यसपछि उनीहरु पब बाहिर निस्किएपछि उनको कार दुर्घटना भयो र दुबैजनाको निधन भयो । त्यसपछि जो पनि व्यक्ति यो कुर्सीमा बसे उनको रहस्यमयी तरिकाले मृत्यु भयो । लगातार भइरहेको यी मृत्युका कारण पबका मालिकले कुर्सीलाई पबको गोदाममा राखिदिए । तर यहाँ पनि यो कुर्सीले मानिसहरुको पिछा गर्न छोडेन ।

थर्स्कको संग्रहालयमा छ यो ‘हन्टेड’ कुर्सी

एक पटक गोदाममा सामान राख्न गएका कामदार थाकेर उक्त कुर्सीमा बस्न पुगे । त्यसपछि उनको पनि केही घण्टापछि मृत्यु भयो । यो घटनापछि पबका मालिकले यो कुर्सीलाई थर्स्कको म्युजियममा दान दिने सोच बनाए । त्यसपछि उक्त म्युजियममा यो कुर्सीलाई पाँच फुट अग्लो स्थानमा राखियो ता कि कोही पनि व्यक्ति गल्तीले पनि यो कुर्सीमा नबसुन् ।

तर यहाँ धेरैले प्रश्न उठाउने गर्छन् जुन अनुत्तरित छन् र सम्भवतः सधैँ अनुत्तरित नै हुनेछन् ।

के थोमसले साँच्चै कुर्सीका लागि हत्या गरे ? के कुनै व्यक्तिले काठको एउटा कुर्सीप्रति यस्तो गहिरो स्नेह राख्न सक्छ ? के थोमसको बदला लिने र ईर्ष्यालु आत्माले उक्त कुर्सीमा बस्न साहस गर्ने कसैलाई पनि आक्रमण गरिरहेको छ ? वा योभन्दा बढी महत्त्वपूर्ण कुरामा हत्या भएको थियो, जुन हामीले कहिल्यै थाहा पाउने छैनौँ ? के कुर्सी साँच्चै ‘हन्टेड’ नै थियो वा यो पैसा कमाउने नौटंकी थियो ?  

कुर्सीमा बसेकाहरुको मृत्युलाई धेरैले एक अशुभ संयोग मात्र मान्छन् । तर जे भएपनि यसबारे धेरै समाचार प्रकाशित भने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप