शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका विद्रोही प्रकाश ज्वाला विजयी, को हुन् ज्वाला ?

बिहीबार, ०८ मङ्सिर २०७९, ०५ : २७
बिहीबार, ०८ मङ्सिर २०७९

सल्यानमा प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला विजयी भएका छन् । उनले गठबन्धनको विरुद्धमा बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतले पराजित गरेका हुन् । 

१ लाख ५७ हजार ७०१ मतदाता संख्या रहेको यस जिल्लामा ८४ हजार २२ मत खसेको थियो । जसमा ज्वालाको पक्षमा ३५ हजार ७०० मत आएको छ । स्वतन्त्र उम्मेदवार शाहको पक्षमा १९ हजार ७८९ मत छ । विशेष गरी ज्वालाको प्रमुख प्रतिस्पर्धी मानिएका नेकपा एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरेका छन् । ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिएका छन् । जसमा ०५६, ०७९ र ०७४ मा सफल भए भने ०५१ सालमा असफल भएका थिए । 

को हुन् प्रकाश ज्वाला ? 

०२३ मंसिर १२ गते सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ मा जन्मिएका ज्वाला राजनीतिक यात्रा निकै सङ्घर्षशील छ । पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताएका उनी  ०७४ मा सल्यान (ख) बाट प्रदेश सभा चुनाव जितेर सरकारको अर्थमन्त्रीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन्। ०५१ को आम निर्वाचनमा नेकपा एमाले सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका ज्वाला ०५६ को आम निर्वाचनाट नेकपा एमालेका तर्फबाट सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

यस्तै ज्वालाले ०७० सालमा समेत चुनाव जितेका थिए । ०६२/०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिएर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएर लागेका थिए ।  राजनीतिक यात्राकै क्रममा प्रकाशबहादुर बुढाथोकीबाट ’प्रकाश ज्वाला’ का रूपमा उनको परिचय बनेको थियो । १० वर्ष नेकपा एमाले जिल्ला कमिटी सल्यानको सचिव बनेका उनी सल्यानमा प्रभावशाली नेताको छवि बनाएका छन् । त्यहाँ उनी व्यक्तिगत रूपमा बलिया छन्। 

शान्ति प्रक्रियापछि अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भई प्रभावकारी भूमिका निभाएका उनले प्रतिनिधि सभा राज्य व्यवस्था तथा प्राकृतिक स्रोत साधन समितिको सभापति भएर तत्कालीन राजा र दरबारको जग्गा जमिनलगायत सम्पत्ति छानबिनमा काम गरेर निकै लोकप्रियता कमाएका थिए । जसले उनलाई राष्ट्रिय राजनीतिमा प्रभाव राख्नका लागि मद्दत पु¥याएको थियो । बुढाथोकी एमाले पोलिटव्यूरो सदस्य, केन्द्रीय संगठन विभागका सदस्यसँगै राप्ती अञ्चल समन्वय कमिटी संयोजक भएर तत्कालीन पार्टी नेतृत्वमा योगदान दिए ।

ज्वालाको परिचय लेखकका रूपमा पनि परिचित छ । उनका प्रतिनिधि सभामा प्रकाश ज्वाला, एक्काइसौँ शताब्दी समाजवादको शताब्दी, वैचारिक विचलनको भुमरीमा माओवादी आन्दोलन लगायतका कृषिहरू प्रकाशित छन् । राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका उनी तत्कालीन प्रधानमन्त्री झालनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार (२०६७–२०६८) भएर समेत काम गरेका थिए । 

०७४ मा एमालेबाट प्रदेश सभा (ख) मा चुनाव लडेका ज्वालाले १९ हजार ८३६ मत ल्याएर निर्वाचित भएका थिए । उनी कर्णालीको पहिलो अर्थमन्त्री भएर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेकपा भित्रको अन्तरसंघर्षका क्रममा उनले माधव कुमार नेपाल खेमाको लिड गर्दै ओली पक्षधर यामलाल कँडेलहरूको विरुद्धमा विद्रोह गरेका थिए भने उनीसहित चारजना तत्कालीन एमाले सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाएका थिए । 

ज्वालाहरूको उक्त विद्रोहको बिउ भनेको अहिलेको सत्ता गठबन्धन हो । उनीहरूको विद्रोहले कर्णालीमा गठबन्धनको आधार तयार भएको थियो । विद्रोहको नेतृत्व गरेका ज्वालासहित चार जनालाई एमालेले निष्कासन ग¥यो । त्यसपछि नेकपा हुँदै एमाले विभाजन भयो । माधव नेपालले गठन गरेको एकीकृत समाजवादीको उपमहासचिव एवं प्रदेश इन्चार्जको जिम्मेवारी पाएका उनले माधव नेपाललाई कठिन परिस्थितिमा साथ दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप