बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख १ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ०४ : ३६
बिहीबार, ०८ मङ्सिर २०७९

दैलेख निर्वाचन क्षेत्र नं. १ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार २५६ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले १७ हजार ४०७ मत पाएका छन्। थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन्।

पुनः चुनाव जितेका थापा को हुन् ?

थापाले यसअघि ०६४, ०७० र ०७४ को संसदीय निर्वाचन भाग लिइसकेका छन् । जसमा ०६४ मा पराजित भए भने दुई वटा संसदीय निर्वाचनमा उनी सफल भए । ०७४ मा उनी दैलेख १ (ख) बाट प्रदेश सभामा चुनाव जितेका थिए । थापालाई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा ( माओवादी केन्द्र) को साथ थियो । जसका कारण निकै कमजोर सांगठनिक अवस्था रहेको दलका नेता थापा विजयी भए । 

२०१२ सालमा भगवतीमाई गाउँपालिका १ दैलेखमा जन्मिएका थापा पटक–पटक निर्वाचनमा भाग लिँदै आएका नेता हुन् ।  ०२८ र ०३२ सालमा २ पटक वडाध्यक्ष ०३५ सालमै उपप्रधान बनेका उनी मूलतः ०३३ सालमा जनमत संग्रहमा सक्रिय रूपमा सहभागी भएका थिए । त्यो बेलामा बहुदलको पक्षमा उभिएका थापा ०३९ सालमा जिल्ला पञ्चायत सदस्य हुँदै ०४८ सालमा नेकपा एमालेमा आबद्ध भएका थिए । तथापि उनी ०४२ सालमै कम्युनिस्ट पार्टी प्रति आस्थावान्, स्वतन्त्रता, वामपन्थी राजनीतिमा खुलेर लागेका थिए ।

एसएलसीसम्मको शिक्षा आर्जन गरेका थापा हक्की स्वभावको नेताका रूपमा दैलेखमा परिचित छन् । राजनीतिक संघर्षकै बेलामा १३ पटक हिरासत र डेढ महिना जेल जीवन बिताएका उनी ०४८ सालमै स्वतन्त्र उम्मेदवारी दिएर जिल्ला विकास समितिमा विजयी भएका थिए । त्यो हिसाबमा दैलेखको राजनीतिमा थापाको योगदान उल्लेखनीय छ । १४ वर्ष नेकपा एमालेको जिल्ला कमिटीको नेतृत्व गरेका थापालाई दैलेखमा एमालेको सांगठनिक अवस्था सुदृढ गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको श्रेय पनि जान्छ । किनकि ०४८ सम्म दैलेखमा नेमकिपाको दवदाब थियो । थापाहरूकै अगुवाइमा नेमकिपा एमालेमा समाहित हुनेदेखि थापाले लगातार पार्टीलाई स्थापित गर्नमा अग्रसर भएर काम गरे । 

थापाका अहिलेका प्रतिस्पर्धी एमाले नेता शर्मा र थापा एमालेबाट पालैपालो निर्वाचनमा भाग लिने गर्दथे । ०५४ सालमा एमाले सचिव हुँदा शर्मा अध्यक्ष थिए । शर्मा–थापाको सहयात्रा ४८ देखि ०७४ सम्म रह्यो । मूलतः यी दुई व्यक्तिबीच एमालेभित्र रहँदा आन्तरिक प्रतिस्पर्धा थियो । ०७४ शर्मा प्रतिनिधि सभामा जाँदा थापा प्रदेशमा झरे । प्रतिनिधि सभामा थापाले शर्मालाई भोट मागेका थिए भने प्रदेश सभातर्फ शर्माले थापालाई भोट मागेका थिए । शर्मा २३ हजार ७७३ मतसहित विजयी  हुँदा थापा प्रदेशमा १२ हजार ५६७ मतसहित विजयी भएका थिए ।

तर प्रदेश सरकारमा नेकपाभित्रको अन्तसंघर्षका क्रममा थापा विद्रोही भूमिकामा प्रस्तुत भए । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिन एमालेको निर्णय विरुद्ध ‘फ्लोर क्रस’ गरेका उनको एमालेले सांसद पद खोसिदियो । तर पनि उनले ६ महिना प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाए भने राजनीतिक रूपमा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेर प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

पराजित शर्माको राजनीति यात्रा पनि कम सङ्घर्षशील भने छैन । शर्माले ०४८ र ०५१ सालमै संसदीय चुनाव लडेका थिए । तर शर्मा दुवै पटक पराजित भए । राप्रपा महामन्त्री शाहीले यसअघि दुई पटक समानुपातिक तर्फबाट चुनाव लडेर राज्यमन्त्री भइसकेकी युवा नेतृ हुन् । उनी ०७२ मा ६ महिना स्थानीय विकास राज्यमन्त्री र ०७४ मा ३ महिना सहरी विकास मन्त्री भएकी हुन् । अनेरास्ववियुको राजनीतिबाट राजनीति सुरु गरेकी शाही ०४७ सालमा राप्रपामा लागेकी थिइन् । विद्यार्थी राजनीतिमा उनले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा निकै लोकप्रियता कमाएकी थिइन् । अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी संघको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष थिइन् । राप्रपाको राजनीतिमा लागेको तीन दशपछि नायिका रेखा थापालाई पराजित गर्दै महामन्त्रीमा निर्वाचित भएकी थिइन् । उनी दैलेखबाट राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव राख्ने नेतृमा पर्छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप