पूर्वप्रधानमन्त्री खनाल पछाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओली विजयी भइसकेका छन् । पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाल जारी मतगणनामा अगाडि छन् भने पूर्वप्रधानमन्त्री खनाल मतगणनामा पछि परेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा निर्वाचन क्षेत्र नं १ बाट २५ हजार पाँच सय ३४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । यस्तै झापा निर्वाचन क्षेत्र नं ५ बाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली फराकिलो मतान्तरसहित विजयी बनेका छन् । उनले ५२ हजार तीन सय १९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत प्राप्त गरे ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनले हालसम्म २१ हजार ७५ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत प्राप्त गरेका छन्। सो क्षेत्रमा मतगणना जारी छ ।
रौतहट क्षेत्र नं १ मा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम गरिराखेका छन् । उनले २३ हजार एक सय ४९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार गुप्ताले १८ हजार दुई सय नौ मत प्राप्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल भने जारी मतगणनामा पछि परेका छन् । इलाम क्षेत्र नं १ मा एमालेका महेश बस्नेतले १० हजार दुई सय ७८ मत पाउँदा पूर्वप्रधानमन्त्री खनालले आठ हजार सात सय ८० मत मात्र पाएका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द यसपटकको निर्वाचनमा उम्मेदवार बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु