शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर’ ?

बुधबार, ०७ मङ्सिर २०७९, १८ : २८
बुधबार, ०७ मङ्सिर २०७९

स्थानीय चुनावमा कैलालीको ४ पालिकामा विजयको झण्डा गाडेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यसपालिको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा पनि तहल्का मच्चाइरहेको छ । कैलाली–३ मा प्रतिनिधि तथा प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीले  ‘क्लीन स्वीप’ गरेको छ ।

कैलाली–१ मा पनि ‘क्लीन स्वीप’ गर्ने अवस्था छ, जहाँ रेशम पत्नी रन्जिता श्रेष्ठ चौधरी संघीय सांसदमा प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीभन्दा फराकिलो मतान्तरले अगाडि छिन् । उता, कैलालीकै छिमेकी जिल्ला बर्दिया–१ मा रेशम चौधरीको छाया उम्मेदवार लालवीर चौधरी २६,५२० मत ल्याई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी एमाओवादीका सुरेश पन्थलाई मात्र १३६ मतले पराजित गरेका हुन् । 

राजापुर बजार क्षेत्र रहेको बर्दिया–२ मा रेशम चौधरी आफै उम्मेदवार हुन चाहन्थे । उम्मेदवारीको घोषणालगत्तै माहोल उनको पक्षमा आएको थियो । त्यसैले, उनले नागरिक उन्मुक्ति पार्टीबाट सो क्षेत्रमा उम्मेदवारीसमेत दिएका थिए । तर प्राविधिक कारणवश उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । रेशम चौधरीले आफ्नो उम्मेदवारी धरमर हुन सक्ने आकलन गर्दै छायाँ उम्मेदवारको रुपमा आफ्नै पिता लालवीर चौधरीलाई स्वतन्त्र उम्मेदवारी दिलाएका थिए । लालवीर चौधरीले नल्का चुनाव चिन्ह पाए । यही नल्काले धक्का दिँदा एमाओवादीका सुरेश पन्थ थोरै मतले चिप्लिए ।

‘राज्यले आफ्नो छोरालाई झुटा मुद्दामा फसाएको’ भन्दै छोरा रेशमको तस्बिर घाँटीमा झुण्ड्याई लालवीरले गाउँ गाउँ गई न्यायका लागि भोट मागे । यो क्षेत्र त्यसै पनि थारु बहुल क्षेत्र हो । त्यसैले, उनको त्यो चुनावी हत्कण्डाले जनताको मन छोयो । उनले पार्टीको चुनावचिह्न ढकिया नपाए पनि नल्का चिह्नले असर गर्न सकेन । १० वर्षे माओवादी जनयुद्धमा बर्दिया जिल्लाबाट सबैभन्दा बढीनागरिक वेपत्ता भएका छन् । ‘माओवादीले थारु समुदायलाई उपेक्षा गरेको र मुद्दा छाडेको’आरोप त छँदै थियो । थरुटह आन्दोलनका क्रममा ०७२ भदौ ७ मा ८ जना सुरक्षाकर्मी र १ नाबालकको ज्यान जानेगरी झडप हुँदा उक्त घटनामा संलग्न रहेको भन्दै दर्जनौँ थारुहरुलाई पक्राउ गरी ज्यानमुद्दा चलाइयो । सोही घटनाको योजनाकारको रुपमा अदालतले रेशम चौधरी र लक्ष्मण थारुसहित ७ दर्जन बढीलाई जन्मकैदको सजाय सुनाइयो । 

खास गरी नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थारु समुदायका नेताले त्यो घटनालाई ‘राजनीतिक’भन्दै अघिल्लो स्थानीय र यसपालीको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा पनि मुद्दा बनाए । यसमा नागरिक उन्मुक्तिले बलियो जनादेश पाइरहेको अवस्था छ । 

कुलोपानीका अगुवा लालवीर
समाजसेवामा रुचि राख्ने कुलोपानीका अगुवा हुन् लालवीर चौधरी । कैलालीबाट बर्दिया चुनाव लड्न आएपछि उनलाई केहीले टुरिष्ट उम्मेदवार समेत भने । तर उनका बुवाका ६ भाइमध्ये ४ जना अझै पनि बर्दियामै छन् । लालवीरका बुवा हस्तराम थारुसहित दुई भाइ २०३६ सालतिर बर्दियाको तत्कालीन खैरीचन्दनपुर गाउँपालिकाको पखैपुर गाउँबाट कैलाली टीकापुर क्षेत्रको जगतपुरमा बसाइँ सरेका थिए । 
लालवीर गाउँको लिखनदरिया, बरघर भई सुरुदेखि गाउँको अगुवाइ गर्दै आएका थिए । रानी–जमरा–कुलरिया सिँचाइको पनि अगुवाइ गरेपछि कैलालीको टीकापुर तथा बर्दियाको राजापुर दुवै क्षेत्रमा उनी परिचित अनुहार हुन् ।

रानी–जमरा–कुलरिया सिँचाइ प्रणाली पूर्वी कैलालीस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएकोे सवैभन्दा ठूलो सिँचाइ प्रणाली हो । यस प्रणालीको पानीको स्रोत कर्णाली नदी (पश्चिमी भंगालो झरही नाला) रहेको छ । यस प्रणालीको निर्माण करिब १२० वर्षभन्दा अगाडि विभिन्न चरणमा स्थानीय समुदायको अथक प्रयासबाट भएको थियो । यस प्रणालीले कैलालीको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको गरी जम्मा करिव ११ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलव्ध गराउँदै आएको छ । यस सिँचाइ प्रणालीको व्यवस्थापन गर्न तीन वटा प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था छ । लालवीर चौधरी यही कुलापानीको चौधरी अर्थात् अगुवाको रुपमा करिब ३० वर्षदेखि कार्यरत छन् । गत वर्ष यही सिँचाइ जल उपभोक्ता संस्था मूल समितिको अध्यक्षको चुनावमा भने उनी हारेका थिए । 

लालवीर चौधरीका भतिजा बालकुमार चौधरीका अनुसार राजनीतिमा लालवीरको खास रुचि थिएन । तर जब २०७२ भदौको टीकापुर घटनाका कारण प्रवासमा रहेका रेशम चौधरीले वारेसमार्फत् २०७४ सालको तत्कालीन राजपाबाट संघीय सांसदमा उम्मेदवारी दिए । एमालेले उनका बुवा लालवीर चौधरीलाई प्रदेश सांसदमा उठायो । यसअघि उनी कुनै राजनीतिक चुनावी प्रतिस्पर्धा गरेका थिएनन् । 

२०७४ मा रेशम चौधरीले विपक्षीभन्दा दोब्बर मत ल्याएर चुनाव जिते भने राजपाकै कृष्णबहादुर चौधरीले उनका बुवा लालवीर चौधरीलाई प्रदेश सांसदमा हराएका थिए । बुवा एमाले प्रवेश गरी प्रदेश सांसदमा​​उठेको रेशमलाई मन परेको थिएन । तर यसबीचमा कर्णालीमा धेरै पानी बग्यो । रेशमले पितालाई नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सल्लाहकार समितिको संयोजकको मात्रै जिम्मेवारी दिएनन् । आफ्नो छायाँ उम्मेदवारसमेत बनाए । बुवाको प्रदेश सांसद बन्ने यस अघिको सपना भन्दा दोब्बर खुशी यसपाली संघीय सांसद बन्ने सपना साकार पारिदिए । लालवीर समाजसेवामा ‘वीर’ त छँदै थिए, अब  उनलाई राजनीतिमा पनि आफू ‘वीर’ रहेको साबित गर्नु छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप