शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका १५ उम्मेदवार, जो चर्चामा रहे, जित्न सकेनन्

बुधबार, ०७ मङ्सिर २०७९, १६ : १७
बुधबार, ०७ मङ्सिर २०७९

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न आम निर्वाचनको मतगणना सकिइसकेको छ । निर्वाचनमा कतिपय निर्वाचन क्षेत्रका उम्मेदवारको चर्चा व्यापक भए । उनीहरूको प्रचारप्रसार शैलीदेखि व्यक्तित्व र बौद्धिकता मिडियादेखि आम सर्वसाधारणसम्म चर्चाको विषय बन्थ्यो । तर तिनै उम्मेदवारहरूले यो निर्वाचनमा विजय हासिल गर्न सकेनन् ।

काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले विजय हासिल गर्न सकेनन् । उनले ४ हजार ११५ मत ल्याएर तेस्रो स्थान हासिल गरे । यस्तै सोही क्षेत्रबाट पूर्वडीआईजी समेत रहेका नेपाल सुशासन पार्टीका रमेश खरेलले पराजय भोगे । उनले ३ हजार १२४ मात मात्रै पाए ।

यस्तै काठमाडौं १ का अर्का चर्चित उम्मेदवार हुन्, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र । उनले पनि जित्न सकेनन् । कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग उनी झिनो मतान्तरले पराजित भएका हुन् । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मत पाए । 

यस्तै काठमाडौं २ बाट पूर्वसभामुख ओनसरी घर्तीले पराजय भोगिन् । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले जित्दा ओनसरी चौथो बनिन् । ओनसरीले ९ हजार ४४९ मत ल्याएर चौथो स्थान हासिल गरेकी हुन् । सोही क्षेत्रमा चर्चामा रहेकी राप्रपाकी कुन्ती पोखरेलले पनि ११ हजार १४ मत ल्याएर पराजय भोगिन् । 

यस्तै काठमाडौं क्षेत्र नम्बर ४ मा चर्चामा रहेका अर्का उम्मेदवार राजन भट्टराईले जित्न सकेनन् । एमालेका उम्मेदवार उनी कांग्रेस नेता गगन थापासँग पराजित भए । गगनले २१ हजार ३०२ मत पाउँदा राजनले १३ हजार ८५५ मत मात्रै पाए । 

यस्तै काठमाडौंँ ५ बाट कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी हुँदा सोही क्षेत्रमा चर्चामा रहेका श्रीराम गुरुङ, हेमराज थापा, रञ्जु दर्शना र  ईश्वर पोखरेलसमेत पराजित बने ।  एमालेका उम्मेदवार ईश्वरले १० हजार १७५ मत पाएर पराजय भोगे भने प्रदीपले १५ हजार २३७ मत पाए । 

यस्तै स्वतन्त्र उम्मेदवार श्रीरामले २७६१ मत पाउँदा हेमराजले २४४० मत पाए । यस्तै रञ्जुले मात्र ६०० मत पाइन् । उनीहरूले प्रचारप्रसार आक्रामक रुपमा गरेका थिए भने युवा भएकाले चर्चा पनि राम्रै पाएका थिए । तर, पोखरेललाई भने मतदाताले हेविवेट भएपनि रुचाएनन् । 

यस्तै काठमाडौं ६ मा पूर्वआईजीपी सर्वेन्द्र खनालको निकै चर्चा भयो । चुनावअघि एमालेमा प्रवेश गरेर सो क्षेत्रबाट टिकट पाएका उनले विजय हासिल गर्न सकेनन् । यस्तै यसअघि विजयी भएका कांग्रेसका भीमसेनदास प्रधान पनि पराजित भए । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ हजार २०४ मतका साथ विजय हासिल गर्दा सर्वेन्द्रले ८ हजार ९११ मत पाए । यस्तै भीमसेनदासले ८ हजार ८०५ मत पाए । 

यतै काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमि भट्टराईको निकै चर्चा भयो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी उनले जित्न सकिनन् । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी हुँदा मानुषी तेस्रो भइन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजय हासिल गरेका हुन् भने मानुषीले ६ हजार ६३ मत मात्रै ल्याउन सकिन् । 

यस्तै क्षेत्र नम्बर ८ मा स्वतन्त्र उम्मेदवार सुमन सायमि र एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीवनराम श्रेष्ठले हारे । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठ विजयी भए । यसअघिका विजयी जीवनराम ४ हजार ३८२ मत पाएर तेस्रो भए भने दोस्रोमा स्वतन्त्र उम्मेदवार सायमी भए । सायमी सम्पदा अभियन्ताका रुपमा समाजसेवा हुँदै राजनीतिमा आएका  हुन् ।  सो क्षेत्रमा विजयी भएका विराजले १० हजार १०५ मत पाए ।

 यस्तै काठमाडौं ९ मा उम्मेदवार बनेका  मिलन पाण्डे पनि चर्चामा रहे । तर नतिजाचाहिँ एमालेका कृष्ण गोपाल श्रेष्ठको पक्षमा आयो । मिलनले साझा पार्टीबाट मात्र २३२७ मत पाए ।  मतगणनाको नतिजाको ट्रेन्ड हेर्दा काठमाडौंमा मतदाताले केही नयाँ र युवा उम्मेदवारलाई छाने तर कतिपय चर्चामा रहेका उम्मेदवारले आशातीत मत पाउन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप