बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मत परिणाममा पछि परेपछि कमेडियन हिमेशको अपमानजनक टिप्पणी

बुधबार, ०७ मङ्सिर २०७९, ११ : ०४
बुधबार, ०७ मङ्सिर २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका कमेडी च्याम्पियन विजेता हिमेश पन्तले आफु मत परिणाममा पछि परेपछि मतदातामाथि अपमानजनक टिप्पणी गरेका छन् । 

धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । मत गणनाको सुरु देखि नै तेस्रो स्थानमा रहेका हिमेशले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गाउँ र लेकका मानिसको चेतनास्तरमा अझै सुधार नआएको टिप्पणी गरेका छन् ।

‘हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएता पनि पहाड, गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन,’ उनले भने, ‘हामी प्रचार प्रसारमा हिँड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै नै सुन्न पाइयो । कतिले त भोट चाहिए रक्सी खुवाउनुस् सम्म भन्न भ्याए ।’ उनले धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो नहुने समेत बताएका छन् ।

यस्तो छ उनको स्टाटस
करोडौं करोड खर्च गरेर चुनाव लड्नेहरुसँग २–४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ ओटा गाउपालिका र १ ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड, गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन । हामी प्रचार–प्रसारमा हिँड्दै गर्दा ‘जस्ले दिन्छ नोट, उसैलाई भोट।’ भनेको पनि धेरै नै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्।’ सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा  काठमाडौ जस्तो हुँदै हैन। निर्वाचन आयोगले दिएको १२–१३ दिनको प्रचार–प्रसारमा ५३ ओटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो । म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट ः मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर–धम्कीबाट आएको भोट हैन । विना–संगठन, विना गठबन्धन, बिना पैसा, बिना अनुभव ‘मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भिड्ने दम कुनै युवामा थियो ??’ सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो । जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउँदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्ग्रो  बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धि हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप