फिफा विश्वकपमा बियर र फुटबल बीचको लामो युद्धको कथा
इक्वेडरका एक फ्यान आफ्नो टिमको खेल हेरेर फर्किरहेका थिए । उनको टोलीले फिफा विश्वकपमा आयोजक राष्ट्र कतारलाई २–० ले हराएको थियो ।
बीबीसीले उनलाई स्टेडियम भित्र बियर प्रतिबन्ध बारे सोध्यो ।
होजे नामका यी फ्यानले छोटो जवाफ दिए – ‘धेरै निराशाजनक’
‘मैले एउटा बियर भेट्टाएँ जसमा शून्य प्रतिशत अल्कोहल थियो । तर कम्तिमा मैले केहि त पाएँ । फ्लेभर नै सही ।’
अर्का एक फ्यान एमिलियो भन्छन्, ‘यो शत प्रतिशत गलत हो । मानिसहरूले स्टेडियम भित्र बियरको लागि नारा लगाएको सुनियो ।’
अन्तिम समयमा कतारमा भइरहेको विश्वकपका बेला बियरमाथि लागेको प्रतिबन्ध, फिफा र रक्सीबीच दशकौँदेखि चल्दै आएको एक किसिमको युद्धको हिस्सा हो ।
यसअघि पनि फिफाले बियर कम्पनीहरूलाई प्रायोजन गरेको आरोप लागेको थियो ।
फिफाले फ्यानको सुरक्षालाई भन्दा पनि पैसालाई प्राथमिकता दिएको बताइयो ।
फिफाको प्रतिबन्ध नीति
यद्यपि, हालैका वर्षहरूमा फिफाले आयोजक राष्ट्रहरूलाई रक्सीलाई अनुमति दिन मनाउन प्रयास गरिरहेको छ ।
तर यसअघि उसले रंगशालालाई ड्राई अर्थात् मदिरारहित राख्न सुझाव दिँदै आएको थियो ।
सन् २००४ सम्म, फिफाको नियम अन्तर्गत आयोजक स्टेडियमभित्र रक्सीको बिक्रीलाई निषेध गरिएको थियो ।
यससँगै स्टेडियममा मदिरा सेवन गर्ने प्रत्येक व्यक्तिलाई बाहिरको बाटो देखाउने व्यवस्था पनि गरिएको थियो ।
तर यी नियममा परिवर्तन र स्टेडियमभित्र बियरको अनुमतिको पैरवी गरेपछि फिफा र केही आयोजक देशबीच झगडा देखिएको छ ।
ब्राजिलमा बियरमाथिको प्रतिबन्ध हटाउनु पर्‌यो
सन् २०१४ मा ब्राजिलले विश्वकप फुटबल आयोजना गरेको थियो ।
यस देशमा फुटबल कुनै धर्मभन्दा कम छैन र पाँच पटकको विश्वकप विजेता राष्ट्रमा प्रतियोगिता हुनु ठूलो एउटा ठूलो आयोजना थियो ।
तर यसमा एउटा मात्र समस्या थियो ।
ब्राजिलमा बियर निकै चर्चित छ तर अन्य धेरै देशहरू जस्तै ब्राजिलमा पनि फ्यानहरूको उत्साह धेरै पटक हिंसामा परिणत भएको छ ।
यही कारणले गर्दा सन् २००३ मा ब्राजिलमा फुटबल खेलमा बियर प्रतिबन्ध लगाइएको थियो ।
यो कदम रंगशाला भित्र हिंसा र गुण्डागर्दी रोक्नको लागि थियो ।
तर फिफाको मुख्य प्रायोजक बियरको ठूलो ब्रान्ड बडवाइजर हो ।
त्यसैले फिफाले ब्राजिललाई बियर सम्बन्धी आफ्नो नियम परिवर्तन गर्नुपर्ने बतायो । त्यतिबेला फिफाका महासचिव जेरोम भाल्कले भने, ‘मदिरा फिफा विश्वकपको महत्त्वपूर्ण हिस्सा हो, त्यसैले हामी यसलाई उपलब्ध गराउने छौँ । माफ गर्नुहोस् यदि म अलिकति घमण्डी देखिएको भए, तर यस विषयमा कुनै छलफल सम्भव छैन ।’
‘र बियर बेच्ने अनुमति नियम अन्तर्गत नै हुनुपर्छ ।’
ब्राजिलका स्वास्थ्य मन्त्रीले यसमा आपत्ति जनाए र देशका राष्ट्रपतिका सल्लाहकार मार्को गार्सियाले फिफा महासचिवलाई कट्टर, औपनिवेशिक र मूर्खको रूपमा वर्णन गरे।
तर विभिन्न आपत्तिपछि आयोजक ब्राजिलले आफ्नो नियम परिवर्तन गर्नुपर्यो र खेलका क्रममा बियर बेचियो र सेवन पनि गरियो ।
प्रतियोगिताका क्रममा फ्यानहरूबीच पटक पटक झडपसमेत भयो । कोलम्बिया र उरुग्वेबीचको खेलमा धेरैलाई स्टेडियमबाट निकाल्नुपर्यो ।
आलोचना बढ्दै जाँदा, फिफा महासचिव वाल्कले एक टिभि च्यानललाई भने, ‘म रक्सी पिउनेहरूको संख्या देखेर छक्क परेँ । धेरै मानिसहरू नशामा थिए ।’
फिफाले भविष्यमा आफ्नो नीति परिवर्तन गर्न सक्छ कि भनेर सोध्दा उनले भने, ‘यदि हामीलाई रक्सीको बिक्री नियन्त्रण गर्न आवश्यक छ जस्तो लाग्यो भने अवश्य गर्नेछौँ ।’
रूसमा दबाब
तर सन् २०१८ मा रसियामा भएको विश्वकपमा फिफाको नीतिमा खासै परिवर्तन भएको छैन । ब्राजिल झैँ रुसमा पनि प्रमुख खेलकुद कार्यक्रममा मदिराको सेवन सीमित राख्ने नीति छ ।
रुसले सन् २००५ मा स्टेडियमभित्र रक्सीको बिक्री, सेवन र विज्ञापनमाथि रोक लगाएको थियो ।
सन् २०१४ मा रुसको सोचीमा भएको विन्टर ओलम्पिक खेलमा कुनै पनि रक्सी कम्पनी प्रायोजक थिएन ।
सन् २०१२ मा रुसले टिभी, अनलाइन र प्रिन्ट मिडियामा रक्सीको विज्ञापनमा पूर्ण रुपमा रोक लगाएको थियो ।
तर अर्को वर्ष, राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकप खेलहरूमा रक्सी बेच्न अनुमति दिने कानुनलाई अनुमोदन गरे । यससँगै विज्ञापनसम्बन्धी नियममा पनि केही छुट दिइएको छ ।
धर्मका कारण विरोध
फिफा र आयोजक राष्ट्र मात्र विश्वकपमा मदिराको विषयमा झगडा गर्दैनन् ।
युरो २०२२ मा पनि फिफा र खेलाडीबीच विवाद भएको छ ।
पत्रकार सम्मेलनमा हाइनकेन ब्राण्डको बियर टेबलमा राखिएकोमा खेलाडीहरूले आपत्ति जनाएका थिए ।
प्रसिद्ध फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाले आफ्नो पत्रकार सम्मेलनमा कम्पनीको बोतल हटाएपछि मात्रै आफ्नो कुराकानी सुरु गरे ।
उनकै टोलीका करिम बेन्जेमाले पनि बियरको बोतल नराखिकनै पत्रकारहरूसँग कुरा गरे ।
यद्यपि, दुबै अवसरहरूमा, हाइनकेनले प्रेस सम्मेलनको क्रममा टेबलमा जुन बियर राखेको थियो त्यसमा अल्कोहलको मात्रा शून्य थियो । तर दुवै खेलाडीलाई ब्राण्डसँग जोड्नेमा आपत्ति थियो ।
कतार विश्वकपमा प्रतिबन्ध
अब यो विश्वकपको कुरा गरौँ ।
फिफा विश्वकप २०२२ मा, आयोजक राष्ट्रलाई धार्मिक कारणले बियरबाट टाढा रहनुपर्ने बाध्यता छ । कतारमा रक्सीको बिक्री अत्यधिक सीमित र नियन्त्रित छ ।
यही कारणले गर्दा अन्तिम समयमा फिफाले स्टेडियम भित्र बियर बिक्रीमा प्रतिबन्ध लगाउने सहमति गरेको हो ।
तर अझै पनि भीआईपी टिकट भएका व्यक्तिहरूले खेल अघि, खेल भइरहेकै बेला र खेल पछि आफ्नो बक्समा बसेर रक्सी पिउन सक्छन् ।
अब फिफाको यो निर्णयले आफ्नो साझेदार प्रायोजक बडवाइजरको सम्बन्धमा कस्तो असर पार्छ त्यो हेर्नु पर्ने छ ।
सन् १९८० को दशक देखि नै फिफाको एक प्रमुख प्रायोजक रहँदै आएको बडवाइजरले प्रत्येक विश्व कपमा ७५ मिलियन अमेरिकी डलर संस्थाको खातामा हाल्दै आएको छ ।
बडवाइजर एक अमेरिकी ब्रान्ड हो । सन् २०२६ मा हुने विश्वका तीन आयोजक राष्ट्रमध्ये अमेरिका पनि एक हो ।
कम्पनीले आफ्नो बियर अमेरिकामा बेच्न पाउने आशा राखेको छ ।
बीबीसी