शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका पाँच जिल्लामा मतगणना जारी, चार क्षेत्रमा गठबन्धन अगाडि

मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : ५०
मङ्गलबार, ०६ मङ्सिर २०७९

कर्णाली प्रदेशका १० वटामध्ये पाँच वटा जिल्लामा मतगणना जारी छ । जसमध्ये रुकुम पश्चिमको सुरुवाती नजिता बाहिर आएको छैन भने बाँकी चार जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । 

गठबन्धनले लिड गरिरहेको क्षेत्रमध्ये सुर्खेत निर्वाचन क्षेत्र नम्बर २, दैलेख निर्वाचन क्षेत्र नम्बर २, जाजरकोट र सल्यान हुन् । यस्तै नेकपा एमालेले दैलेख निर्वाचन क्षेत्र नम्बर १ ले अग्रता लिएको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले फराकिलो अग्रता कायम गरिरहेका छन् ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ कांग्रेस फराकिलो मतान्तरले अगाडि छ । २८ हजार ९६३ मत गणना गर्दा कांग्रेसका हृदयराम थानीले १४ हजार १९६ मत प्राप्त गरेका छन् भने एमालेका अमृत बिसीले १० हजार ७७४ मत प्राप्त गरेका छन् । 

दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ दुई पूर्व सहकर्मीबीच कडा टक्कर भइरहेको छ । सुरुवाती चरणमा अग्रता लिएका एमालेका रविन्द्रराज शर्मालाई त्यसपछि नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापाले लिड गरेका थिए । पछिल्लो नतिजा अनुसार शर्माले ४०० मतान्तरले लिड गरिरहेका छन् । 

पछिल्लो नतिजा अनुसार शर्माले ३ हजार ६८२ मत प्राप्त गर्दा समाजवादीका थापाले ३ हजार २८२ मत पाएका छन् । यस्तै नेमकिपाका प्रकाश गुरुङले ३६९ मत प्राप्त गरेका छन् । राप्रपाकी महामन्त्री कुन्ती कुमारी शाहीले ३१७ मत प्राप्त गरेकी छन् । 

दैलेख क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फको पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।  ११ हजार ४७७ गणना हुँदा कांग्रेसका दिक्पाल कुमार शाहीले ५ हजार ७९६ मत प्राप्त गरेका छन् । 
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले ४ हजार ४८६ मत प्राप्त गरेका छन् । 

सुरुवाती चरणमा पोखरेललाई उछिनेका नेमकिपाका केशेन्द्र कार्की अहिले तेस्रो नम्बरमा छन् । उनले ९१९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले २०२ मत प्राप्त गरेका छन् । राप्रपाका लोकेन्द्र राज गिरीले ७४ मत प्राप्त गरेका छन् ।

सल्यानमा प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुरुवाती अग्रता लिएका छन् ।   पछिल्लो नतिजा अनुसार ज्वालाले १० हजार ६८९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले ४ हजार ८११ मत प्राप्त गरेका छन् ।

एमालेका राजेन्द्रवीर राय तेस्रो नम्बरमा छन् ।

जुम्लामा प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् । ६ हजार ९२७ मत गन्दा शाहीले ४ हजार ९१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले १ हजार ४४९ मत प्राप्त गरेकी छन् । 

यस्तै नेकपा एमालेका रतननाथ योगीले ७९८ मत प्राप्त गरेका छन् । जाजरकोटका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतको अग्रता कायमै छ । ५ हजार ८६४ मतगणना गर्दा बस्नेतले ३ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २ हजार ३८६ मत प्राप्त गरेका छन् । त्यहाँ स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३४ मत प्राप्त गरेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप