बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सिरहामा ६० प्रतिशतभन्दा बढी मतदान, भोलि मात्र मतगणना

आइतबार, ०४ मङ्सिर २०७९, २० : ४७
आइतबार, ०४ मङ्सिर २०७९

सिरहामा आज सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । अहिलेसम्म प्राप्त सूचनाको आधारमा जिल्लाको २२१ मतदान स्थल र ५०५ मतदान केन्द्रहरूबाट ६० प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले सिरहाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी गनपत यादवका अनुसार अहिलेसम्म प्राप्त मतदान केन्द्रहरूको मत परिणाम अनुसार कम्तीमा ६० र बढीमा ७५ प्रतिशतसम्म मतदान भएको पाइएको हो ।जिल्लाका प्रायः सबै मतदान स्थलहरूमा शान्तिपूर्ण मतदान भएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए । उनले जिल्लाको कर्जन्हा नपा ६ निर्वाचन स्थलबाहेक सबै ठाउँमा सामान्य रूपमा मतदान भएको जनाए । कर्जन्हा नपा ६ मा बिहानै मतपेटिका राख्ने विषयमा दलका प्रतिनिधिहरुसँग भएको विवाद नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड हवाई फाएर गर्नुपरेको थियो ।

आज सबै मत पेटिकाहरू मतगणना स्थलसम्म पुर्‍याएर भोलि मात्र मत गन्न सुरु गरिने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । उनका अनुसार रातिसम्म ढिलो चाँडो सबै ठाउँको मतपेटिका मतगणनास्थलसम्म ल्याएपछि भोलिबाट गणना गर्ने योजना बनिरहेको बताए । सिरहा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत समेत रहेका राईले यो क्षेत्रका सबै उम्मेदवार र दलका प्रतिनिधि तथा नेताहरूलाई भोलि विहान १० बजे बैठकको लागि बोलाइएको बताए। उनीहरूसँगको छलफलपछि ११ बजेबाट मतगणना सुरु गर्ने योजना बनेको सुनाए ।

जिल्लाको क्षेत्र नम्बर १ को मतगणना लहानस्थित दुलिचन अतिथि सदन,  क्षेत्र नम्बर २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, क्षेत्र नम्बर ३ को चन्द्र माध्यमिक विद्यालय सिरहा र क्षेत्र नम्बर ४ को मतगणना मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुने राईले जानकारी दिए ।  जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेश सभा ८ क्षेत्रहरू रहेको छ। जिल्लामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६११ महिला र २ अन्य  मतदाता सहित जम्मा ४ लाख २२ हजार ७१२  मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप