सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

मतदाता शिक्षा र मतदान केन्द्रको व्यवस्थापनमा कमी देखियो : आयोग

आइतबार, ०४ मङ्सिर २०७९, १९ : ४५
आइतबार, ०४ मङ्सिर २०७९

आज सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट मतदान प्रक्रियाको अनुगमन गरेको छ । अनुगमनको क्रममा मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी समेत देखिएकोले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन, मतदान केन्द्र एवं मतदान सामग्रीको व्यवस्थापनमा सुधार गर्न, गराउन आयोगले नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएकाे छ । 

निर्वाचनमा निष्पक्ष, स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि गरिएको अनुगमनमा मानव अधिकार आयोगलगायत मानव अधिकारसँग सम्बन्धित अन्य संवैधानिक आयोगका पदाधिकारीहरू, आयोगका पूर्व पदाधिकारीहरू र कर्मचारीहरू सम्मिलित ४२ वटा टोली अनुगमनमा खटिएका थिए । अनुगमनबाट प्राप्त तथ्यअनुसार झापा, सुनसरी पाँचथर, सुर्खेत, कैलालीलगायतका जिल्लाहरूमा बम विस्फोटका केही घटनाहरू भएको, कैलाली, कञ्चनपुर, मोरङ, दैलेख, डोटी, अछामलगायतका जिल्लास्थित केही मतदानस्थल नजिकै विस्फोटक पदार्थ भेटिएको, हुम्ला, दार्चुला, बाजुरा, दोलखा, रौतहट, सिराहा, चितवन लगायतका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ताबिच झडप हुँदा केही व्यक्ति घाइते भएको बुझिएको आयोगले जनाएको छ । यी जिल्लामा झडप नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा हवाई फायर समेत भएको पाइएको छ ।  

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तारेबराह आधारभूत विद्यालय लुम्ले मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मत खसाल्ने क्रममा मतपेटिका फुटाएको जानकारी प्राप्त भएको छ । हुम्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई हतकडी नखोली मतदान गराइएको छ । पाल्पा, रामेछाप, भोजपुर लगायतका जिल्लाका कतिपय मतदान केन्द्रमा चार, पाँच घण्टा पैदल हिँडेर मतदानको लागि जानुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरणमा कडाइ गरेका कारण अशक्त, अपाङ्गता भएका मतदाताहरूलाई मतदान स्थलसम्म पुर्याउन र घर फर्कनको लागि समस्या भएको जानकारी प्राप्त भएको छ । 

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङकर क्षेत्रका मतदाताले पाँच दिनको बाटो हिँडेर जिल्ला सदरमुकाम खलङ्गास्थित मोती महिला संघको मतदान केन्द्रबाट मतदान गरेको बुझिएको छ । प्युठानको स्वर्गद्वारी स्वास्थ्य चौकीमा कार्यरत सात कर्मचारीमध्ये छ जनालाई निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा बन्द भएको, देशभरका धेरै मतदान केन्द्रहरु अपाङ्गमैत्री नभएको बुझिएको छ । त्यसैगरी, म्यादी प्रहरी तथा देशभर २७ हजारको सङ्ख्यामा रहेका कैदीबन्दीहरुमध्ये अधिकांशले मताधिकारको प्रयोग गर्न पाएनन् । मतदाता शिक्षाको अभाव र निर्वाचनमा खटिएका कर्मचारीलाई पर्याप्त अभिमुखीकरण नभएका कारण मतदानमा अन्यौलता रहेको पाइएको छ । 

सङ्खुवासभाको एक मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको मतपत्र मात्रै दिइएको, पाल्पाको एक मतदान केन्द्रमा प्रदेशसभाको मतपत्र खसाल्ने ठाउँमा प्रतिनिधिसभाको मतपेटिका राखिएको र यस प्रकारका समस्या दाङ्, झापा, ललितपुरलगायतका जिल्लाका केही मतदान केन्द्रमा समेत देखिएकोले केही बेर मतदानमा अन्यौलता सिर्जना भएको बुझिएको छ । यद्यपि बम विस्फोटका घटना तथा भौगोलिक विकटताका बाबजुद मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगी मतदान गरेको पाइएको आयोगको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप