आम निर्वाचनको मतदान सकियो, राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै चम्किने संकेत
देशभर एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको बताउँदै मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ ।
आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातित मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।
आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाएको बताए । उनले उपस्थित मतदाताहरुमा मतदान उत्साहजनक रहेको बताए ।
उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढ्यो । ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्यौं । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ । मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ ।’
त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले पनि मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम पाएको प्रतिक्रिया दिए । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।
यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
केही महिनाअघि मात्रै स्थापना भएको र पहिलो पटक चुनावमा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत ल्याउने आँकलन गरिएको छ । देशभर सो पार्टीको पक्षमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।
रातोपाटीले देशभर गरेका रिपोर्टिङका क्रममा उल्लेख्य मतदाताहरूले आफूहरू विकल्पको पक्षमा रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा रहेको बताएका थिए । प्रत्यक्षमा सीमित सिटमा सो पार्टीको नतिजा आउने देखिएपनि प्रतिनिधिसभाको समानुपातिकतर्फ सो पार्टी चम्किने धेरैको आकलन छ । सो पार्टीले प्रदेशसभातर्फ भने उम्मेदवारी दिएको छैन ।
आजै रातिदेखि मतगणना सुरु हुने
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरूमा आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् ।
उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए । हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरूलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताए । उनले मतदान केन्द्र अहिले शुरुमा भएर त्यति व्यवस्थित हुन नसकेपनि बिस्तारै व्यवस्थित हुनेमा विश्वस्त रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय