शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

जब मेरो गोलले भूकम्प नै आयो !

आइतबार, ०४ मङ्सिर २०७९, १४ : ११
आइतबार, ०४ मङ्सिर २०७९

कुरा भूकम्पबाट सुरु हुन्छ । यदि तपाईं मेक्सिकोमा फुटबलको अर्थ के हो जान्न चाहनुहुन्छ भने, यो त्यसैसम्बन्धी कथा हो । 

सन् २०१८ जुन १७ । हामी रुसमा चलिरहेको विश्वकपमा अघिल्लो प्रतियोगिताको विजेता जर्मनीसँग खेल्दै थियौँ । त्यो मस्को विश्वकपको हाम्रो पहिलो खेल थियो । खेल सुरु भएको ३५औँ मिनेटमा मैले गोल गरेँ । 

त्यो गोलले यता देशमा भने हलचल ल्याइदियो । मैले यहाँ विम्बमा कुरा गरेको होइन । टिभीमा खेल हेरिरहेका सबै जना गोलको खुसीमा एक्कै पटक दशौँ लाख मानिस उफ्रिँदा धर्ती हल्लियो । मेक्सिकोको भूकम्प मापन विभागको संयन्त्रमा गोल भएकै समयमा राजधानी मेक्सिको सिटी भूकम्प मापन भएको थियो । 

एक छिन कल्पना गर्नुहोस् अनि बल्ल बुझ्नुहुनेछ, मेक्सिकोमा फुटबलको अर्थ । जहाँ फुटबलप्रति मानिस पागल सरह उत्साही हुन्छन् । 

रुसमा मैले यस फुटबल विश्वकपमा डेब्यू गरेको थिएँ । र त्यसमा मैले विजयी गोल गरेँ, त्यो पनि अघिल्लो च्याम्पियन्सविरुद्ध । थोरै मानिसले मात्र यस्तो क्षण जिउन पाउँछन् । सम्झिँदा रोमाञ्चको काँडा उम्रिन्छ । मलाई सम्झना छ, त्यस समय मेरा सम्पूर्ण परिवार रोएको थियो । देशमा आएको भूकम्पको बारेमा मैले एक–दुई दिनपछि मात्र थाहा पाएँ । तर मैले मस्कोको जितपछि जे देखेँ, त्यो मेरो लागि विशेष थियो ।

मेक्सिकन फ्यानहरूको चर्को समर्थन, उत्साह सामाजिक सञ्जालभर छाएको थियो । मानिसहरू बार, मेट्रोदेखि सडकसम्म ठूलठूला पार्टी गरिरहेका थिए । र धेरै ठाउँमा मेरो नाममा गीत गाइरहेका थिए । 

‘एल चक्क–क्की लो–जा–आआआ–नोओओओ’

त्यो दिन मेरो लागि धेरै कुरा परिवर्तन भयो । मेरो नाम मेक्सिकन इतिहासका पुस्तकमा अङ्कित भएको थियो । गोलले राष्ट्रिय टोलीमा मेरो हैसियत बढायो र साथमा ईटालियन फुटबल क्लब नापोलीमा मेरो ट्रान्सफरलाई पनि त्यसले सहयोग ग¥यो (त्यसबारेमा पछि चर्चा गर्नेछु ) । त्यो भन्दा पनि यसले म को हुँ भनेर परिवर्तन गर्‍यो ।

बाहिर भूकम्प गएको थियो, मभित्र भने बम पड्किएजस्तो भएको थियो । इमानदारीपूर्वक भन्ने हो भने म अहिले पनि त्यसको परकम्पहरू अनुभव गरिरहेको छु । म अहिले २७ वर्षको भएँ तर मलाई अहिले १० जना व्यक्तिको जीवन बिताइसकेको अनुभव हुन्छ । 

म मेक्सिको सिटीको एक लिखुरे फुच्चे, जोसँग देशका लाखौँ केटाहरूजस्तै उही सपना थियो ः ‘एक दिन म एस्टाडियो एजटेकामा(एजटेका रंगशाला) खेल्नेछु ।’

तर मेरो लागि यो सपना थप सजिव थियो किनभने हाम्रो घर उक्त रंगशालाबाट तीन मिनेट मात्र टाढाको भेनिडा डेल इमानमा थियो । घरबाट माथि फर्केर हेर्दा रंगशालाको बत्ति देखिन्थ्यो । वस्ती सो रंगशालाको छायामा थियो भन्दा पनि हुन्थ्यो, जहाँको जुनसुकै कुनाबाट पनि सो भव्य रंगशाला देख्न सकिन्थ्यो । 

मेरो घर भवनहरूको पङ्क्तिमा थियो । ती घरको पछाडि भागमा एउटा चौर थियो जहाँ हामी बल खेल्थ्यौँ । चौर सम्याइएको थिएन, त्यसैले बल खेल्दा ढुङ्गा र ढिस्कोमा खुट्टा पर्थ्यो । तर म र मेरा दाजुभाइलाई त्यसले बल खेल्न रोक्थेन । हामी जुनसुकै समय त्यहाँ बल खेलिरहेका भेटिन्थ्यौँ ।  

फुटबलको सन्दर्भमा मभित्र एक आगो थियो भन्दा अत्युक्ति नहोला । खेल्दा हामीहरुबीच झगडा र लडाइँ पर्थ्यो । म सबैसँग लडिरहन्थे ! मैदानबाहिरको लजालु र लिखुरे फुच्चे, म फुटबल मैदानमा भने अलग मानिसमा बदलिन्थेँ । 

त्यसपछि म ‘एल चकी’मा बदलिए । तपाईंले मेरो नाम कसरी रह्यो भनेर विभिन्न किस्सा सुन्नु भएको होला । यहाँ म तपाईंलाई वास्तविक कथा सुनाउनेछु । 

१० वर्षको उमेरमा म पचुका एकेडेमीमा खेल्न थालिसकेको थिएँ । म सधैँ मेरो टोलीका साथीहरूसँग ठट्टा गर्थे । धेरैजसो बन्द दराज तथा ओछ्यानमुनि लुकेर साथीहरू आएपछि एक्कासि बाहिर निस्किएर डराउन खोज्थेँ । मेरो कपाल पनि चन्चले बाल–पुतलीकै जस्तो थियो, जसको नाम ‘अल चकी’ थियो । 

यो नाम अपमानजनक रूपमा दिइएको थिएन । एक दिन, म त्यहाँ गएको पहिलो हप्तामा मेरो केही साथीहरू मकहाँ आए र भने ‘हामी तिमीलाई चकी भनेर बोलाउनेछौँ, तिमीलाई अप्ठ्यारो त लाग्दैन नि ?’

उनीहरू मेरो अनुमति माग्न आएका थिए, जुन मलाई रमाइलो लाग्यो । ‘छैन, कुनै समस्या छैन’ मैले भनिदिए । अब नाम त्यो भन्दा खराब पनि हुन सक्थ्यो । र त्यो क्षण देखि, यो नाम मेरो पहिचान बन्यो ।  

यो नाम ठाउँ र भाषा अनुसार केही फरक उच्चारण हुन्छ । जस्तो नापेल्समा, यो नाम ‘चोकी’ वा ‘कुकी’ बनेको छ । पचुकाका अध्यक्षलाई कहिल्यै मेरो वास्तविक नाम थाहै भएन झैँ लाग्छ, जसका लागि म चकी लोजानो मात्र थिएँ । 

म पचुकाप्रति सधैं कृतज्ञ छु । किनकि यसको सहयोगले १८ वर्षको उमेरमा मैले मेरो बाल्यकालको सपना पूरा गर्न पाएँ । टिममा मेरो पहिलो डेब्युको पाँच मिनेटमा मैले क्लब अमेरिकाविरुद्ध विजयी गोल गरेंको थिएँ, त्यो पनि एजटेकामा । 

त्यो एक अविश्वसनीय क्षण थियो । तर त्यसको अर्को पाटो पनि यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ । त्यसको १० दिन मात्र अघि मेरी छोरी डेनियल जन्मिएकी थिइन् । समयको कुरा गर्दा त्यो अर्को भूकम्पको बेला थियो ।

इमानदार भएर भन्ने हो वास्तविकता डरलाग्दो रुपमा अघि आएको थियो । मेरो उमेर धेरै भएको थिएन । मेरी श्रीमती आना गर्भवती भएपछि मलाई करियरबारे चिन्ता लाग्न थालेको थियो । म अझै पनि अन्डर–१८ र अन्डर–२० को टिममा पर्ने प्रयासमा हुन्थेँ । र, खेल मैदानमा लड्न छाडेको थिइनँ । 

ड्यानियलको आगमनले जीवन आफ्नो लागि भन्दा छोरीको लागि बाँच्नु पर्ने स्थिति खडा गरिदिएको थियो । पचुकामा राम्रो गरिरहेको भए पनि म एकदम थोरै कमाइरहेको थिएँ । र छोरीको आगमनपछि अचानक परिवारको जिम्मेवारी थपिएको थियो । मैले परिवारलाई सक्दो गर्नुपर्ने थियो । 

त्यसैले बाल्यकालको सपना रहेको एजटेका रंगशालामा खेल्नु मात्र पर्याप्त रहेन । मैले नयाँ सपना, ठूला लक्ष्यतर्फ हेर्नुपर्ने आवश्यक उत्पन्न भएको थियो । 

मैले संसारलाई फरक ढंगले हेर्न थालें । जब मेरो नजर नक्सामा पर्यो, एक्कासी आखाँ अघि युरोप घुम्न थाल्यो । समाचारहरुमा युरोपमा फुटबल प्रतियोगिता र कमाई राम्रो थियो भन्ने समाचार आइरहन्थ्यो । 

तीन वर्षपछि, म मेरो परिवारलाई लिएर मेक्सिकोबाट पृथ्वीको आधा चक्कर टाढा नेदरल्याण्ड ओर्लिएँ । म डच क्लब पीएसभीमा आबद्ध भएको थिएँ । 

मैले भगवानलाई धन्यवाद दिनैपर्छ, किनभने सो कदम धेरै राम्रो साबित भयो । म क्लब गएको पहिलो सिजनमा पीएसभीले लिग जित्यो । दोस्रो वर्षमै म च्याम्पियन्स लिग खेल्दै थिएँ । उता मेक्सिकोको राष्ट्रिय टोलीबाट पनि नियमित खेलिरहेको थिएँ । 

मेरो क्यारियरमा केही पटक, आना र मैले रोक्किएर के भइरहेको छ विचार गरेका छौँ । आफू पुगेको स्थानबारे मूल्याकंन गरेका छौँ ?  मेरो डेब्यू र पीएसभीको खेलकाबीच धेरै भयो । केही वर्ष बितिसकेको थियो, तर पनि केही दिन मात्रै बितेझैं लाग्थ्यो ।

 विश्वकप (र भूकम्प) पछि अर्को अचम्मको कुरा भयो । एक दिन, मलाई एउटा इटालीयन नम्बरबाट फोन आयो । इटालिन भाषामा सम्बोधन गरेर सुरु भएको फोन कलमा भनिएको थियो ः ‘होला, चक्की ? म कार्लो एन्चेलोटी बोल्दैछु । ’

जब मैले यो नाम सुनें, एक पटक त मेरो होस नै उड्यो । एन्चेलोटीले विश्वकपको समयमा मेक्सिकोको चर्चित टीभी समूह टेलिभिसाको लागि फुटबल पण्डित थिए र त्यो समय मेरो गोल देखेका थिए । उनी मलाई नापोलीमा जोडिऊ भन्ने चाहन्थे ।

सन् २०१८–१९ सिजनमा, मलाई हरेक हप्ता उनका कल आउँथ्यो । म घाइते हुदाँ उनी मलाई सोध्थे ,‘ तिम्रो घुँडा कस्तो छ ? रिकभरी कस्तो भइरहेको छ ?’

उनको स्वभाव त्यस्तै छ । उनले नापोली आउन भनेपछि मैले कसरी नाइँ भन्न सक्थे ? तपाईंले एन्चेलोटीको नाम एक महान् प्रशिक्षकको रूपमा सुन्नु भएको होला तर उनी एक असल व्यक्ति पनि हुन् । 

इटाली पुगेपछि पहिलो रात उनले मेरो स–परिवारलाई उनको सम्पूर्ण परिवारसँग डिनरमा लगेका थिए । सम्पूर्ण परिवारको मतलब परिवारका सबै । उनले आफ्ना नातिनातिनाहरूलाई पनि डिनरमा ल्याएका थिए । त्यो मेरो लागि ठुलो कुराको थियो । 

कहिलेकाहीँ फुटबलरको रूपमा देश परिवर्तन गर्दा कति गाह्रो हुन्छ भन्ने धेरै मानिस बुझ्दैनन् । विशेष गरी ल्याटिन अमेरिकी खेलाडीहरूको लागि युरोपमा सुरुमा गा¥हो हुन्छ, जहाँको संस्कृति युरोपकोभन्दा धेरै फरक हुन्छ । तर एन्सेलोटीसँग खेलाडीलाई अपनत्व महसुस गराउने ज्ञान थियो, जसले मलाई अझै न्यानो महसुस गराउँछ । 

केही महिनाको कठिन नतिजापछि नापोलीबाट एन्चेलोटी बर्खास्त भए पछि म स्तब्ध भएँ । र इमानदार भएर भन्ने हो भने मैले त्यो पहिलो सिजन मानसिक रूपमा सङ्घर्ष गरेँ । म टोली भित्र र बाहिर हुन्थे तर अन्य कुरा गाह्रो भइरहेको थियो । 

एन्चेलोटीले क्लब छोडेको धेरै समयपछि, कोरोना महामारी आयो । आना केटाकेटी लिएर मेक्सिको फर्किइन् । म सन् २०२० को मार्चमा अन्तर्राष्ट्रिय विश्रामको क्रममा उनीहरूसँग सामेल हुन जाने सोचमा थिए । तर अचानक सबै उडानहरू रद्द गरियो र म संसारको अर्को छेउमा एक्लै फसेँ ।

सुरुमा, कसैले पनि केही हुनेवाला छ भन्न सक्ने अवस्था थिएन । धेरैलाई जस्तै मलाई पनि केही दिनमा सबै पहिलेजस्तै हुन्छ लागेको थियो । तर सोचजस्तै भएन । 

केहि हप्ता पछि, मैले क्लबसँग अब म थप एक्लो रहन नसक्ने र घर फर्कन दिन बिन्ती गरेँ । तर तिनले मैले बीचमा क्लब छाडेर हिँडे भने जरिवाना मात्र होइन, जेल हुने बताए ।

त्यो पल मलाई एक डरलाग्दो चलचित्रको पात्र अनुभव भयो । मैले पनि तीन महिना एक्लै बिताउन बाध्य भए । मलाई पागल भएको महसुस भएको थियो । आफूलाई एक्लो र आफ्नो सपनाबाट धेरै टाढा महसुस गर्थेँ । 

म परिवारको लागि युरोप गएको थिएँ तर त्यसक्रममा उनीहरूबाट धेरै टाढा भएको थिएँ । मसँग मन भुलाउनको लागि फुटबल पनि थिएन ।

त्यसपछि पनि बाटामा विभिन्न अवरोधहरु आए तर म भाग्यशाली रहे की मैले सबैलाई सहजै पार गर्न सकेँ । लकडाउनपछि फुटबल खेल सुरु भयो र हामीले कोपा इटालिया जित्यौँ — र म इटालीमा ट्रफी जित्ने पहिलो मेक्सिकन खेलाडी बनेँ । म सिरी ए मा गोल गर्ने पहिलो मेक्सिकन पनि हुँ । 

पछि मैले अन्य उत्कृष्ट प्रशिक्षकहरूसँग काम गर्न पाएँ । फरक आनीबानी भएका गातुसो र स्पागेलट्टीबाट मैले धेरै कुरा सिक्ने अवसर पाएँ । 

नापोलीमा खेल्दा प्रशंसकहरूको जोश अविश्वसनीय लाग्छ, जुन शब्दमा व्याख्या गर्न सकिन्न । आफ्नो टोलीप्रतिको तिनको विश्वासले एक खेलाडीको रूपमा मलाई ऊर्जा र गर्व महसुस गराउँछ । दबाब पनि हुन्छ, तर अहिलेसम्म मलाई बानी भैसकेको छ र मैले मजा लिन थालेको छु । 

मेक्सिकन समर्थकहरूमा पनि उस्तै मानसिकता छ । रुसमा भएको गोलपछि त्यही जोसले भूकम्प निम्त्याएको थियो । म यत्ति भन्न सक्छु, हामी फुटबल सुन्दर रूपमा बाच्छौँ ।

मेक्सिकोको विश्वकप खेलबारेमा ‘पाँचौँ खेल श्रापित हुने’ विश्वास गरिन्छ । यसले मेक्सिकन टोलीमाथि दबाब सिर्जना गर्छ । तर मलाई यस अन्धविश्वासमा त्यति चाख छैन । यो एक धेरै दोहोर्‍याइएर बनेको धारणा मात्र हो, तर हामीले इतिहासमा होइन वर्तमानमा ध्यान केन्द्रित गर्नुपर्छ । तर हामी कुनै पनि कुरालाई पनि ढुक्क हुन सक्दैनौँ ।

जब विश्वकप सुरु हुन्छ, तब मेक्सिको र हाम्रा फ्यानहरू रङ्गशालादेखि सडकसम्म जोश र उत्साहले भरिनेछन् । र विश्वकपमा खेल्ने ३२ टिममा छनौट हुन त्यति सजिलो छैन । यहाँसम्म आइपुग्न हामीले धेरै सङ्घर्ष गर्‍यौँ । 

हुन त मानिसहरू दक्षिण अमेरिकी समूहबाट छनौट हुने मेक्सिकोजस्तो टोलीको लागि क्वालिफाइङ सजिलो हुन्छ भन्ने सोच्छन् । तर यो सोचेजस्तो सजिलो भने छैन । 

हामी सहजै छनौट भयौँ भन्नेहरूले पानामा भएको खेलमा हेर्नुपर्थ्यो, जहाँ हामी बसेको होटलको झ्यालबाहिर रातभर रकेट र आतिसवाजी गरेर सुत्न दिइएन । तिनका फ्यानहरूले हाम्रो बसमा बोतल, ढुङ्गा, सिक्का अझ फ्याँक्न सकिने सबै कुराले प्रहार गरे ।

पानामामा एक पटक खेल भइरहँदा फ्लडलाइट बन्द गरियो, खेल परिणाम गडबड पार्न । हाम्रो खेलको लय बिगार्न तिनले झण्डै ३० मिनेट फ्लडलाइट नै खोलेनन् । 

फेरि गत नोभेम्बरमा हामी खेल्न क्यानडाको उत्तरी भेगमा गयौँ । त्यहाँ मैदान चिसोले जमेर सिमेन्टजस्तै भएको थियो, –२३ डिग्री सेल्सियसको तापक्रमले गर्दा । मैले जीवनभर त्यस्तो चिसो कहिल्यै महसुस गरेको छैन । 

त्यसपछि गत वर्ष गोल्डकपको घटना भयो । ट्रिनिडाड र टोबागोको खेलमा म विपक्षी किपरको घुँडासँग ठोक्किएँ । जसको कारणले मेरो घाँटी पछाडि फर्कियो । मेरो मेरुदण्डमा चोट लाग्यो । मेरो आँखामा झिल्का परेझैँ भएको थिए । त्यो समय मलाई धेरै डर लागेको थियो । म धेरै रोएँ । साँचो भन्ने हो भने मलाई बाच्दिनँ कि भन्ने डरले समाएका थियो । 

डाक्टरलाई धन्यवाद, म केवल तीन महिना मात्र मैदान बाहिर रहनु पर्‍यो ।  धेरै डाक्टरहरू मलाई यति छिटो खेलमा फर्किनु त परको कुरा म बच्नु नै चमत्कार बताउँछन् । यो विश्वकपका लागि हामीले दुःख पाएका छौँ ।

व्यक्तिगत रूपमा, म चार वर्षअघि रुसको जस्तो आलोकाँचो छैन । हामी उही टोली होइनौँ । यी चार वर्षमा हामीले धेरै अनुभव बाँचेका छौँ, केही राम्रो, केही नराम्रो । तर हामी उही देश हौँ । हामी सबै यी पलहरू सँगै बाँच्नेछौँ , देशका १३ करोड जनसङ्ख्या सबै । 

स्रोत : द प्लेयर्स टिब्युन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप