शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मतदानस्थलमा मतदाताको मनोविज्ञान– भएका मध्येबाट राम्रोलाई छानौँ (भिडियो)

आइतबार, ०४ मङ्सिर २०७९, १२ : २८
आइतबार, ०४ मङ्सिर २०७९

आइतबार बिहानैदेखि देशभर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गन मतदान जारी छ । मतदान स्थलहरूमा लाइनमा बसेर मतदाताहरू मतदान प्रक्रियामा सहभागी छन् । यद्यपि, आगामी पाँच वर्षका लागि नेतृत्तको छनौट गर्दैगर्दा उनीहरू उति सन्तुष्ट देखिँदैनन् ।

अघिल्ला पटकको निर्वाचनमा चयन भएका प्रतिनिधिहरूले पनि गर्नुपर्ने जति नगरेको र अबका प्रतिनिधिहरूबाट समेत ठूलो अपेक्षा नरहेको उनीहरूको प्रतिक्रिया छ ।

ललितपुर जिल्ला, क्षेत्र नं. ३ स्थित जावलाखेल मतदान केन्द्रमा भेटिएका मतदाता माधवबहादुर बस्नेत भन्छन्, ‘के–के न गर्छु भनेर आउँछन्, पछि गर्ने चाहिँ केही होइनन्, देश बनाउने उत्साह बोकेको, स्वच्छ छवि भएको मान्छे खोजे पनि नभेटिने रहेछ । त्यसैले जे छन्, तिनीहरूमध्येबाटै एक जनालाई छानेर मताधिकारको प्रयोग गरेँ ।’

सोही क्षेत्रमा भेटिएकी मतदाता सर्वज्ञा पौडेल भन्छिन्, ‘म पहिलो पटक मतदान गर्दैछु र केही डराएकी पनि छु । कारण, मेरो एक भोट कतै खेर जाने पो हो कि !’उनी विशेष गरेर नयाँ पुस्तालाई मतदान गर्नुपर्नेमा जोड दिन्छिन् । नयाँ पुस्ताको सोच पनि नयाँ हुने भएकाले अब पुरानो सोच र पुरानो पुस्ताको नेतृत्वलाई छाड्नपर्ने उनको धारणा छ ।

यस्तै मतदानका लागि आएका ८२ वर्षीय दिनेशबहादुर विष्ट र ७१ वर्षीया कमला विष्ट (दम्पती) देशले राम्रो नेतृत्व नपाएकोप्रति गुनासो गर्छन् । भन्छन्, ‘दलीय गुटबन्दीले देशमा राम्रो नेता जन्मिएन । राम्रो मान्छेले अवसर पनि पाएन ।’

अहिलेको जस्तो गठबन्धनको सरकार पनि राज्यका लागि राम्रो नहुने उनीहरुको भनाइ छ । विष्ट भन्छन्, ‘अहिलेजस्तो सामूहिक सरकार छ नि, यो हुनु हुँदैन । यस्ताले गर्दा राम्रो मान्छे पनि अगाडि बढ्न पाउँदैन । पुरानो नेतृत्व जहिले पनि पुरानै सोचको हुन्छ । त्यसैले अहिलेको जस्तो व्यवस्थाबाट छुटकारा पाउन पनि युवा नेतृत्वकै खाँचो देख्छु ।’

देशमा स्थायी सरकार र आर्थिक समृद्धि पहिलो एजेन्डा बन्न सकेमात्र आफ्नो मतको सम्मान हुने उनको बुझाइ छ ।

अर्की मतदाता रञ्जु देवकोटा भन्छिन्, ‘हामीले नेतृत्व चयन गर्दा कम्तीमा पाँच वर्षसम्म एउटै सरकार बनोस भनेर नै चयन गर्ने हो र त्यही अनुसार नै मतदात गरेर आएँ ।’

दलीय स्वार्थ केन्द्रित रहेर तलाई यति वर्ष, मलाई यति वर्ष सत्ता बाँडफाँट भन्दा पनि सुशासनसँगै, रोजगारी, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा राम्रो काम गर्ने नेतृत्वकै आशा आफूहरुले गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप