बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा १०३ जना मतदाता

शनिबार, ०३ मङ्सिर २०७९, २१ : ५४
शनिबार, ०३ मङ्सिर २०७९

हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
    
मुलुककै कम मतदाता रहेको मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । “मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर) मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ । सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला”, शर्माले भने । 
    
उनका अनुसार यस मतदान केन्द्रमा कूल एक सय तीन मतदाता रहेका छन् । हिउँपर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनी बताउँछन् । 
    
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था गरिएको बताए । “सुरक्षाका सम्पूर्ण व्यवस्थापन कडाइका साथ कार्यान्वयन हुनेगरी गरिएको छ । ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गर्दछु”, उनले भने । 

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार छ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार छ सय ४७ मतदाता रहेका छन् । प्रदेश (१) मा चामे गाउँपालिका र नासों गाउँपालिका पर्दछ । प्रदेश (१) मा दुई हजार छ सय २४ र प्रदेश (२) मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप