मेरो जीवन

‘मैले ननचाएका हिरोइन कमै होलान्’

हिरोइन प्रायः नाच्न जान्छन्, समस्या हिरोहरूमा छ : राजु शाह

person explore access_timeमंसिर ३, २०७९ chat_bubble_outline0

राजु शाह नेपाली फिल्म क्षेत्रका वरिष्ठ नृत्य निर्देशक हुन् । विसं २०४९ को फिल्म ‘दुई थोपा आँसु’को ‘जून त लग्यो ताराले’ गीतबाट फिल्म यात्रा सुरु गरेका शाहले २५० बढी फिल्ममा नृत्य निर्देशन गरिसकेका छन् । थुप्रै म्युजिक भिडियो, स्टेज कार्यक्रमसमेत अनुभव लिएका उनी निर्माता, निर्देशक पनि हुन् ।


‘सपनाको नौलो संसार’ र ‘नमस्ते नेपाल’ उनले निर्माण निर्देशन गरेको फिल्म हो । बागलुङमा जन्मिए पनि काठमाडौँलाई कर्मथलो बनाउँदै आएका शाहले मुम्बईबाट नृत्य सिकेका हुन् । नृत्यका कारणले थुप्रै अवार्ड, पुरस्कार र सम्मानसमेत पाएका उनको सफल फिल्म निर्देशक बन्ने सपना छ । नृत्य निर्देशकका रूपमा फिल्म क्षेत्रका अधिकांश हिरो, हिरोइनसँग काम गरेका शाहको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :



मम मन पर्छ 



टिपिकल नेपाली मेरो मन पर्ने खाना हो । भोकाएको समय जे भए पनि हुन्छ तर थोरै भए पनि पुग्छ । मन नपर्ने खानेकुरा केही छैन । बिहान नियमित दालभात र तरकारी खान्छु, साँझ हल्का खाजा खाए पुग्छ । माछा, मासु सकेसम्म थोरै खान्छु ।

परिवार, साथीभाइ सबैसँग रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा बढी मन पर्ने सी मम हो । पकाउन खासै आउँदैन । चिया र अम्लेट मात्र बनाउन आउँछ ।

डान्सबाटै एक्सरसाइज

दैनिक नियमित एक्सरसाइज गर्छु । बिहान मेरो आफ्नै नृत्यका विभिन्न एक्सरसाइज छ । त्यसपछि करिब डेढ घण्टा मर्निङवाक गर्छु ।

पहिले जिमका लागि क्लब पनि जान्थँे । मुटुको अपरेसन गरेपछि डाक्टरले भारी सामान नउठाउनु भनेकाले जिम जानै छोडेँ । डाइटिङबाटै पनि आफूलाई फिट राख्छु ।

स्टाइलिस पहिरन

पहिरनमा खासै शौखिन छैन । ट्र्याकसुट, ट्राउजरलगायत हल्का र लुज खालका, जसबाट चल्न, हिँड्न र नाच्न सजिलो होस् । त्यस्ता पहिरन बढी प्रयोग गर्छु ।

फर्मल कार्यक्रममा जाँदा पाइन्ट, टिसर्ट नै बढी प्रयोग गर्छु । विवाह पार्टीमा समेत मैले ट्र्याकसुट लगाएर पुगेको छु ।

कोटपाइन्ट, दौरासुरुवाललगायत औपचारिक पोसाक लाउनैपर्ने कार्यक्रम तथा साथीहरूले भनेको समय प्रयोग गर्छु ।

पहिरनमा मन पर्ने रङ्ग कालो र सेतो हो । पहिरन प्रायः रेडिमेड किन्छु । पहिरनमा ब्रान्ड हेर्दिनँ, मनपरेको, स्टनाइलिस डिजाइनका लिन्छु । 

पढ्ने बानी छुट्यो

पहिले पहिले पुस्तक अध्ययन गर्थे । त्यो समय हिन्दी, नेपाली उपन्यास, जीवनीहरू सबैथरी पढ्थे । अहिले भने पढ्ने बानी छुट्यो ।

घुमघाममा रुचि

घुमघाममा एकदमै रुचि छ । प्राकृतिक सौन्दर्यले भरिएको ठाउँहरू मन पर्छ, घुम्छु । पेसा पनि गीतमा नाच्ने भएकाले राम्रा ठाउँहरू घुम्नुपर्छ । कामका लागि लोकेसन हेर्न र खोज्न जाँदा पनि घुमघाम हुन्छ । पश्चिममा कर्णाली पुल र नेपालको पूर्व लगभग सबै ठाउँ घुमेको छु । 

देशको करिब ३५ जिल्ला घुमेँ होला । विदेशका युरोपका ९ देश, एसियाका केही देशहरू पुगेको छु । अहिले जान मन लागेको स्वदेशको छोरोल्पा, रारालगायत छ । विदेशका अफ्रिकन देश राम्रो भएको सुनेको छु । ती देश, अमेरिका, मेक्सिको हेर्न मन छ ।

भलिबल खेल्थेँ

स्कुल, कलेजको समय म खेलाडी नै थिएँ । जिम, मार्सलआर्ट, बक्सिङ, कराँते, भलिबल फुटबल, टेबुलटेनिस, क्रिकेटलगायतका सबै खेलको  राम्रो खेलाडी पनि थिएँ ।

कलेज, जिल्ला र क्लब स्तरीय प्रतियोगितामा विभिन्न खेलबाट सहभागी भएर पुरस्कारसमेत जित्थेँ । अहिले खेल छुट्यो । क्रिकेट, फुटबल, रेस्लिङलगायत देश तथा विदेशका चर्चित खेल छुटाउँदिनँ ।

वान प्लस छ

अहिले मसँग वान प्लस एउटा मोबाइल छ । पहिले दुईवटा सिम बोक्ने चलनले गर्दा दुईवटा बोक्थँे । त्यो अप्ठ्यारो लागेकाले अहिले एउटै बोक्न थालेको छु ।

मोबाइल नहराए, नबिग्रिएसम्म फेर्दिनँ । मोबाइलमा युट्युब, फेसबुक, भाइबर, इमेललगायत  चलाउँछु । समाचार, खेलकुद हेर्छु । मोबाइल गिफ्ट पाउने गरेको छु । त्यसैले पुराना मोबाइल धेरै घरमै थुप्रिएका छन् । 

टिभी, फिल्म

टीभीमा समचार र खेलकुद हेर्छु । फुर्सद भएको समय नृत्यका कार्यक्रम, डिस्कभरीलगायत च्यानल हेर्छु । अक्सर टिभी हेर्न समय बेलुका नै हो ।

मेरो पेसा फिल्मसँग सम्बन्धित भए पनि फिल्म हेर्ने बानी छैन । फिल्म कहिलेकाहीँ टिभी हेर्छु । कमेडी खालमा फिल्म मलाई मन पर्छ ।

नृत्यले चिनायो 

मेरो पेसा, व्यवसाय, पहिचान जे भने पनि नृत्य हो । विसं २०३७ सालबाट नृत्यमा होमिएको अहिले पनि जारी छ । नृत्यलाई पेसा बनाएको २०३९ देखि भए पनि फिल्ममा काम गर्न थालेको २०४९ देखि हो ।

अहिले म फिल्म क्षेत्रको वरिष्ठ नृत्य निर्देशक, निर्देशक, निर्माता र सम्पादक पनि हो । दुई फिल्म निर्माण र निर्देशक गरेको मैले ५ फिल्म सम्पादनसमेत गरेको छु ।

विसं २०३६÷०३७ को एउटा घटनाले म नृत्यमा होमिएको हो । त्यो समय म एकदमै लजाउँथे । नाच्न शरीर नै चल्दैन थियो । एउटा अरू नाच्दै गरेको म लुकेर हेरिहेको थिए । एउटा साथीले समातेर बीचमा लगेर नाच्न भन्यो । त्यो समय जमिन फाटे म त्यही छिर्छु भनेँझैँ भयो लाजले । मैले अतालिँदै साथीलाई हिर्काएर हिँडेछु । घरमा पुगेपछि नृत्य नआएर लाज भएको सम्झिएँ । त्यो बेला मैले विश्व प्रसिद्ध डान्सर जोनी ट्राभलको बारेमा पढेको थिएँ । 

मैतीदेवीमा एक दाइबाट भिडियो भाडामा लिएर  जोनी ट्राभलको नृत्य हेरेर सिकँे । त्यसपछि नेपाली लोकनृत्य र विभिन्न नृत्यहरू गर्न थाले । केही समयमै नाचका लागि काठमाडौँमा फेमस भए । हरेक ठाउँका पार्टी, विवाह, पिकनिक, कार्यक्रममा बोलाउन आउन थाल्यो । कामसँगै आम्दानी राम्रो हुन्थ्यो ।

त्यसपछि नृत्य अझ विस्तृत सिक्न सुरेस मिश्र तालिम लिए । त्यसपछि मुम्बई पुगेर नृत्य सम्राट गोपी किसनसँग ६ वर्ष सिकेँ । त्यही समय तुलसी घिमिरेले मलाई फिल्म ‘दुई थापा आँसु’को ‘जुन त लग्यो ताराले’ गीतमा काम गर्ने अवसर दिनुभयो ।

यो फिल्मबाट चर्चा र अवार्ड दुवै पाए । त्यो समय बलिउडमा काम गर्ने थुप्रै अवसर थियो । त्यहाँ काम गर्दा त्यही अड्किन्छु भन्ने र सफल भए मारिदिने डरले नेपाल फर्किएँ ।

दोस्रो फिल्म ‘देउता’को ‘हुँदैन रेलिमाई’ भन्ने गीत गरेँ । फेरि एकसाथ ५, ६ वटा फिल्म हात पर्‍यो । त्यसपछि मैलेपछि पछाडि फर्किएर हेर्नुपरेको छैन । कहिले त कामको चापले लगातार तीन दिनसम्म तीन रात पनि काम गर्नुपर्‍यो ।

आजको मितिसम्म आउँदा मैले करिब २५० बढी फिल्ममा नृत्य निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेको छु । म्युजिक भिडियो, स्टेज कार्यक्रमलगायत थुप्रै गरेको छु । ९ वर्ष त मैले वर्षभरि नै जस्तै कार्यक्रम गरेको छु । 

नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीदेखि अभिनेतासम्म  मेरा चेलाचेली पनि धेरै छन् । हिरो, हिरोइनलाई आफ्नो इसारमा नचाउने मानिस हुँ म । राजेश हमालदेखि दिलिप रायमाझीसम्म र अभिनेत्री करिष्मा मानन्धरदेखि सुमिना घिमिरेसम्म करिब ९५ प्रतिशत नायक नायिकालाई मैले आफ्नो इसारामा नचाएको छु । तीमध्ये सबैभन्दा राम्रो डान्सर भने सारङ्गा श्रेष्ठ हुन् । नेपाल हिरोइन प्रायः नाच्न जान्छन् । समस्या हिरोहरूमा छ ।

पछिल्लो समय हाम्रो नृत्य कमजोर हुँदै गएको छ । किनभने अहिले नृत्य सिक्नेर आउनेभन्दा कपी गर्ने बढी छन् । 

नृत्यमा लागेर नाम, इज्जत, दाम सबै कमाएको छु । दर्शकको माया पाएको छु । त्यो मेरा लागि ठूलो हो । २०५१ देखि राजश्री कलाकेन्द्र पनि चलाएको थिए । कोरोनामा त्यो बन्द भयो । अहिले फेरि खोल्ने तरखरमा छु ।

मेरो परिवारको इच्छा म नृत्यमा लागोस् भन्ने थिएन । हजुरबुबा आर्मी र ड्याडी पुलिसमा भएकाले उनीहरूको चाहना आर्मी, पुलिस वा वकिल थियो । एसएलसीपछि ल क्याम्पस भर्ना भएको थिए । नृत्यका कारणले बीएलबाटै अध्ययन छुट्यो ।

फिल्म नरोजेको भए, पुलिस अफिसर वा वकिल हुन्थे ।

सुखदुःख

नृत्यमा म इन्ज्योय गर्छु । मेरो खुसी, सुख पनि नृत्य नै हो । यसमा नाम, दाम र इज्जत छ । कहिलेकाहीँ कामको सिलसिलामा तीन दिन, तीनरात पनि निरन्तर काम गर्नुपथ्र्याे । त्यो समय दुःख महसुस हुन्थ्यो । त्यसको रिजल्ट राम्रो आउँथ्यो अनि सुख महसुस हुन्थ्यो । पेसाको कारणले भनेको समय परिवार र आफन्तलाई समय दिन नसक्दा दुःखी हुन्छु । 

मागी विवाह 

विसं २०५१ मा मैले मागी विवाह गरेको हो । मेरा लागि केटी परिवारले खोजिदिएका थिए । उनी कलेज पढ्दै थिइन् भने फिल्ममा काम गर्थे । विवाह अगाडि केही केटीलाई मनपथ्र्योे । विवाहपछि भने श्रीमतीसँगै प्रेममा रमाए ।

फिल्ममा काम गर्नेको विभिन्न अभिनेत्रीसँग नाम जोडिन्थ्यो । म एकदमै स्ट्रिक नृत्य निर्देशक भएर होला, कसैसँग नराम्रो हिसाबले नाम जोडिएन । 

त्यो सपना

नृत्य निर्देशकको रूपमा करिब २५० फिल्म काम गरे । फिल्म निर्देशन पनि दुईवटा गरेको छु । सानैदेखि फिल्म निर्माण, निर्देशन गर्ने सोच भएकाले निर्देशकमा पनि सफल हुने, नाम कमाउने मेरो सपना छ । त्यसैका लागि दुई नयाँ फिल्मको निर्देशन तयारीमा गर्दछु ।

मेलोडियस् गीतसङ्गीत

गीतसङ्गीत मन पर्छ, सुन्छु । पुराना गायक गायिका सदाबहार, मेलोडियस र कर्णप्रिय गीतहरू मन पर्छ । नेपालीमा नारायण गोपाल र हिन्दीमा रफी, मुकेश, किशोर कुमारलगायतका गीत बढी सुन्छु । गीतसङ्गीत सुन्ने भनेको प्रायः राति सुत्ने बेलामा हो । 

भूल भए

जीवनमा जानीनजानी भूल धेरै भयो होला । तर सधैँ पछुताउनुपर्ने, सम्झिरहने भूल भएजस्तो लाग्दैन । कतिले फिल्म लाइन रोज्नु भूल भयो भनेर पनि भनेको सुनको छु । यो मेरो सपना भएको म भूल मान्दिनँ ।

छैन रोग

भगवान्को कृपाले अहिले केही रोग छैन । पहिले मुटुमा समस्या थियो । त्यो समस्याको समाधान अपरेसनबाट भयो । अहिले पनि त्यसको औषधि नियमित खाँदैछु । सामान्य रुघाखोकी भने कहिले काही लाग्छ ।

मापसे गर्छु

मापसे कहिलेकाहीँ थोरै लिन्छु । साथीभाइको जमघट र पार्टीहरूमा पनि लिन्छु । दिउँसोको समय बियर र बेलुकाको समय ह्विस्की खान्छु । मापसेमा यो ब्रान्ड भन्ने छैन । रक्सी घरमा सजाएर राख्ने बानी त छैन । घरमा कोही नखाने भएकाले कहिलेकाहीँ चाहिन्छ भनेर लुकाएर राख्छु ।  

राशि ‘धनु’

मेरो राशि ‘धनु’ हो । ग्रहदशामा विश्वास अहिले लाग्न थालेको छ । फिल्म ‘नमस्ते नेपाल’ बनाउने समय गुरुले ग्रहदशा राम्रो छैन, नगर भन्नुभएको थियो । मैले विश्वास मानिन । मिहिनेत र पैसा दुवै खेर गयो । 

पूजापाठमा रुचि छैन । मन भगवान् सम्झन्छु । मन्दिर गए पनि बाहिरबाट ढोक्छु । 

मृत्यु ठूलो सत्य

मृत्यु सबैभन्दा ठूलो सत्य हो । यो एक दिन अवश्य हुन्छ । मृत्युसँगको भेट सहज होस् भन्ने मेरो इच्छा हो । मृत्युको अन्तिम समयसम्म पनि आफ्नो काममा होऊँ भन्ने चाहना छ । मृत्युपछि पनि सम्झने कर्म हामीले गर्नुपर्छ । त्यो मबाट केही भएको छ र अझै प्रयासरत छु । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।