बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतदानका लागि गाउँ फर्किनेहरू भन्छन्– युवालाई नेतृत्वमा ल्याउनुपर्छ

शनिबार, ०३ मङ्सिर २०७९, ११ : ११
शनिबार, ०३ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकाका नाकाहरूबाट घर फर्किने मानिसहरूको चहलपहल तीब्र बनेको छ । भोट हाल्न एकदिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरू कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरूको चहलपहल तीब्र बनेको हो ।

मंसिर ४ गते आइतबार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ । काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरूले यसअघि नेताहरूले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरू पनि गर्न नसकेको बताए । उनीहरूले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरूको भरणपोषण मात्रै गरेको उनीहरूको गुनासो छ ।

धादिङका बासिन्दा लालबहादुर लामा भोट हाल्नको जिल्ला जाने तरखरमा शनिबार बिहानै कोटेश्वरमा गाडी कुरिरहेका थिए । उनले नेताहरूले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताए । त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरूलाई देश विकासको अवसर दिनुपर्ने बताउँछन् ।

अहिलेका राजनीतिक दल र नेताहरूको काम नगर्ने शैलीप्रति असन्तुष्ट उनले युवाहरूमा नै अब देश विकासको आशा रहेको बताए  । त्यस्तै रामेछाप मतदानका लागि जान लाग्नुभएका रामजी खड्का विकास गर्न सक्षम युवाहरूलाई जिताउन आवश्यक रहेको बताए ।

उनी पनि अहिलेको राजनीतिक दल र नेताहरूप्रति असन्तुष्ट नै छन् । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका गौरीशंकर गौतमको भनाइ पनि युवाहरूको भन्दा फरक छैन । उमेरले ७–नाघिसक्नुभएका उनी युवाहरूले मात्रै अब देश विकास गर्नसक्ने बताउँछन् । नेतृत्व गर्ने ठाउँमा युवाहरू गए मात्रै देशले विकास पाउन सक्ने उनको भनाइ थियो ।

शनिबार बिहान कोटेश्वर क्षेत्रमा न्युज एजेन्सी नेपालको टिम पुग्दा उल्लेख्य मात्रामा मानिसहरू मतदानका लागि गाउँ फर्किने तयारीमा गाडी कुरिरहेका थिए । केही राजनीतिक दलका नेताहरूले पठाएको सवारीसाधनमा गाउँ जान लाग्दै थिए भने कोही आफ्नै खर्चमा मौलिक अधिकार मतदानका लागि गाउँ फर्किने तयारीमा देखिन्थे । 

अधिकांश जनताहरुले यसपटक विकासका कामलाई अघि बढाउनसक्ने नेतृत्वको खोजि गरेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरू अघि बढाउन आग्रहसमेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप