साहित्य

भैरव अर्याल र वर्तमानका हास्यव्यङ्ग्य सिर्जना

person explore access_timeमंसिर ३, २०७९ chat_bubble_outline0

वि.सं. १९९३ असोज ५ मा जन्मिएर २०३३ असोज १९ मा निधन भएका भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य लेखनका सर्वाधिक सफल सर्जक हुन् । उनले नेपाली हास्यव्यङ्ग्य फाँटमा लहलह हास्यव्यङ्ग्य सिर्जना फुलाए फलाए । मानवीय स्वभावका कमीकमजोरीप्रति आलोचना र व्यङ्ग्य गर्नु नै आफ्नो लेखनको विशेषता बनाएर त्यसैमाथि कर्म गरे ।


नेपाली विषयमा स्नात्तकोत्तर उनले हालखबर, गोरखापत्र, रचना, मधुपर्क आदि पत्रपत्रिकामा काम गरे । ४० वर्षको अल्पायु जीवन लिएका उनले आफ्नो उमेरका अधिक समय लेखन कार्यमा बिताए । यसैले पनि उनले उमेरभन्दा ज्यादा छिप्पिएका रचना गरे भन्नुमा कुनै अत्युक्ति हुने छैन ।



उनलाई २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त भएको थियो । साहित्यका कविता, कथा, निबन्ध, गीतिकाव्य, समालोचना, सम्पादनलगायत विविध विधामा कलम चलाएका उनको बलियो पक्ष हास्य र व्यङ्ग्य दुवैको मिश्रण गरी हास्यव्यङ्ग्य लेखन गर्नु नै हो ।



भैरव अर्यालको निबन्ध चर्चा

अर्याललाई सशक्त निबन्ध लेखकका रूपमा चिन्न सकिन्छ । उनले लेखेका विषयवस्तु आजभन्दा दशकौँपछिसम्म उत्तिकै समसामयिक रहने कोटिका छन् । उनको निबन्ध नेता नम्बर एक सय एकमा राजनीतिक बदमासीबारे चर्चा गरिएको छ । जुन समसामयिक राजनीतिमा पनि झनै महत्त्वको रहेको छ । काउकुती, जयभुँडी, गलबन्दी, इतिश्री, दश औतार आदि उनका हास्यव्यङ्ग्य निबन्धहरू नेपाली हास्यव्यङ्ग्य लेखनको क्षेत्रमा सर्वाधिक चर्चाका निबन्ध हुन् । तिनै कृतिमा उनिएका जय भुँडी, जय भोलि, लाहुरेको संस्मरण, नाउँ फेर्ने धुनमा, केही राष्ट्रिय रोग ः एक अनुसन्धान, मपाइँ, महापुरुषको सङ्गत, चुरोट ः केही झिलिमिली संस्मरण, आलु आदि अर्यालका चर्चित हास्यव्यङ्ग्य निबन्ध हुन् ।

उनका गलबन्दी, काउकुती, जय भुँडी, दश औतार, टेढो ऐना आदि कृतिका साथै अनेकौँ सम्पादन, अनूदित, फुटकर रचनाहरू प्रकाशन भएका छन् । 

अर्याल आफ्ना निबन्धमा उखानटुक्का, थेगो, अनुप्रास आदिको उचित संयोजन गर्नमा माहिर देखिन्छन् । जस्तोः 

एक दिन बिहान टौवामा कौवा नबास्तै गौवाको बासी पानीले पूजा भूजा चामचुम पारेर निस्केँ म महापुरुषको सङ्गत गर्न ।

आलु निबन्धमा उनी एउटै व्यक्ति शिक्षक, दीक्षक, लेखक, सेवक, पत्रकार, अलपत्रकार, नेता, अभिनेतासँग आलुको तुलना गर्दछन् । यस्तै आलुलाई पिँडालु, तालु, भालु, तालु, बालु आदि शब्दसँग जोडेर हास्यलाई अझै रसिलो बनाउँछन् । उनले चाकडी, चुक्ली, चाप्लुसी (चरिचुच्चे च) जस्ता शब्दहरूको प्रयोग आजकाल धेरै लेखकहरूले निरन्तरता दिइरहेका पाइन्छ ।

यस्तै उनको लेखनमा अनुकरणात्मक शब्दले प्रशस्त प्रश्रय पाएका छन् ।  त्यति मात्रै नभएर उनका निबन्धमा ठेट तथा झर्राे शब्दहरूको यथेष्ट प्रयोग भएका पाइन्छन् । लेखनमा यस्ता शब्दले बेग्लै मिठास थप्ने गरेका छन् । 

उनको पहिलो निबन्ध सङ्ग्रह काउकुती (२०१९) हो भने दोस्रो जयभुँडी (२०२२) हो । 

भैरव अर्यालको कवित्वः

उनको कवित्वबारे चर्चा गर्नुपर्दा उनका कवितालाई नै साक्षी राख्नु उपयुक्त हुन्छ । केही कवितांश यहाँ प्रस्तुत गरिएका छन् ।

अर्यालका कवितामा क्रान्ति छ, उत्प्रेरणा छ । उनी कर्मलाई विश्वास गर्दै त्यसलाई यसरी कवितामा प्रस्तुत गर्दछन्–

स्वप्नशील, कर्मवीर मानिसको आत्मा

उँभो लाग्छ सिर्जनाको अनौ लिई हातमा

कहिल्यै कतै नटुङ्गिने साझा मूल बाटो

भोलि जोत्न जानु छ रे चन्द्रमाको पाटो ।

नरमदेखि कठोर, शालीनदेखि चरम व्यङ्ग्य लेखेर नेपाली हास्यव्यङ्ग्य साहित्यमा यथेष्ट योगदान कसैले दिएका छन् । त्यसो त भैरव अर्यालका रचना नपढ्ने लेखक नै पो को होला र नेपाली साहित्य सिर्जनामा । 

काठमाडौँ सहरको प्रदूषण, भीडभाड, कोलाहलमाथि व्यङ्ग्य गर्दै लेखेका उनले भानुभक्तलाई मुख्य पात्र बनाएर ‘अमरावती कान्तिपुरी नगरी’बाट एक कवितांश यहाँ उल्लेख गर्न सकिन्छ ।

मृत मुषिकको बुटी झर्छ जहाँ

हिँड्दा, डुलँदा टुपी जल्छ जहाँ

कुतिको कलरव अझ वरिपरि

अमरावती कान्तिपुरी नगरी

 

थलियाभरि पस्की झिँगालु रस

अटियाउपरै कुतिसाथ बस

खुब खाऊ, चपाऊ, पिऊ सुपारी

अलकापुरी कान्तिपुरी नगरी ।

सर्जकहरूमा भैरव प्रभावः

अमरापुरी कान्तिपुरी नगरी  भैरव अर्यालले भानुभक्तको कविताबाट प्रेरित भई लेखेका हुन् । उनका अग्रज, सहयात्री र आजसम्म लेखिरहेकाहरूका रचनामा उनका शैलीबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

उमेरले भैरवभन्दा अग्रज र गोरखापत्रका सहयात्री केशवराज पिँडालीले प्रसन्न हुनुहोस् मा मेरो घरको गल्छेडो रचनाभित्र यस्ता सामाजिक व्यङ्ग्य लेखेका छन्–

भगवान् बडा दयालु छन् । उनले मजस्तो हरिलट्ठकलाई पनि यस अमरावती कान्तिपुरी नगरीमा जन्म दिलाएर, लालनपालन गराएर, पढाएर, लेखाएर र एक साहित्यकार बनाएर कृतकृत्य तुल्याएका छन् । म हरिलट्ठकका लागि भगवान् यसमा पनि बडा दयालु भएका छन् । उनले यस अमरावती कान्तिपुरी नगरीभरमा तीन–तीन नाम भएको सडकसँग जोरिएको, तीन–तीन ठाउँमा बाङ््गिएको एउटा गल्लीमा एउटा घर ठड्याउन म हरिलट्ठकलाई समर्थ तुल्याएका छन् ।

यसरी आफैँमाथि व्यङ्ग्य लेख्न सक्ने सामथ्र्य राखिसकेपछि व्यङ्ग्यसर्जकहरू समाज स्वीकार्य हुँदै जाने रहेछन् । भैरव अर्यालले पनि आत्मपरक निबन्धमा यस्ता प्रशस्त प्रयोगहरू गरेका छन् ।

हास्यव्यङ्ग्य सर्जक नरनाथ लुइँटेल फित्कौलीका प्रधान सम्पादक हुन् । हास्यव्यङ्ग्य साहित्यलाई एकत्रित गर्ने उद्देश्यले सञ्चालित यस अनलाइन पत्रिकामा देश विदेशका हास्यव्यङ्ग्य सर्जकहरूले स्थान पाएका छन् । यही असोज महिनामा उनले भैरव अर्याल स्मृति विशेष शृङ्खला नै चलाएका छन् । उनी आफैँ पनि निरन्तर हास्यव्यङ्ग्य लेखनमा सक्रिय रहेका छन् ।

मोफसलमा पहिलो पटक भैरव अर्यालको प्रतिमा निर्माण गराउने, उनलाई समर्पण गर्दै कृति लेख्ने, कार्यक्रम गराइहाल्ने, पुरस्कार पनि दिइहाल्ने व्यक्ति हुन् हास्यव्यङ्ग्य सर्जक आरसी रिजाल । राजकुमार लामिछानेकै शब्द सापटी लिएर भन्ने हो भने अरू त अरू रिलालले छोराको बिहे सुटुक्क गराएर भोज खुवाउनबाट बचेको पैसा ओछ्यानमा थलिएका सर्जकदेखि नवसर्जकसम्मलाई हौसला पु¥याउँदै आउने व्यक्ति पनि भैरव अर्यालको नाम लिएपछि खुसीले झुसी हुन्छन् । वासुदेव शर्मालाई साहित्यिक गोष्ठी, सेमिनार, पुरस्कार वितरण र नवलेखकहरूका सिर्जना प्रकाशन गराइदिने नेपाली साहित्य क्षेत्रका दधिची उपनामले चिनिएझैँ अर्का उस्तै दानवीर हुन् रिजाल । बुढ्यौली साहित्यका नेतृत्व गर्दै पछिल्ला पुस्ताले सिस्नुपानी तथा हास्यव्यङ्ग्य क्षेत्रको नेतृत्व लिनुपर्छ भन्ने यी अगुवा वासुदेव शर्माकै विचारका छन्न भन्ने विश्वास छ यो पङ्क्तिकारलाई ।

वासुदेव गुरागाईं ‘पिँडालु पण्डित’, राजकुमार लामिछाने, हरिकला उप्रेती, गायत्री लम्सालसम्म पनि अर्याल शैलीका व्यङ्ग्यको प्रचुरता पाइन्छन् । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष हास्यव्यङ्ग्य सर्जक राजकुमार लामिछानेका दुई कृति प्रकाशित छन् । पहिलो कृति पुतलाको पावरमा उनी भानुभक्तलाई चिठी शीर्षकमा यसरी व्यङ्ग्यवाण छेड्छन् ।

एउटा खुसीको कुरा सुनाउन चाहन्छु । हाम्रो हेटौँडा नगरीमा पूर्वतर्फ गढी गाउँको भानु उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा तपाईंको सालिक राखिएको छ । सालिकमा चराहरूले बिस्ट्याउने, टाउकैमा आएर फोहोर खुट्टाले कुल्चिने, चुच्चोले दल्ने जस्ता नचाहिँदा काम गर्दा तपाईंलाई दुःख लाग्नु स्वाभाविकै हो । अब त्यस्ता कार्य हुन् नदिनका लागि तपाईंलाई साहित्यको मालिक ठानी सालिक ठड्यान सक्रिय हुनुभएका बेजोड व्यङ्ग्य लेख्ने, साहित्यमै जीवन देख्ने, तपाईंप्रति साह्रै निष्ठा राख्ने आरसी रिजाललाई बिष्टासमेत सफा गर्ने जिम्मा दिइएको छ । आजलाई यति ।

आगे भेटमा । उतै यमराजको गेटमा ।

लामिछानेको दोस्रो कृति बुद्धिपुराणमा पनि अर्यालको हास्यव्यङ्ग्य प्रभावको प्रचुर छनक पाइन्छ । चिप्लेँटी सहिदमा उनी लेख्दछन्– शरीर ओल्ड भएर फोल्ड हुँदै जान थालेपछि मथिङ्गलको मजेरीमा मजैसँग जवानीको रन्कोले फन्को मार्दाे रहेछ । त्यसो त उनको यो कृति उनै हास्यव्यङ्ग्यका अद्भुत व्यक्तित्व अर्यालप्रति समर्पित रहेको छ ।

एक दर्जन हास्यव्यङ्ग्य कृति प्रकाशन गरिसकेका सर्जक विश्व शाक्य ‘मिस्टर मोमो’मा लेख्छन्–

मोमो भनेपछि जस्ताको पनि मुखै रसाउने । त्यस्तै आजभोलि हामी मान्छेको विचार, बुद्धि र विवेक जतिसुकै कुहिएको, स्वार्थी र सङ्कीर्ण भए पनि बाहिरबाट हेर्दा मान्छे खाइलाग्दो र दुई चारवटा नैतिकता र आदर्शको कुरा गर्न जानेपछि मोमो जस्तो स्वादिष्ट भैहाल्यो ।

उही कृतिको अर्काे लेखमा उनी भन्छन्– राजनीतिमा पस्दै नपस्नु, पसेपछि कसैलाई शङ्का नगर्नु  भन्दै राजनीतिबारे छोटो टिप्पणी गर्दछन् ।

अस्पतालको बसाइ, खर्च र झन्झट त सबैले बेहोरेकै हो । यसै सन्दर्भमा महेश थापा निधारको पिलोका लागि वैद्यको झारपात, धामीको ढ्याङ्ग्रोले बाख्रा सिनित्त पार्दा पनि ठीक नभएपछि निजी क्लिनिकको डाक्टर कहाँ पुगेको भन्दै नमोनमः मा लेख्दछन्– 

ओहो ! बडो सही ट्याममा आइपुग्नुभो । थोरै विलम्बले लमतन्न पार्न सक्थ्यो । निधारको पिलोको तार गिदीमा जोडिएको हुने भएकाले रिस्क मोल्न सकिन्न । लौ, तुरुन्त सिटी स्क्यान, एमआरआई र कल्चर गराइहालौँ ।

हैन, त्यो फ्यात्त भइसक्या घाउलाई सुइले प्यात्त पार्दे हुँदैन र ! इस्केन–फिस्केन क्यार्न खोजिछौ ? मनमाया आत्तिइन् ।

डाक्टरले स्वास्थ्य र धनमा कुन ठूलो भनेर सोधेपछि उत्तर दिन पाउँदा नपाउँदै शतप्रतिशत होसमा रहेका मनप्रसादले मुख खोल्न नभ्याउँदै स्ट्रेचरमा हालेर विद्युत्वेगमा दौडाए अनि मिलिक्क गर्न नपाउँदै सर्वाङ्ग परीक्षण सकेर फर्काए । त्यसपछि म्यानेजरले दुई हात लामो बिल धराउँदै भने– चेकजाँचको पचहत्तर हजार, अप्रेसन खर्च पच्चीस हजार र भर्ना डिपोजिट पचास हजार गरी कुल डेढ लाख जम्मा गराइहाल्नू । अनि थप रकमको इन्तजाम पनि थाल्नू ।

यसरी सामाजिक क्षेत्रमा भएका बेथितिमाथि यस व्यङ्ग्य सङ्ग्रहभित्र थुप्रै लेखहरू सजिएका छन् । अर्यालको खोल कवितामा अस्पतालका ओछ्यानमा रगत, पिपका टाटालाई मयल लाग्लाझैँ सुकिला खोलले छोपेका भन्दछन् । जहाँ खोलले मानिसको मनोदशालाई आदर्शताले ढपक्क ढाकेको बुझ्न सकिन्छ । 

उनका पछिल्ला रचना :

अर्यालले आफ्नो शरीरलाई मार्नुअघि अर्थात् जीवनका अन्त्यतिरका रचना बारे चर्चा गरौँ । 

टाढा टाढा एउटा गाउँमा

बाजे बराजु मरेकै ठाउँमा

म पनि अचानक अस्ति खसेको छु

त्यसैले आफू आफ्नै किरिया बसेको छु ।

 

ए नआओ कोही बोलाउन मलाई

मभित्र आफ्नै कोलाहल छ

निषेधै निषेधको कोरा बारी बसेको छु

आफ्नै वियोग–वेदनाको हलाहल छ ।

भैरव अर्यालले गोकर्ण पुलबाट बागमतीमा हाम फालेर मृत्युवरण गरे । माथि उल्लेखित हरफहरू उनको सुसाइड नोट हो । 

यस्तै उनले आफ्ना सन्तानलाई सम्बोधन गर्दै निधनको केही दिनअघि उनले आफ्ना सन्ततिलाई सम्बोधन गर्दै लेखेको पत्रको एक हरफ यस्तो रहेको थियो ।

अरूको लहैलहैमा लागेर मलाई तिमीहरूले पशु नसम्झ– म मान्छे नै थिएँ । पढेलेखेको थिएँ । तर मनले साह्रै काँतर भएकाले म मेरो यो अवस्था भयो । कुनै अपराध गरिनँ तर धेरै अपराध लाग्यो ।

काँतर भैरव

अर्यालले मृत्युअघि परिवारलाई लेखेका आफ्ना चिठीमा आफैँलाई काँतर नभनेका छन् । उनको काँतरपन बारे जीवित रहँदैको एक घटना यहाँ उल्लेख गर्नु उपयुक्त होला ।

कुनै समय भैरवकै हास्यव्यङ्ग्य पुस्तक प्रकाशनका लागि छापाखाना स्थापना गरिएको थियो । लेखेरै लेखकको जीविका चल्थ्यो वा चल्थेन तर अहिलेजस्तो कतिपय प्रकाशन गृहले च्यापेका, आकर्षक कलेवर तथा निश्चित समूह लक्षित पुस्तक लेखेर लाखौँ कमाउन सकिने लेखकको अवस्था भने पक्कै थिएन । मार्केटिङमा सफल रहेर पनि यी प्रकाशन गृहबाट हास्यव्यङ्ग्य रचनामा अपेक्षाकृत समय र लगानी परेको छैन ।

उतिखेर आर्थिक अवस्था कमजोर रहेका बेला एक दिन खुब आँट गरेर भैरवले राजालाई १० रुपियाँ प्राप्त गर्नका लागि विन्तिपत्र पठाएछन् । चार दिनपछि राजाका सिपाही उनले दिएको ठेगानामै पो आइपुगेछन् । उनलाई खोज्दै आएपछि डरले खाटमुनि लुकेछन् । एकजना बुद्धि नाम गरेकी महिलाले खोजिनिति गरेपछि सिपाहीबाट २० रुपियाँ भएको चिठी लिएर भैरवलाई बोलाउँदै दिलाइछन् भन्ने चर्चा सुन्नमा पाइन्छ ।

कति सफल, कति असफल

धेरै पहिले कलाकार वसुन्धरा भुसाललाई एउटा चलचित्रमा निभाएको सासूको भूमिकाले वास्तविक जीवनमै धेरैले गाली गरे, सरापे । बल्ल उनले आफू अभिनयमा सफल भएको थाहा पाइन् । सफलता भन्ने कुरा अरूले मूल्याङ्कन गरेर नै थाहा हुने रहेछ । यस अर्थमा पनि भैरव अर्याल नेपाली हास्यव्यङ्ग्यका एक सफल र अद्भुत प्रयोगवादी लेखक हुन् ।

पछिल्ला पुस्तामा भैरव अर्याल प्रभाव

एउटा हसाउने मान्छेले रुवाउन पनि सक्छ भन्छन् । यहाँ एउटा प्रसङ्ग उल्लेख गरौँ । 

मनोज गजुरेलले थुप्रै हास्यव्यङ्ग्य प्रस्तुति दिएका छन् । मान्छेहरू उनका सिर्जनामा पेट मिचिमिची हाँस्दछन् । उनले २०७९ को मातातीर्थ औँशीमा आमा शीर्षकमाथि गरेको अभिनयले थुप्रै मानिसहरूका आँखा टिलपिलाए । 

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका अभिनयमा सारा बिर्सेर हाँस्ने र उसैगरी रुने मानिसहरूको कमी छैन । सुमन कोइराला, सुमन कार्की, आदर्श मिश्रालाई पछ्याउने पाठक, स्रोता, दर्शकहरू पनि इन्टरनेटको विकास नै नभएको समयका लेखक भैरव अर्यालका उत्तिकै ठूला ‘फ्यान’ बनेका छन् ।

छापाखाना, अडियो, भिडियो, सामाजिक सञ्जालको यतिको विकासले उनका कृतिगत चर्चा अझै चुलिएको पाइन्छ । नेपाली साहित्यलाई माया गर्ने जोकोहीका लागि भैरव अर्याल एक स्वनामधन्य व्यक्तित्व हुन् । 

नेपाली हास्यव्यङ्ग्य इतिहासलाई सगरमाथाको शिखरमा पुर्याएका शीर्षस्थ सर्जक अर्यालको निधनले नेपाली हास्यव्यङ्ग्य लेखनको एउटा सिद्धहस्त व्यक्तित्वको अन्त्य भएकै हो ।

मृत्युअघि उनले थुप्रै चिठीहरू लेखेका थिए । त्यसो त उनले जीवनकालमा लेखेका र प्रकाशन बाँकी रहेर पछि प्रकाशन भएका रचना पढ्दा पनि भैरवका रचना पढेर कहिल्यै थकाइ लाग्दैन । एकपछि अर्काे सबै उत्कृष्ट । यसैले भैरव अर्यालका बारेमा जति नै लेखे पनि त्यो अपूरो नै हुन्छ । उनका साहित्यिक मित्र रोचक घिमिरेले लेखिएका विभिन्न लेख, पारिवारिक सदस्य, उनै घिमिरे तथा गोरखापत्रलाई लेखेका राजीनामा पत्र आदि चिठीहरू समेत प्रकाशन भइसकेका छन् । शाश्वत व्यङ्ग्यशिल्पी  पुस्तकमा यस्तै यस्तै सामग्रीहरूको सङ्कलन गरिएको छ । जसका सम्पादक हुन् उनै रोचक घिमिरे ।

भैरव अर्यालका भतिज निर्मल अर्याल भन्नुहुन्छ– भैरव अर्याल आँधीसरह आए, बौद्धिक क्षेत्रलाई चामत्कृत तुल्याए र आँधीसरह हराए ।

प्रोल्लास सिन्धुलीयले केही वर्षअघि भग्न भैरव  लेख्ने घोषणा गरे । कभर पेज र केही लेखहरू पनि सार्वजनिक गरिसकेका छन् । आशा छ, चाँडै नै यस कृतिले पूर्णता पाउने नै छ । 

अर्यालले त हास्यव्यङ्ग्यको पहिलो कृतिमै चर्चा पाएछन् । व्यङ्ग्यमा एउटा नोटको आत्मवृत्तान्तमा सञ्जय साह लेख्छन्– यदि चलायामान हुन्याको नोटमा बोली नहुन्या चाहिँ ठूलो कमजोरी बन्याको छ । यदि कसैले कुनै डिभाइस लगाएर ममा बोलीको विकास गर्याका हुन् भने त म ककसका कस्तो कस्तो पोल खोलन्या हुँ कि दुनियाँमा सबैलाई सबै कुरा मालुम हुन्याको छ ।

साहको निबन्धमा पैसाले आफू ककसको  हातमा पुगेको भन्ने नालीबेली खोल्ने प्रयास गरेको छ भने अर्यालको अन्तरवार्ता निबन्धमा जसरी पनि पैसा कमाउने विदेशी साहुहरूको नेपाल बसाइको नालीबेली खोल्ने प्रयास गरेको पाइन्छ ।

अन्तरवार्ता निबन्धमा अर्याल लेख्छन्– 

मैले भनेँ– “सेठजी, जागिर खाने अन्तरवार्ता र पत्रिकामा छाप्ने अन्तरवार्ता धेरै फरक छ । म त यहाँलाई पुस्तकको कुरा सोध्दै सोद्धिनँ, जे सोध्छु तपाईंको आफ्नैबारे सोध्छु र सबै लगी छापिदिन्छु । तपाईं अमर हुनुहुन्छ ।” साहुजी अलि उत्साहित भई अडिए । मैले कलम कापी तयार पार्दै पहिलो प्रश्न सोधेँ– “यहाँ पित्ले लोटा लिएर नेपाल पस्नु भा’थ्यो, सुनका घ्याम्पा लिएर भारत पस्दै हुनुहुन्छ भन्ने सुनिन्छ, के यो ठीक हो ?”

देवीप्रसाद चापागाईंको अन्तरवार्ता निबन्धमा एउटा अन्तरवार्ताकारलाई एक प्रोफेसरकी पत्नी भन्छिन्–

ह्वाँ हजुरको ठेगान हुन्न । प्रायः पार्टीमा जाइसिन्छ । एक दिन घरको खान पर्दा दुःख मान्नुहुन्छ । हाम्रा छोराछोरी बुहारी प्रायः घरमा खाँदैनन् । धेरैजसो म एक्लो हुन्छु । 

अन्तरवार्ताकार सोध्छ– किन हजुरले पकाएको मीठो नलागेर हो कि ?

घरबुढी भन्छिन्– हाम्रो परिवार बहुत मितव्ययी परिवार हो । हामी घरको सम्पत्ति जोगाउन यो अभ्यासमा लागेका हौँ । छोरीबुहारीहरू दैनिक पत्रिका हेर्छन् । भोजभतेर, सेमिनार, गोष्ठी कहाँ छ खोजीमेली अघिल्लो दिनमै गर्छन् । यही चलन छ ।

उपसंहार

हास्यव्यङ्ग्यको पालुवा जताततै पलाइरहेको पाइन्छ । व्यवस्था फेरिएपछि पनि सत्ता, प्रतिपक्षमा रहनेहरूका बानी बेहोरा, लोभलालच, छरपस्ट बेथितिले हास्यव्यङ्ग्यका क्षेत्रहरू दिनानुदिन बढ्दै गएको छ । त्यसो त अहिलेको व्यङ्ग्य समाजभन्दा ज्यादा राजनीति केन्द्रित देखिएको पनि छ । सामाजिक सञ्जालमा नेतालाई गरिएका गालीलाई पनि हास्यव्यङ्ग्य ठान्ने गरिएको छ । हसाउँने नाममा विभिन्न कार्यक्रमहरूमा झर्रा, ठेट तथा अश्लील भाषाहरू प्रयोग भइरहेका छन् । यसलाई पछिल्ला पुस्ताको माग वा विदेशबाट भित्रिएको ‘ट्रेण्ड’ पनि मान्न सकिएला ।

भैरव अर्याल नेपाली हास्यव्यङ्ग्यको सलाद जस्तै लाग्छ । उनका सारा कृतिहरू हामीमाझ छन्, उनी छैनन् । जस्तो सलादमा केवल सलाद छैन, सबथोक छ । तर पनि मानिसहरू उही नामले पुकारिरहेका हुन्छन् ।

हास्यव्यङ्ग्यमा नयाँ नयाँ प्रयोगहरू हुँदै जानु आवश्यक रहेको देखिन्छ । आइन्सटाइनले कुनै व्यक्तिले नयाँ काम गर्दैन भने उसले कुनै गल्ती पनि गर्दैन भनेका छन् । लेखनमा अहिले बिकाउ साहित्य यत्रतत्र लेखिँदै आएकोमा टिकाउ साहित्य लेखनमा ध्यान दिनुपर्ने बेला आएको छ । वर्षभरि छापिएका किताबमध्ये थोरै मात्र जुगसम्म टिक्नेखालका भेटिन्छन् ।

हुन त यो आलेख तयार गर्दासम्म पनि अपूर्ण महसुस भइरहेछ । पाठकको हातमा पुगेपछि त्यसबारे चर्चा होलान् । हुनु आवश्यक पनि छ । हतारको साहित्य पत्रकारिता भन्छन्, स्वीकार्य छ ।

भक्त प्रह्लादले पिता हिरण्यकश्यपुलाई जल, स्थल, नभमा जताततै विष्णु नै विष्णु छन् भनेझैँ भैरव यतै हाम्रै सिर्जनाहरूका डालीहरूमा बाँचिरहेका छन् । कहिले ढकमक्क फुलेर बास्ना छर्दाहुन्, कहिले कलिला कोपिला चुँडेर लैजाने बटुवाहरूलाई हाउगुजी गर्दा हुन् । कहिले बिरुवा नसप्रेकोमा चित्त नबुझाइ पिञ्चिरहलान् त कहिले माली बनेर सिञ्चिरहलान् । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक हरेक क्षेत्रमा विद्यमान विकृतिलाई चिरफार गर्दै प्रवृत्तिमाथि निर्मम भएर व्यङ्ग्य गर्न सक्ने साहसी  नेपाली साहित्यकाशका विराट हास्यव्यङ्ग्य स्रष्टा र भविष्य द्रष्टा उनै भैरवप्रति हार्दिक श्रद्धा सुमन अर्पण । जय भैरव । जय सिस्नुपानी ।

लेखक सिस्नुपानी नेपाल, मकवानपुरका सहसचिव हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।