इलाम : निर्वाचनको सुरक्षा तयारी पूरा
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा तयारी इलाममा पूरा भएको छ । दुई सङ्घीय र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित भएका छन् । म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए ।
“दश पालिका रहेको इलामका सम्पूर्ण क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्”, उनले भने, “सम्पूर्ण मतदानस्थल तथा केन्द्रमा निर्वाचनका लागि खटाइएका कर्मचारीका साथ सुरक्षा टोली शुक्रबार पुगिसकेका छन् । निर्वाचन सुरक्षाका सबै तयारी पूरा भइसकेको इलाममा भयरहित निर्वाचन सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।”
आगामी निर्वाचनका लागि जिल्लाभर पाँच सय ५० नेपाली सेना, चार सय ५४ सशस्त्र प्रहरी, सात सय ७५ नेपाल प्रहरी, एक हजार चार सय ४८ म्यादी प्रहरी र १५ सदस्य अनुसन्धान विभागको टोली खटाइएको छ । निर्वाचनका दिन खटिने गरी चारवटा मोबाइल टोली बनाइएको छ । जिल्लामा प्रजिअको नेतृत्वमा र निर्वाचन क्षेत्रमा उपसिचवस्तरका कर्मचारीको नेतृत्वमा टोली परिचालित हुने प्रजिअ ढुङ्गानाले बताए ।
केही दिनअघि जिल्ला सुरक्षा समिति इलामले मतदानस्थलको अवस्था विश्लेषण गरेको थियो । सोअनुसार इलामका ३६ मतदानस्थललाई अतिसंवेदनशीलरूपमा लिइएको छ । पचपन्न वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनी छुट्याइएको ढुङ्गानाले बताए । “सुरक्षा अवस्था, भौगोलिक कठिनाइ वा दूरी र मतदाताको पहुँचजस्ता कुराले संवेदनशीलता पहिचान गरेका हौँ”, उनले भने, “संवेदनशील भनेर छुट्याइए पनि सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था भने मजबुत बनाइएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान