रुपन्देही सीमामा सुरक्षा व्यवस्था कडा

आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ ।
मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिकरूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन् ।
सीमामै भेटिएका रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बिरामी, बिरामी बोकेको गाडी, अत्यावश्यक सामान बोकेका मालवाहक गाडी, नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपाली मतदातालाई केहीबेर ‘होल्ड’ गरी आवागमन गर्न दिइएको बताए ।
सीमामा नेपालबाट भारत फर्किने मालवाहक ट्रकको लामो लाइन लागेको छ । ती ट्रकलाई भारतको समन्वयमा भारत पुर्याउने तयारी भइरहेको छ । शुक्रबार र शनिबार केही छुट रहे पनि मतदानको दिन भने पूर्णरूपमा आवागमन ठप्प बनाउने श्रेष्ठले बताए । “भारतीय गाडी नेपालमा राख्दा सुरक्षा चुनौती त हुन्छ नै उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ”, श्रेष्ठले भने, “भारतीय सुरक्षा निकायको समन्वयमा यिनीहरूलाई पठाउने व्यवस्था हुन्छ ।”
नेपाल र भारतका सुरक्षाकर्मीसँगै भारतीय उच्च अधिकारीले पनि सीमामा निगरानी गरिरहेका छन् । भारत महाराजगञ्जका सहायक डिस्ट्रिक्ट मजिष्ट्रेट दिनेशकुमार मिश्रले पनि नेपालमा हुने निर्वाचनका क्रममा भारतबाट पूर्णरूपमा सहयोग र समन्वय रहने बताए ।
रुपन्देहीमा करिब ६० किलोमिटर नेपाल र भारतबीच खुला सीमा रहेको छ । यी सीमा नाकामा अहिले सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटेको छ । मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई लिएर रुपन्देहीका विभिन्न मतदान केन्द्रको निर्माण तीव्र बनाइएको छ ।
रुपन्देहीका सात सय दुई मतदान केन्द्रमा आठ कर्मचारीका दरले बिहीबारदेखि नै कर्मचारी मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । फिल्डमा सुरक्षाकर्मीसहित पुगेको मतदान अधिकृतको टोलीले निर्वाचनलाई सफल बनाउन विभिन्न मुचुल्का बनाई टाँस गरेको छ । मतदान अधिकृतको टोलीले स्थानीय राजनीतिक दलहरूसँग शुक्रबार सर्वदलीय छलफलसमेत गरेको बेलहिया माविमा खटेका मतदान अधिकृत जगतबहादुर बस्नेतले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन