शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

दुई लघुकथा

शनिबार, ०३ मङ्सिर २०७९, ०६ : ३२
शनिबार, ०३ मङ्सिर २०७९

किर्तनरामको मृत्यु 

नाम त उसलाई जन्मिँदै बाउआमाले किर्तनराम दिएका हुन् । तर, रामको किर्तन भने कहिल्यै गाएन । उसकी आमा हरिकर्तनमा जाँदा सुत्केरी व्यथा लागेर जन्मेको कहावत छ । रामको किर्तन गाउँदा गाउँदै त्यसको प्रतापले जन्म लिएको कुरामा उसका बाबुआमा रत्तिभर शंका गर्दैनन् ।

जीवनमा अचम्मको विरोधाभाष छ । नाम किर्तनराम भएपनि किर्तनबाट ऊ सय हात टाढा छ । जीवनमा उसले न रामको नाम जप्यो, न कृष्णको नाम जप्यो ।​ किर्तनमा भन्दा पनि दोहोरी गीतको नर्तनमा उसको बढी चाख रह्यो । उमेरमा उसले खुब दोहोरी गायो । चुुड्का र चमारे नाच नाच्यो । 

आस्तिक मतले उसलाई कतैबाट पनि आकर्षित गर्न सकेन । बरु उसले जीवनभरि नै चार्वाक महोदयको नास्तिक मतमा आफ्नो आस्था जाहेर गरिरह्यो । सिद्धान्तमा मात्र होइन, व्यवहारिक रुपमै चार्वाक दर्शन बाँच्यो । 

एकदिन असमयमै उसको मृत्यु भयो । परिवारजनले उसको अर्थीलाई पँहेलो रामनामी बर्कोले लपेटी दिए । घरबाट मलामीको लर्को छुट्यो ।

मलामीको मुखबाट नारा घन्किरहेको थियो–

“राम नाम सत्य हो ! राम नाम सत्य हो !”

जीवनमा कहिल्यै राम नाम नजपेको किर्तनरामप्रति त्यो आवाज सम्मानको आवाज थियो कि गिल्ला–आवाज थियो; कसैले भेउ पाउन सकेन ।

मेला उठेपछि

चुनावभरि पानविरेको मुख रातै हुन्छ । अर्थात् उसले हमेसा पान चपाउन पाइरहन्छ । जुन उम्मेदवारले उसलाई एक खिल्ली पान खुवाउँछ; नथाकीकन केही घण्टा त्यसको गुणगान गाइरहन्छ । 

नुनको सोझो गर्न सिपालु छ पानवीरे । फेरि अर्को मुर्गा फेला पारेपछि त्यसको सौजन्यमा पान चपाउँछ । एकसय असी डिग्री फन्को मारेर उसकै गीत गाउन थाल्छ । 

मानविरेलाई चाहिँ पानसान चाहिँदैन । एक मानो सेन्तेरेम पिउन पायो भने त्यसले नशा दिउन्जेल पिलाउने पार्टी र उम्मेदवारको जयगान गाउन थाल्छ । कसैले पियाएनन् भने नेताप्रति अखण्ड भत्सर्ना अलाप्तै चौक चौकमा उफ्रि बस्छ । पानविरे जस्तै मानविरे पनि जसको सिता खाई उसको गिता गाईमा माहिर छ ।

स्थानीय तहको उम्मेदवार घोषणापछि पानविरेको मुख नरङ्गिएको कुनै दिन छैन । यता मानविरेले पनि खुट्टा नलर्वराई हिँडेको कुनै दिन छैन । उनीहरुको लागि यो चुनाव एक उत्सव जस्तो एक पर्व जस्तो भएको छ । 

अर्थात् पानविरेले मनचिन्त्य पान चपाउन पाएको छ भने मानविरेले एक मानो मजाले पिउन पाएको छ ।

मतदानको दिनसम्म ता यी दुईको गुजारा राम्रैसित चलेको हो । भोलिपल्ट देखि यिनका याचना सुन्ने कुनै मान्छे बजारमा फेला परेन । 

सधैँ रङ्गिने पानविरेका ओठ आज कलेटी परेर कालानीला बनेका छन् । सधैँ लर्बरिएर हिँड्ने मानविरे पनि चौतारीमा थुचुक्क ओइलाइ बसेको छ ।

चुनावी मेला उठेपछि मानूँ उनीहरुको बजार भाउ स्वात्तै ओरालो खसेकोमा जानकारहरु उनीहरुका गतिग्रास देखेर मुसुमुसु हाँस्तै हिँड्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप