बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जमाल खशोग्गी हत्या प्रकरण : साउदी युवराजविरुद्ध अमेरिकी अदालतमा मुद्दा चल्न नसक्ने

शुक्रबार, ०२ मङ्सिर २०७९, २२ : ४३
शुक्रबार, ०२ मङ्सिर २०७९

अमेरिकाले पत्रकार जमाल खशोग्गी हत्या प्रकरणमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई कानुन नलाग्ने बताएको छ । साउदी सरकारका आलोचक रहेका जमाल खशोग्गीको टर्कीको राजधानी इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा अक्टोबर २०१८ मा हत्या भएको थियो ।

अमेरिकी गुप्तचर एजेन्सीहरूले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले जमाल खशोग्गीको हत्याको आदेश दिएको दाबी गरेका छन् । तर अदालतमा अमेरिकी विदेश मन्त्रालयले मोहम्मद बिन सलमानको प्रधानमन्त्रीको रुपमा नयाँ भूमिकाका कारण उनलाई कानुनी संरक्षण रहेको जवाफ दिएको छ ।

कोलम्बियाको जिल्ला अदालतमा दायर मुद्दामा अमेरिकी न्याय मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनमा कुनै देशको राष्ट्राध्यक्षलाई छुट हासिल हुने कुरा स्थापित रहेको बताएको छ । ३७ वर्षीय मोहम्मद बिन सलमानले यस वर्षको सेप्टेम्बरमा मात्रै प्रधानमन्त्रीको भूमिका पाएका थिए । मोहम्मद बिन सलमानले खशोग्गीको हत्यामा कुनै पनि भूमिकालाई अस्वीकार गर्दै आएका छन् तर जो बाइडेनको सरकारले यो कदमले मोहम्मद बिन सलमानको निर्दोषता निर्धारण नगर्ने कुरामा जोड दिएको छ ।

अन्तर्राष्ट्रिय कानुन अनुरुप
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले भने– ‘यो विदेश मन्त्रालयले उठाएको कानुनी कदम हो र यो अन्तर्राष्ट्रिय कानुनको स्थापित सिद्धान्त अनुरूप उठाइएको हो । यसमा मुद्दाको गुणसँग यसको कुनै सरोकार छैन ।’
जमाल खशोग्गीकी पूर्व प्रेमिका ह्याटिस सेन्गिजले ट्वीटरमा यस निर्णयका कारण जमालको पुन: हत्या भएको लेखेकी छन् । 

जमाल खशोग्गीको हत्याको विश्वभर आलोचना भएको थियो र यसले साउदी अरबका युवराज मोहम्मद बिन सलमानको छविलाई ठूलो क्षति पुर्याएको थियो । साउदी अरबले अहिलेसम्म आधिकारिक रूपमा पत्रकार खशोजीको हत्या साउदी अरबका एजेन्टहरूले गरेको दाबी गर्दै आएको छ ।

साउदी ल्याउन पठाइएका खशोजीलाई एजेन्टले मारेको भन्दै एक साउदी अदालतले पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर पछि अदालतले उनीहरूको सजायलाई २० वर्षको जेलमा परिणत गरेको थियो ।

तर अमेरिकी गुप्तचर निकाय सीआईएले गरेको अनुसन्धानले भने खशोग्गीको हत्यामा युवराज मोहम्मद बिन सलमान सहभागी भएको निष्कर्ष निकालेको थियो ।  जमाल खशोग्गीको हत्याले साउदी अरब र अमेरिका बीचको सम्बन्धमा पनि नकारात्मक प्रभाव पारेको छ । जो बाइडेनले सन् २०१९ को राष्ट्रपति चुनावी अभियानको क्रममा आफू राष्ट्रपति भए साउदी अरबलाई घटनाको लागि जिम्मेवार मान्दै विश्व मन्चमा एक्लो बनाउने वाचा गरेका थिए । 

राष्ट्रपति बनेपछि लामो समयसम्म जो बाइडेनले मोहम्मद बिन सलमानसँग कुरा गर्न पनि अस्वीकार गरेका थिए । गत जुलाईमा साउदी अरबको भ्रमण गर्नुअघि मात्र बाइडेनले साउदी अरबप्रति केही सकारात्मक भएको संकेत गरेका थिए । सो भ्रमणमा बाइडेन र मोहम्मद बिन सलमानबीच पनि भेटघाट भएको थियो । 

बाइडेनको युवाराम सलमानप्रति फेरिएको नीति तेलको बढ्दो मूल्यको कारण प्रेरित भएको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप