शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, ०२ मङ्सिर २०७९, २० : २६
शुक्रबार, ०२ मङ्सिर २०७९

आज मिति २०७९ साल मंसिर २ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. चुनावमा सुरक्षा चुनौती

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगातार बम विष्फोट गराउने र कुकर बम राखेर त्रसित गराउन थालेपछि देशभर ‘बम डिस्पोजल’ टोली परिचालन गरिएको छ । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताए ।

यसैगरी मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दाबी गरेको छ ।  सिंहले भयरहित रूपमा मतदान सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको जनाए ।

​२. उपत्यका छाड्ने बढे

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ का लागि ७ लाख बढी मतदाताहरूले उपत्यका छाड्ने भएका छन् । निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ–आफ्नै क्षेत्रमा फर्किने भएका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारसम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् । दशैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भएपनि कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातोपाटीलाई जानकारी दिए ।

यसैगरी चुनावका लागि दलहरूले पनि धमाधम मतदाता ओसारिरहेका छन् ।

​३. चुनाव तडकभडकपूर्ण नबनेको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमी आएको निष्कर्ष निकालेको जनाएको हो ।

​४. आचारसंहिता उलंघनका घटना

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन कार्यक्रम सुरु भएयता निर्वाचन आयोगमा १४९ वटा आचारसंहिता उल्लंघनका उजुरी परेको छ । सो उजुरीमध्ये आयोगले २२ उजुरीमा निर्णय गरेको छ । आचारसंहिता उल्लंघनका उजुरीमा कांग्रेस र एमालेका उम्मेदवार विरुद्ध परेको उजुरी तामेलीमा राखिएको छ भने अन्य उम्मेदवार, शिक्षक, कर्मचारीलाई जरिवाना गरिएको छ ।

निर्वाचन आयोगले राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । मनाङ प्रदेश सभा ‘ख बाट निर्विरोध निर्वाचित भएका गुरुङलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा सो जरिवाना गरिएको निर्वाचन आयोगले जानकारी दियो । 

थप समाचार

​५. राष्ट्र बैंकको अडिट सकियो

नेपाल राष्ट्र बैंकले आफ्नो प्रारम्भिक लेखापरीक्षण सकेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको कम्पनीले राष्ट्र बैंकको लेखापरीक्षण गरेको र सोको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको महालेखा परीक्षकको कार्यालयले जानकारी दियो ।

​यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको छ ।

​६. लयमा फर्किँदै अर्थतन्त्र

मुलुकको अर्थतन्त्र क्रमशः लयमा फर्किँदैछ । चालू आर्थिक वर्ष २०७९–८० को पहिलो तीन महिनाको वित्तीय स्थितिमा १४ महिनापछि शोधनान्तर स्थिति (बीओपी) बचतमा देखिएको हो ।

७. कोरिया जानेसँग चर्को असुली

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारसँग चर्को हवाई भाडा लिइँदै आएको खुलासा भएको छ । अहिले ईपीएसमार्फत सोमबार र बुधबार गरी सातामा दुई दिन नेपाली कामदार कोरिया गइरहेका छन् । नेपालीहरूलाई कोरिया लगिरहेको कोरियन एयरले चर्को हवाई भाडा लिएको हो ।

​यसैबीच ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा प्रकाशित गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले नतिजा प्रकाशित गरेको हो ।

​८. नेपालले जित्यो सिरिज

घरेलु टोली नेपालले पाहुना टोली यूएईविरुद्धको एकविदसीय  अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । 

​९.सामाजिक सञ्जालको प्रयोगमा उम्मेदवार

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले फेसबुकमा प्रचार प्रसारका लागिमात्र ३ करोड रूपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । राजनीतिक पार्टी, तिनका उम्मेदवार, स्वतन्त्र र शुभेच्छुकले समेत गरी निर्वाचन प्रचार प्रसारमा ३ करोड १५ लाख ८५ हजार रुपैयाँ बराबर खर्च गरेको देखिएको हो ।

​१०. र, यो पनि...

नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

कीर्तिपुर काठमाडौँका रमेश महर्जन (नाम परिवर्तन)लाई कात्तिक महिनाको सुरुवातदेखि उनको ह्वाट्सएप नम्बरमा बारम्बार एक युवतीको नामबाट हेल्लो हाई लगायतको म्यासेज आइरह्यो । अधबैँसे उमेरका रमेशले पनि युवतीसँग सामान्य कुराकानी गरिरहे । युवतीले बेलाबेलामा केही कामुक तस्बिरहरू पनि पठाउने गर्थिन् ।

रमेश ती तस्बिरहरू हेरेर मक्ख पर्थे । रमेश र ती युवतीबीच ह्वाट्सएपको टेक्स्ट म्यासेजमा केही अन्तरङ्ग कुराकानी समेत भए । युवतीले केही कामुक तस्बिर पनि पठाइरहिन् । पछि उनी ठगिन पुगेको खबर पनि आज प्रकाशित छ ।

​काठमाडौं महानगरको बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिले बैठकले व्यवस्थामाथि दफावार छलफल गरेर विधायन समितिमा पठाउने निर्णय गरेको हो ।

​मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसार सकिएको छ । उम्मेदवारहरूले आफ्नो चुनावी एजेण्डा तथा प्रतिबद्धता मतदातासमक्ष राखिसकेका छन् । ठुला दलहरू कसरी बढीभन्दा बढी सिट ल्याएर सरकारको नेतृत्व गर्ने भन्ने दाउमा छन् भने साना दलहरू कसरी राष्ट्रिय दल बन्ने, थ्रेसहोल्ड अर्थात् तीन प्रतिशत मत कसरी कटाउने भन्ने ध्याउन्नमा छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप