शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फेरिए मतदान अधिकृत र सहायक अधिकृत

शुक्रबार, ०२ मङ्सिर २०७९, २० : १२
शुक्रबार, ०२ मङ्सिर २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालय, ताम्तीमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि मतदान अधिकृत र सहायक अधिकृतसहितका कर्मचारीको टिम हेरफेर गरिएको छ ।

सो मतदान केन्द्रमा नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठ निर्वाचन अधिकृत र गङ्गाप्रसाद पाण्डे सहायक निर्वाचन अधिकृतसहितको टोली खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सो मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित चार जना कर्मचारी खटिएका हुन् ।

यसअघि हरिप्रसाद देवकोटा र सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपानेसहितको टोली खटाइएको थियो । बिहीबार ताम्तीको मतदान केन्द्र जाँदै गरेको गाडी तिला–४, रावतवाडामा दुर्घटनामा परेर कर्मचारीहरु घाइते भएपछि अर्को टोली खटाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा सो मतदान केन्द्रमा प्रहरीको टोली खटाइएको छ । दुर्घटनामा प्रहरी नायब निरीक्षक सीताराम दराईसहित टोली घाइते भएपछि प्रहरीको टिम पनि फेरिएको हो ।

जुम्लाको सदरमुकाम खलङ्गादेखि टाढाका मतदान केन्द्रका कर्मचारी सबै गाउँ पुगेका छन् । बुधबार र बिहीबार दुर्गम र टाढा स्थानको निर्वाचन सामग्री सम्बन्धित मतदान अधिकृतले गाउँ पठाइएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।

सिंजा गाउँपालिकाको मालिका मावि धापा (ख) का निर्वाचन अधिकृत श्रीकृष्ण देवकोटाले बुधबार नै आफूहरु निर्वाचन सामग्रीसहित पुगिसकेको बताए ।  कनकासुन्दरी गाउँपालिका–१ महादेव माध्यमिक विद्यालयका मतदान अधिकृत शेरबहादुर भण्डारीले पनि आफ्नो टिम मतदानस्थलमा पुगेर काम सुरु गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप